शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन ढिलागरी आयो नेशनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धको कोरोना रिपोर्ट ?

तीन पटकको परीक्षणमा शंकास्पद रिपोर्ट, चौथो पटकमा पोजेटिभ !
सोमबार, १२ जेठ २०७७, १८ : ३१
सोमबार, १२ जेठ २०७७

पर्सा । मृत्यु भएको ८ दिनपछि बाराका एक वृद्धमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि हंगामा भएको छ । जबकी मृत्यु भएका ती बृद्धको अन्तिम संस्कार समेत भइसकेको छ । 

वीरगन्जस्थित नेशनल मेडिकल कलेजले लापरबाहीपूर्ण ढंगले कोरोनाको आशंकामा स्वाब संकलन गरी परीक्षणकै प्रक्रियामा रहेको बेला हतारहतार परिवारलाई शव जिम्मा लगाएको थियो । मेडिकल कलेजले यसबारे औपचारिक रुपमा केही नबोले पनि स्थानीय प्रशासनले छानबिन सुरु गरिएको बताएको छ । 

किन भयो रिपोर्ट आउन ढिलाई
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले तीन पटकसम्म ती वृद्धको रिपोर्ट शंकास्पद आएको र चौथो पटकमा मात्र पोजेटिभ देखिएको बताए । पटक पटक शंकास्पद देखिँदा एकिन गर्न समय लागेको उनको दावी छ ।

उनको अनुसार जेठ ३ गते संकलन भएको स्वाबको परीक्षण नारायणीको ल्याबमा पहिलो पटक ५ गते शंकास्पद देखिएको थियो । त्यसपछि फेरि ६ गते परीक्षण गर्दा पनि शंकास्पद नै देखियो । 



त्यसपछि आफूहरुले थप परीक्षणका लागि काठमाडौं पठाएको उनको भनाइ छ । 

‘जेठ ७ गते हामीले स्वाब काठमाडौं पठाएका थियौं । त्यहाँ पनि पहिलो परीक्षण शंंकास्पद देखिएपछि दोहोर्याएर परीक्षण गर्दा मात्रै पोजेटिभ पुष्टि गरिएको जानकारी आएको छ ।’ उनले भने । 

यसैगरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले पनि नारायणीमा शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती वृद्धमा कोरोनाभाइरस संक्रमण पुष्टि बताए । 
‘उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँमा कोरोना संक्रमण भएको आशंकामा स्वाब संकलन भएकोमा पोजेटिभ रिपोर्ट प्राप्त भएको छ’ उनले रातोपाटीसँग भने, ‘उहाँ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ।’

नेशनल मेडिकल कलेजले लापरबाही गर्दै जेठ ४ गते नै परिवारलाई शव जिम्मा लगाएको थियो । कोरोना आशंकामा स्वाब परीक्षण गरेर रिपोर्ट नै नआएको खण्डमा नेशनल मेडिकल कलेजले शव परिवारलाई दिएर गम्भीर लापरबाही गरेको देखिएको छ।  

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले पनि शव दिँदा कमजोरी देखिएको भन्दै यसबारे छानबिन भइरहेको बताए । 

उनका अनुसार संक्रमित जेठ २ गते अस्पतालमा भर्ना भएका थिए भने त्यसको दुई दिनपछि अर्थात ४ गते उनको मृत्यु भएको हो । 

मृतकमा क्षयरोग, दम लगायतको समस्या देखिएको थियो । 

अस्पतालबाट शव बुझेकै दिन आफन्तले बृद्धको अन्तिम संस्कार गरेको बुझिएको छ । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आधिकारिक रुपमा कुनै जानकारी गराएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप