शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु भएका बाराका ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा संक्रमण पुष्टि

नेशनल मेडिकल कलेजका डाक्टरसहित ५० जनालाई क्वारेन्टाइनमा पठाइयो
सोमबार, १२ जेठ २०७७, १८ : ३०
सोमबार, १२ जेठ २०७७

काठमाडौं । कोरोना संक्रमणबाट गत जेठ ४ गते मृत्यु भएका बाराको कलैया ७ का ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । 

 मन्त्रालयका अनुसार नेशनल मेडिकल कलेजमा ती वृद्धको मृत्यु भएको थियो ।  स्वासप्रश्वासमा समस्या देखिएपछि जेठ २ गते अस्पताल भर्ना गरिएका उनको आइसियुमा उपचारकै क्रममा ३ गते स्वाव संकलन गरिएको थियो ।

स्वाब नारायणी अस्पतालमा परीक्षण गर्दा शंकास्पद देखिएको थियो । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पोजेटिभ देखिएपछि उनको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

यस्तै मृतक वृद्धको सम्पर्कमा आएकाहरुको जेठ ५ गते स्वाव संकलन गरी परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पोजेटिभ देखिएको देवकोटाको भनाइ छ । 

यसैबीच वीरगन्जस्थित नेशनल मेडिकल कलेजको आईसीयु र इमरजेन्सी कक्ष सिल गरिएको छ । अस्पताल सिल गरिएपछि त्यहाँ कार्यरत ५० डाक्टर तथा कर्मचारीलाई क्वारेन्टाइनमा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप