केन्द्रीय संस्करण
कारोनाभाइरस

फेल खाए ट्रम्प र अमेरिका : मलेरियाको औषधीले कोरोना निको पार्ने हैन, उल्टै मृत्युदर बढाउने !

अहिलेसम्मकै सबैभन्दा ठूलो ठूलो अध्ययन रिपोर्टले देखायो – कोभिडविरुद्ध मलेरियाको औषधि प्रभावहीन

person explore access_timeजेठ १२, २०७७ chat_bubble_outline0

करिब १ लाख संक्रमितहरुमा गरिएको एक अवलोकनात्मक अध्ययनले कोरोनाभाइरसको संक्रमणमा मलेरियाको औषधि खासै उपयोगी नदेखिएको, त्यसको प्रयोगले मृत्युदर मात्रै बढाएको देखाएको छ ।

औषधी विज्ञानको क्षेत्रमा संसारकै सबैभन्दा प्रतिष्ठित मध्येका एक मानिने द ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययन रिपोर्टले सो कुरा देखाएको हो ।

नोबेल कोरोनाभाइरसको संक्रमणले हुने कोभिड–१९ को उपचारमा मलेरियाको औषधि उपयोगी हुने कुराको सबैभन्दा बढी पक्षपोषण विगतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दै आएका थिए । सोहीअनुसार अमेरिकामा कोरोना संक्रमितहरुको उपचारमा मलेरियाको उपचारमा प्रयोग हुने जस्ता औषधिहरूको समेत प्रयोग हुँदै आएको थियो । तर उक्त अध्ययन रिपोर्टको नतिजाले डोनाल्ड ट्रम्पको दावीलाई फेल खुवाइदिएको छ ।

संसारका ६ वटा महादेशका ६७१ वटा अस्पतालहरुमा कोभिड–१९ का करिब १ लाख विरामीहरूमाथि गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययनले उक्त रोगको उपचारमा हाइड्रोक्लोरोक्विन वा क्लोरोक्विनको प्रयोगमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । उक्त अध्ययनमा कोभिड–१९ का विरुद्ध ती औषधिहरूले कुनै फाइदा पुगेको देखिएन । ती औषधीहरु मात्रै वा अन्य एन्टिबायोटिकसँग लिएर खुवाउँदा फाइदा पुग्नुको सट्टा उल्टै ‘अस्पतालमा भर्ना भएकाहरूमा बाँच्ने दर घटेको र मुटुको तल्लो कोठाहरूमा धड्कन असामान्य बनेको’ पाइएको थियो ।

त्यसरी कोरोना संक्रमितहरुको मुटुको धडकनमा गडबडी आउनुको कारण हाइड्रोक्लोरोक्विनको खराब असरको रुपमा पहिचान गरिएको थियो । हाइड्रोक्लोरोक्विन दशकौंदेखि मलेरिया र लुपसका उपचारमा प्रयोग हुँदै आएको औषधि हो र अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले कोभिड–१९ को उपचारसम्बन्धी निर्देशिकामा यसलाई पनि समेटेको छ । तर त्यो कमजोर आधारमा गरिएको निर्णय थियो भन्ने कुरा यो अध्ययनले देखाएपछि अब सीडीसीमाथि त्यसलाई गाइडलाइनबाट हटाउन दवाब सिर्जना भएको छ ।

उक्त अध्ययनमा कोभिड–१९ का संक्रमणका कारण अस्पताल भर्ना भएका ९६,०३२ जना विरामीहरुलाई समेटिएको थियो  । ती बिरामीहरुको मध्य उमेर (Mean age)​ ५३.८ वर्ष थियो । तीमध्ये १४,८८८ जनालाई औषधि खुवाइएको थियो, जसमध्ये १८६८ जनाले क्लोरोक्विन, ३७८३ जनाले क्लोरोक्विन र एन्टिबायोटिक, ३,०१६ जनाले हाइड्रोक्लोरोक्विन र ६,२२१ जनाले एन्टिबायोटिकका साथ हाइड्रोक्लोरोक्विन दिइएको थियो । बाँकी रहको ८१,१४४ जना बिरामीहरु चाहिँ औषधि नखुवाइएका नियन्त्रित समूहमा थिए ।

अप्रत्याशित रुपमा आश्चर्यचकित वा भ्रमित पार्न सक्ने पक्षहरू जस्तै, उमेर, लिंग र मुटु तथा फोक्सोसम्बन्धी रोगहरुको समीक्षा गरेपछि उक्त अध्ययनले औषधी नखुवाइएका नियन्त्रित समूहमा मृत्युदर ९.३ प्रतिशत रहेको पाइयो । हाइड्रोक्लोरोक्विनले उपचार गरिएकोमा त्यो मृत्युदर बढेर १८ प्रतिशत, एन्टिबायोटिकका साथ हाइड्रोक्लोरोक्विन खुवाइएकोमा २३.८ प्रतिशत, क्लोरोक्विन खुवाइएकोमा १६.४ प्रतिशत र एन्टिबायोटिकका साथ क्लोरोक्विन खुवाइएकोमा २२.२ प्रतिशत रहेको पाइयो । औषधिले उपचार गरिएकोहरुमा मुटुको नयाँ असामान्य चाल ४.३ देखि ८.१ प्रतिशत देखियो, जबकि औषधि नखुवाइएका नियन्त्रित समूहमा त्यो समस्या ०.३ प्रतिशत मात्रै रहेको पाइयो ।

उक्त अध्ययन रिपोर्टमाथि प्रतिक्रिया जनाउँदै स्क्रिप्पस रिसर्च ट्रान्सलेसन इन्स्टिच्यूटका  संस्थापक तथा भाइस प्रेसिडेन्ट एरिक टोपोलले ट्वीटमा लेखेका छन्, ‘हाइड्रोक्लोरोक्विनको प्रभावकारिता देखिएन, यसले त मृत्युदर बढाएको पो देखियो ।

उक्त अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुले चिकित्सीय परीक्षणले ती औषधिहरुको प्रयोग कोभिड–१९ का विरामीहरुमा सुरक्षित र प्रभावकारी छ भनेर प्रमाणित नभएसम्म प्रयोग गर्न नहुने सुझाव दिएका छन् । उनीहरुले ती औषधिहरुको प्रयोगले कोरोनाभाइरसका विरामीहरुलाई कुनै फाइदा पुग्छ भनेर आफूहरुले सुनिश्चित गर्न नसकेको बताएका छन्  ।

अमेरिकी अध्ययनको नतिजा पनि मिल्दोजुल्दो

अमेरिकामा गरिएको अर्को एक अध्ययनले पनि त्यही खालको नतिजा देखाएको थियो । अमेरिकी सरकारको नेशनल इन्स्टिच्यूट अफ हेल्थले समेत आर्थिक सहयोग गरेको सो अध्ययनले अमेरिको भेट्रान एड्मिनिस्ट्रेसन हस्पिटलहरुमा हाइड्रोकलोरोक्विनले उपचार गरिएका विरामीहरुमा उच्च मृत्यदर रहेको देखाएको थियो । त्यस अध्ययनले ती औषधिहरुको प्रयोग नगरिकनै विशेष हेरचाह गरिएका विरामीहरुको तुलनामा ती औषधि प्रयोग गरिएका विरामीहरुलाई खासै फाइदा नपुगेको फेला पारेका थिए ।

उक्त अध्ययन रिपोर्ट प्रकाशित भएपछि अमेरिकी राष्ट्रपतिले त्यसलाई ‘ट्रम्पविरोधी वक्तव्य’ घोषित गरेका थिए । उनले गत मंगलबार मात्रै पत्रकारहरुसँगको कुराकानीको क्रममा भनेका थिए, ‘तपाईं त्यो सर्वेक्षणलाई हेर्नुहुन्छ भने, एउटा खराब सर्वे, उनीहरुले जनतलाई तिमीहरु खराब अवस्थामा छौं भन्ने भान गराइरहेका छन् । तिनीहरु धेरै पुराना हुन्, करिब करिब मृत जस्तै ।’

भारतमा पनि व्यापक प्रयोग

त्यसो त कोभिड–१९ का उपचारमा मलेरियाको औषधिको प्रयोग अमेरिकामा मात्रै हैन, हाम्रो छिमेकी मुलुक भारतमा पनि हुने गर्छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर)ले आफ्नो नयाँ निर्देशिकामाहाइड्रोक्लोरोक्विनको प्रयोगलाई समावेश गरेको छ ।

आइसीएमआरले कोभिड–१९ का विरामीहरुलाई उपचार गरिरहेका तथा कोभिडका लक्षण नदेखिएका स्वास्थ्यकर्मीहरु तथा क्वारेन्टाइनमा रहेकाहरुलाई प्रतिरक्षात्मक उपचारको रुपमा हाइड्रोक्लोरोक्विनको प्रयोग गर्न मान्यता दिएको छ ।

त्यसो त आइसीएमआरले कस्तो अवस्थामा उक्त औषधिको प्रयोग गर्न नहुने कुरा पनि खुलाएको छ । त्यसअनुसार, औषधिको सेवन गर्दा मुटुका मांसपेशीहरुमा जटील समस्या देखापरेको तथा मुटुको धड्कन असामान्य बनेको अवस्थामा औषधिको सेवन रोक्नुपर्छ । त्यसै गरी, आँखाको रेटिनासम्बन्धी समस्या भएका, उक्त औषधिको सेवन गर्दा नकारात्मक असरहरु देखापर्ने तथा रातो रक्तकोष नष्ट हुने समस्या भएका, १५ वर्षभन्दा मुनि उमेर समूहका तथा गर्भवती महिलाहरुलाई पनि उक्त औषधि दिनु हुँदैन ।

औषधिलाई लिएर अमेरिकाभारतबीच चलेको रस्साकस्सी

मलेरियाका लागि सबैभन्दा प्रभावकारी मानिएको क्लोरोक्विन तथा हाइड्रोक्लोरोक्विनको विश्वमै सबैभन्दा ठूलो उत्पादक भारत हो । केही समय पहिले प्रारम्भिक अध्ययनहरुले कोभिड–१९ का विरुद्ध उक्त औषधिहरु प्रभावकारी हुने देखाएपछि भारतले तिनको निर्यातमा कडाइ गरेको थियो । झन्डैझन्डै उसले निर्यातमा प्रतिबन्ध नै लगाएको थियो । गत अप्रिलको शुरुवाततिर नै अमेरिकी राष्ट्रपतिले पनि उक्त औषधिहरुले कोभिड–१९ को सफलतापूर्वक उपचार हुने बताइरहेका थिए र विश्वभरि उक्त औषधिको माग बढेर गएको थियो । त्यस अवस्थामा भारतले औषधिको निर्यातमा कडाइ गरेपछि क्रुद्ध बनेका ट्रम्पले भारतविरुद्ध ‘कडा कदम चाल्ने चेतावनी’ नै पनि दिएका थिए । ट्रम्पको चेतावनीपछि भारतले पनि उक्त औषधिको निर्यातमाथि लगाएको कडाइलाई खुकुलो पारेका थिए । तर पछिका नयाँ नयाँ अध्ययनहरुले त्यस औषधिको प्रयोगको खराब असरहरु देखाउन थालेपछि अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले गत महिनामै यसको प्रयोगका खतराबारे चेतावनी नै पनि जारी गरिसकेको हो ।

तर रमाइलो कुरा त के छ भने गत हप्ता मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिरक्षात्मक उपचारको रुपमा आफूले उक्त औषधि लिइरहेको खुलासा गरेका थिए ।

स्रोतहरु : हेल्थ पोलिसी वाच, अलजजिरा, टाइम्स अफ इण्डिया

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.