शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लकडाउनको ६२ औं दिन, एयरपोर्टमा सबैभन्दा ठूलो भीड (फोटो/भिडियो)

आइतबार, ११ जेठ २०७७, २० : ०५
आइतबार, ११ जेठ २०७७

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनको ६२ औं दिन । २ महिना सुनसान रहेको त्रिभूवन अन्तर्राष्टिय विमानस्थलमा आइतबार ठूलो भीड थियो ।  यात्रीहरु विमानस्थल प्रवेशका लागि सरसमानसहित लाइन लागेर बसेका थिए । कोरोना भाइरसको संक्रमणबाट जोगिन ब्यक्तिगत दुरी कायम गर्नुपर्ने भएपनि यात्रीहरु ठेलमठेलको अवस्थामा थिए । 

एयरपोर्टमा जम्मा भएका यात्रीहरुमध्ये एउटा समूह जापान जाँदै थियो भने अर्को टोली अमेरिका जाँदै थियो । एक ट्राभल एजेन्सीले व्यवस्था गरेको चार्टड विमानमार्फत उनीहरु ती देशतर्फ जाँदै थिए । अमेरिका अहिले कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । त्यहाँ झन्डै १७ लाख हाराहारी संक्रमित छन् भने मृत्यु संख्या १ लाख नजिक पुगेको छ । 

यता जापानमा भने साढे १६ हजार संक्रमित भएकोमा अहिले त्यहाँ साढे २ हजार हाराहारी संक्रमितको संख्या छ भने ८ सय जनाले ज्यान गुमाएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका यात्रीहरु त्रासका बीच अमेरिका प्रस्थान गर्दै थिए । विदाईका लागि पुगेका उनीहरुका आफन्त मन बुझाइरहेका थिए । 

विमानस्थलमा अमेरिका जान लागेकी छोरी र नातिनी पु¥याउन भक्तपुरको लोकन्थलीबाट पुरुषोत्तम पहाडी पनि एयरपोर्ट आएका थिए । अमेरिकामा कोरोना संक्रमण बढिरहेका बेला त्रासका बीच जान लागेकी छोरी प्रज्ञा सिलवालले बताइन् । तर उनका बुवा पुरुषोत्तमले चिन्ता लिएर नहुने, सजकता अप्नाउदै आँट र साहसका साथ बस्नुपर्ने कुरा सुझाए । 

झापाको भुटानी शरणार्थी शिविरबाट अमेरिकाको कोलोराडोमा पुनस्र्थापित भएका भक्ति मिश्र अमेरिका फर्कदै थिए । उनी ससुराली झापा बिर्तामोडमा श्रीमती छोरा सहित घुम्न आएका थिए । नेपालमा कोरोना भाइसरको संक्रमण सुरु भएपछि उनको परिवार लकडाउनमा फस्यो । ट्राभल एजेन्सीले चार्टड गरेर लैजान लागेको थाहा पाएपछि उनले टिकट लिए । उनी नेपाल आउँदा भर्खर चीनमा कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । अहिले अमेरिकामा संक्रमण उच्च भएपछि उनको ससुराली परिवारले केही समय यतै बस्न भनेपनि अमेरिकामा पनि परिवार रहेकोले उतै फर्कने विचार गरेर फर्कन लागेको बताए । 

स्वयम्भुकी याङ्जी शेर्पा अमेरिकाको सिकागोमा बस्छिन् । उनी परिवार भेट्न आएकी थिइन् । तर लकडाउन र विमानस्थल बन्द भएका कारण उनले अमेरिका फर्कन पाएकी थिइनन् । नेपालस्थित अमेरिकी दूतावासले एक ट्राभल एजेन्सीले विमान चार्टर गरेर अमेरिका लैजान लागेको सूचना निकालेपछि उनले प्रक्रिया थालेर अमेरिका फर्कन लागेको बताइन् । 

चितवनमा रहेको घर र सिन्धुपाल्चोकमा रहेको माइती घुम्न अमेरिकाबाट नोपल आएकी प्रमिला खड्का कार्की लकडाउका कारण फर्कन पाएकी थिइनन् । उनले अघिपछिको सामान्य बेलाभन्दा दोब्बर शूल्क तिरेर अमेरिका फर्कन लागेको बताइन् । उनी भाडामात्रै २५ सय २० डलर अर्थात नेपाली रुपैया ३ लाख हाराहारी तिरेर फर्कन लागेकी थिइन् । घरबाट एयरपोर्टसम्म आइपुग्नका लागि कोरोना भाइरसको आरडिटी परीक्षण गरेको कागज देखाउँदै आएको उनले सुनाइन । अर्का एकजना यात्रीले पनि प्लेन भाडा निकै महँगो परेको बताए । 

जारी लकडाउनमा विदेशबाट यात्रु आउन रोक लगाइएको भएपनि नेपालबाट फर्कन रोक नलगाइएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । अहिले पनि बेला बेला नेपालबाट चार्टर विमानबाट विभिन्न देशमा यात्रीहरु फर्किरहेको उनले बताए ।  आइतबार साँझ साढे ७ बजे कतार एयरलाइन्सको चार्टर विमानबाट ३ सय ४ जना अमेरिका प्रस्थान गरेका छन् । जसमध्ये ५ जना शिशु र १ सय २३ जना नेपाली रहेको विमानस्थलले जनाएको छ । 
यस्तै जापान फर्किनेहरुका लागि नेपाल एयरलाइन्सको विमान चार्टर गरिएको छ । 

हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप