शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाउँ फर्किएका युवाले बाँझिएको जग्गामा गरे सामूहिक खेती

शनिबार, १० जेठ २०७७, १७ : ४१
शनिबार, १० जेठ २०७७

-सन्तोष गौतम
म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण गाउँमा फर्किएका युवाले बाँझिएको जग्गामा झाडी फाडेर सामूहिक खेती शुरु गरेका छन् । 

म्याग्दीको मालिका गाउपालिका-६ दुखुलेकमा दरवाङको आत्मनिर्भर व्यावसायिक कृषि सहकारी संस्थाले युवालाई परिचालन गरेर दलहन र गेडागुडी खेती गरेको हो । ६० रोपनी जग्गामा सिमी लगाइसकेका छन् । थप १६० रोपनीमा भटमास र गहत खेती गर्नका लागि युवा खनजोतमा जुटेका छन् ।

वैदेशिक रोजगारी र बसाइसराइँका कारण जनशक्ति अभाव हुँदा खेतीयोग्य बारी बाँझिएको थियो । लकडाउनमा युवाहरुलाई परिचालन गरेर खेती गरिएको स्थानीयवासी सर्गप्रसाद रोकाले बताए । ‘१६ जना जग्गाधनीले १० वर्षका लागि खेती गर्न भाडा नलिने गरी जग्गा दिएका छन्,’ उनले भने, ‘मान्छेभन्दा अग्लो, स्याल लुक्ने झाडी फाडेर खनजोत गरी गहत, सिमी र भटमास लगाएका छौं ।’

बाँझो जमिनमा बनमारा, ऐसेलु र पातिले भरिएको थियो । झाडी फाड्न सहकारीले रु एक लाख २२ हजार ज्याला दिएर १४८ जना बराबरको काम लगाएको थियो । छ हल गोरुलाई हलीसहित दैनिक रु एक हजार २०० दिएर छ दिन लगाएर बाँझो जोतिएको छ । झाडी फाड्ने र खनजोतको काममा बेनी, पोखरा, काठमाडौँबाट आएका युवा संलग्न छन् । 

बन्दाबन्दीपछि बेनीमा कलेज पढ्दै आएका भुवन रोकाले छ दिनसम्म बाँझो जोत्ने काम गरेको बताए । बच्चा हुँदादेखि नै बाँझो बनेको बारीलाई खनजोत गरेर हराभरा बनाउन लागिएकामा दिपेश शेरपुजाले खुशी व्यक्त गरे । दुखुमा ९८ घर छन् । आधाजसो बसाइसराइँ गरेर बेनी, दरवाङ, पोखरा र काठमाडौँ गएका छन् । उनीहरुले खेती गर्न छाडेपछि बाँझिएको जमिन सहकारीलाई उपलब्ध गराएका हुन् । 

उत्पादन बढाउने, आयात घटाउने, गाउँमा रोजागारी र आयआर्जनको अवसर सिर्जना गराउने उद्देश्यले सामूहिक खेती शुरु गरेको वडा सदस्यसमेत रहनुभएका स्थानीयवासी पथबहादुर रोकाले बताए । कुनै समय बेनी, बागलुङ र पोखराको बजारमा दुखुको सिमी, गहत र भटमास चर्चित थियो । पहिले स्थानीय भारी बोकेर बेच्नलाई बजारमा पुग्थे । अहिले गाउँमै सडक पुगेको छ । बजारको समस्या छैन । 

उत्पादन गरेको कृषि उपज सहकारी संस्थाले खरिद गरेर बजारीकरणको व्यवस्था मिलाउने सहकारीका लेखापाल श्याम रोकाले बताए । कृषि उपज बजारीकरण गर्न दरवाङमा कोसेलीघर स्थापना गरेको उनले बताए । मालिका गाउँपालिकाले सातवटै वडामा सम्भावनाको आधारमा ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ । हावापानी र भूगोलअनुसार फलफूल, तरकारी, दलहन, पशुपालन र जडीबुटी खेतीका लागि पकेट क्षेत्र बनाएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।

दुखुमा दलहन र टिमुरखेतीका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु छ लाख विनियोजन गरेको उहाँले जानकारी दिए । ‘दिच्याममा किबीखेती शुरु गरिएको छ’, उनले भने, ‘ढाँडखर्कमा गोलभेँडा, तोलाबाङमा आलु र तरकारीको पकेट क्षेत्र बनाइएको छ ।’ 

गाउँपालिकाको कार्यालय भवन निर्माण 

म्याग्दीको मुनामा जारी बन्दाबन्दीकै अवधिमा धवलागिरि गाउँपालिकाको कार्यालय भवन निर्माण सकिएको छ । मुनास्थित धवलागिरि गाउँपालिका कार्यालय परिसरमा थप चारकोठे भवन निर्माणको काम सकिएको हो । गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा विनियोजन भएको रु २० लाख बजेटबाट उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको इञ्जीनियर सोबिन जिसीले जानकारी दिए । 

‘फागुनमा काम शुरु गरेका उपभोक्ता समितिले लकडाउनकै समयमा स्थानीय मजदुर परिचालन गरेर भवन तयार पारेका छौं’, उनले भने, ‘झ्याल, ढोका, फर्निचर र विद्युत् जडान गरेपछि भवन प्रयोगमा ल्याउने तयारीमा छौैं ।’ तत्कालीन मुना गाविसको भवनमा स्थापना गरिएको गाउँपालिकाको कार्यालय सञ्चालन गर्न पदाधिकारी तथा विभिन्न शाखाका कर्मचारीका लागि आवश्यक कार्यकक्ष अभाव भएपछि नयाँ भवन बनाइएको हो । यसअघि चारकोठे भवनमा तला थपेर बारेर बनाइएको कार्यकक्ष साँघुरो छ ।

सेवाग्राहीको चाप हुँदा साँघुरो कार्यकक्षमा बसेर काम गर्न कर्मचारीलाई समस्या भएको छ । धवलागिरि गाउँपालिकाको प्रशासनिक भवन मुनामा छ । शिक्षा शाखा शिवाङमा र स्वास्थ्य, कृषि र पशु सेवाको शाखा कार्यालय ताकममा राखिएको छ । केन्द्र विवादका कारण छरिएर कार्यालय राख्दा सेवाग्राही र कर्मचारीलाई समस्या भएको छ । यसैगरी धवलागिरि गाउँपालिकाको मुनामा स्वास्थ्यचौकी र शिवाङमा हेम नमूना आवासीय माविको छात्रावास भवन निर्माणको ठेक्का प्रक्रिया सकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप