मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

हावाहुरीका कारण केरा खेती र कृषि फर्ममा लाखौंको क्षति

सोमबार, १२ जेठ २०७७, १८ : २८
सोमबार, १२ जेठ २०७७

रौतहट । वर्षासँगै आएको असिना र हावाहुरीले रौतहटको छुटाछुटै स्थानमा रहेका केराखेती र  कृषि फर्ममा लाखौं बराबरको क्षति भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित केराखेती र देवाही गोनाही नगरपालिका ६ टिकुलियास्थित एक कृिष फर्ममा आईतवार साँझ आएको हावाहुरी र असिना पानीले लाखौं बराबरको क्षति भएको हो ।

साबिक जनकपुर घर भई र हाल काठमाडौं बस्दै आएका श्रवणकुमार साहले गत वर्ष कटहरिया ४ स्थित जनता माविको १३ बिगाहा जग्गा ६ वर्षको लागी लिजमा लिएर ब्यवसायिक रुपमै केरा खेती सुुरु गरेका थिए । तीनजना भारतीय नागरिकलाई साझेदारीमा राखेर श्रवणले जग्गाको चारैतिर घेराबार गरी गत वर्ष बैशाख महिनामा   उनले केरा रोपेका थिए ।

उन्नत केराखेतीका लागी चितवनबाट केही प्राविधिकसहित दैनिक २० देखी ३० जना कामदारले सो खेतीमा गोडमेल तथा रेखदेख गर्दै आएका थिए । केराखेतीमा हालसम्म झण्डै ३० लाख रुपैयाँको लागत भइसकेको कृषक श्रवणकुमार साहले बताएका छन् ।

प्रति बिगहामा १२ सयको दरले १३ बिगहा क्षेत्रफल जग्गामा लगाइएको साढे १५ हजार केराको बोटमध्ये ९० प्रतिशत फलिसकेको थियो । आईतवार साँझ आएको हावाहुरी र असिनाले ६० प्रतिशत भन्दा बढी केराको बोट ढलेर लाखौं बराबरको क्षति भएको उनले दुखेसो पोखे । 

राष्ट्रिय केरा उत्पादक किसान संघमा आबद्ध भएकोमा केराको वीमा समेत हुने गर्दछ तर गत चैत ११ देखी लगातार लकडाउनको कारण हालसम्म केरा खेतीको वीमा हुन नसकेको किसान श्रवणले बताए । विभिन्न बैं​कबाट ऋण लिएर गरिएको केरा खेतीमा झण्डै ४० लाखभन्दा बढी क्षति भएकाले सरकारले क्षतिपूर्ति दिने आशा व्यक्त गरे । 

उता देवाही गोनाही ६ टिकुलियास्थित साईनो कृषि फर्ममा पनि गए रातीको हावाहुरीले लाखौं बराबरको क्षति भएको छ । तिब्र गतिमा आएको हुरीले फर्मको छना उडाएपछि पालिएको ९ सय ५० टर्की उडेर भागेको र १० वटा बाख्रा चपिएर मरेको सञ्चालक धिरेन्द्र तिवारीले बताए ।

फुल पार्ने अवस्थाका टर्की, बाख्रा र फर्मको घरसमेत गरेर झण्डै १५ लाख बराबरको क्षति भएको तिवारीले दुखेसो पोख्दै सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप