शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनमा झन् भद्रगोल भयो भन्दै रुपन्देहीमा गाउँपालिकाविरुद्ध गाँउलेको प्रदर्शन

शनिबार, १० जेठ २०७७, १६ : ०३
शनिबार, १० जेठ २०७७

बुुटवल ।  क्वारेनटाइन व्यवस्थित नभएको गुनासो आइरहेका बेला रुपन्देही जिल्लाको कोटहीमाईका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।

क्वारेनटाइन भित्र बस्नेहरुले खानपीनलगायतको उचित व्यवस्था नभएको भन्दै गुनासो गरिरहेका बेला गाउँलेहरुले भने कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रदर्शन गरेका हुन् । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले कोटहीमाई वडा नम्बर ६ बोगडी माविमा क्वारेन्टाइन बनाएको छ । तर क्वारेन्टाइन व्यवस्थित नबन्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीयले शनिबार बिहान गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादव विरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुुन् ।

क्वारेन्टाइनमा बसेकाहरु र गाउँपालिकामा कार्यरत कर्मचारीले लापरवाही गरेको स्थानीयको भनाई छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले स्थानीयले विद्यालयबाट क्वारेन्टाइन हटाउनुपर्ने माग राखेर आन्दोलन गरेको आफूले जानकारी पाएको बताए ।

गाउँपालिकाले बोगडी माविमा शुक्रबार दुुई सय बेडमा क्वारेन्टाइन बनाएर भारतबाट आएकाहरुलाई राखेको छ ।

स्थानीय निशान्त पाण्डेले क्वारेन्टाइनमा बसेमा मानिसहरुले खेर गएको खाना प्लाष्टिकमा राखेर क्वारेन्टाइन बाहिर सडकमा फाल्ने र गाउँका मानिसले त्यो फालेका खाना घरमा लगेर गाईवस्तुलाई खुवाउँदा संक्रमणको जोखिम बढेकाले आन्दोलन गर्नुपरेको बताए ।

क्वारेन्टाइनमा कार्यरत कर्मचारी पनि गाउँमा हिँडडुल गरिरहेको स्थानीयहरुको भनाई छ । 

गाउँपालिकाले मर्चवारी आदर्श मावि दुुई सय, माझगाउँ माविमा दुुई सय, मर्यादपुर माविमा १ सय र लालबिहारी मावि १ सय बेडको क्वारेन्टाइन बनाएको छ । 

बाँकी दुुई माविमा सय÷सय बेड बनाउने तयारी गरिएको घिमिरेले बताए ।  श्रीराम मावि र जानकी माविमा पनि क्वारेन्टाइन बनाइँदै छ । आन्दोलन गर्ने स्थानीयसँग जिल्ला प्रशासन कार्यालयको समन्वयमा छलफल गर्ने तयारी गरिएको छ ।

स्थानीयको बिरोध पछि प्रहरी घटनास्थल पुगेको बताइएको छ । नेपाल भारत सिमा क्षेत्रमा पर्ने कोटहीमाई  भारतबाट लुकिछिपी आउनेहरु बढि छन् ।

फोटो : सौजन्य निराजन पाठक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप