केन्द्रीय संस्करण

विद्युत प्राधिकरणको सञ्चित घाटा शून्यमा झर्दै

person explore access_timeजेठ १२, २०७७ chat_bubble_outline0
file photo

–रमेश लम्साल 
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महशुलका सम्बन्धमा विद्युत् नियमन आयोगले आज विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ । आयोगले आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, निजी क्षेत्रका ऊर्जा उद्यमी, उद्योग वाणिज्य महासङ्घ, उपभोक्ता अधिकारकर्मीलगायतसँग विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको हो । 

सुनुवाइ आज साँझसम्म जारी रहने आयोगले जनाएको छ । आयोगले यसअघि गत चैत १४ देखि १६ गतेसम्मका लागि सुनुवाइ तय गरेको थियो । उक्त सार्वजनिक सुनुवाइ कोरोनाको जोखिम बढेपछि रोकिएको थियो । सुनुवाइको पहिलो सत्रमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रस्तावित महशुलका विषयमा आफ्नो प्रस्तुति राखेका छन् । आयोगले विभिन्न मोबाइल नम्बर तथा आयोगमा समेत सम्पर्क राखेर महशुलका सम्बन्धमा आफ्नो धारणा राख्नसक्ने वातावरण बनाएको छ । 

आफ्नो प्रस्तुति राख्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आवको अन्त्यसम्म प्राधिकरणको सञ्चित नोक्सान शून्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । प्राधिकरणको हिसाबअनुसार हालसम्म सञ्चित नोक्सानी रु १२ रहेको छ । सञ्चित नोक्सानलाई शुन्य भई प्राधिकरणको नाफा र घाटा बराबरीको अवस्थामा पुग्ने र सरकारी संस्थानमध्ये उत्कृष्ट बन्ने उनको भनाइ छ । 

विगतमा राजनीतिक हस्तक्षेप, स्रोतको दुरुपयोगलगायतका कारणले प्राधिकरण निरन्तर घाटामा गएको थियो । तत्कालीन ऊर्जामन्त्री पोष्टबहादुर बोगटीको पहलमा रु २७ अर्ब बराबरको घाटाको अपलेखन गरिएको भए पनि पुनःत्यो घाटा बढेर आर्थिक वर्ष २०७२/७३ मा रु २७ अर्ब पुगेको थियो । पछिल्लो तीन वर्षमा प्राधिकरणले निरन्तर विभिन्न अभियान सञ्चालन गरेका कारण घाटा घट्दै गएको छ । 

नियमित विद्युत् उपलब्ध हुन थालेपछि प्राधिकरणको नाफासमेत बढ्दै गएको छ । झण्डै २६ प्रतिशतको हाराहारीमा पुगेको विद्युत् चुहावट घटेर चालू आवको अन्त्यसम्म १४ दशमलव ५० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको छ । प्राविधिक चुहावटबाहेक अन्य चुहावट घटाउन प्राधिकरणले निरन्तर पहल गरिरहेको छ । प्राविधिक चुहावट घटाउनका लागि वितरण प्रणालीको सुधार, ट्रान्सफर्मर थप गर्ने तथा अन्य कामसमेत निरन्तर अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । झण्डै दुई दशकसम्म निरन्तर घाटामा गएको प्राधिकरण चालू आर्थिक वर्षमा शून्यमा आउने जानकारी दिँदै भारतबाट आयात भइरहेको विद्युत्को मात्रासमेत घटेको बताए । 

चालू आवमा भारतबाट रु १२ अर्ब बराबरको मात्र बिजुली आयात हुने उनले जानकारी दिए । आव २०७५/७६ मा भारतबाट रु १९ अर्ब बराबरको विद्युत् आयात भएको थियो । जुन सो आवको तुलनामा चालू आवमा झण्डै रु सात अर्बले कम हो । यस्तै नेपालले यस वर्ष मात्रै रु एक अर्ब बराबरको विद्युत् भारत निकासी गरेको छ । 

अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार प्राधिकरणले गत वर्ष रु १० अर्ब ५० करोड बढी नाफा गरेको थियो । प्राधिकरणले यस आवमा बिजुलीको लागत प्रतियुनिट लागत घटेर १० रुपैयाँ २४ पैसामा झर्ने अनुमान गरेको छ । गत आवमा १० रुपैयाँ ३० पैसा रहेको थियो । यस वर्ष प्रतियुनिट दुई पैसा नाफा हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यद्यपि यो चुहावटमा आधारित हुने उनको भनाइ छ । 

चालू आर्थिक वर्षमा विद्युत् प्राधिकरणको कूल आम्दानी बढेर रु ७५ अर्ब ८० करोड पुग्ने भएको छ । गत वर्ष रु ६५ अर्ब ८५ करोड आम्दानी हुने अनुमान छ । चालू आवमा नाफा नोक्सानको अवस्थालाई शुन्यमा झारेपछि नेपालको विद्युत्मा लगानीमैत्री वातावरण बनाउन सहयोग मिल्ने जानकारी दिँदै उनले क्रमशः विद्युत् विस्तार गर्ने लक्ष्य राखेको बताए । 

प्राधिकरणका अनुसार आवमा २०७५/७६ मा सात हजार ५५१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएकामा चालू आवमा कूल आठ हजार ६५७ गिगावट घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य राखेको हो । यस्तै ग्राहकलाई गत आवमा कूल छ हजार ३९४ गिगावाट घण्टा र चालू आवमा सात हजार ४०२ गिगावाट घण्टा उपलब्ध भएको छ । त्यसमा झण्डै एक हजार गिगावाट घण्टा बढी विद्युत् चुहावट भएको छ । 

प्राधिकरणले विभिन्न क्षेत्रलाई विशेष ध्यानमा राखेर महशुल दर निर्धारण गरेको छ । त्यसमा न्यूनतम विद्युत् उपभोग गर्नेलाई कम महशुल तिर्ने गरी दर तय गरिएको छ । विगतमा बढी विद्युत् खपत गर्नेलाई बढी शुल्क लिने अवस्था थियो । प्राधिकरणले प्रस्ताव गरेको महशुलअनुसार भने बढी खपत गर्नेलाई पनि तुलनात्मकरुपमा कम पर्ने व्यवस्था गरिएको छ । 

यस्तै विद्युतीय सवारी साधनको प्रवद्र्धन तथा कृषि क्षेत्रको आधुनिकीकरणका लागि सिँचाइमा विशेष छुट दिने प्रबन्ध गरिएको छ । आयोगले उपभोक्ताको हक र हितलाई ध्यानमा राखेर विद्युत् सेवालाई भरपर्दो र सुरक्षित बनाउने लक्ष्य राखेको छ । यस्तै कोरोनाका कारण समस्यामा परेका ऊर्जा उद्यमीलाई रिफाइनान्सिङको व्यवस्था गर्न र खरिद बिक्री उत्पादन अनुमतिपत्रका सम्बन्धमा समेत विशेष व्यवस्था गरिएको छ । आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले आयोगले २५ हजार मेगावाटका आयोजनाको सहजीकरणका लागि विशेष व्यवस्था गरिएको बताए । 

आयोगको नियमनकारी भूमिकालाई थप प्रभावकारी बनाइँदै लगिएको र विभिन्न सात वटा विनियमावली तय गरी काममा थप सहजीकरण गरेको अध्यक्ष सिंहको भनाइ छ । सार्वजनिक सुनुवाइमार्फत प्राप्त भएका धारणाका आधारमा आयोगले महशुलका सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.