शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५ अर्ब बराबरको दुग्धजन्य पदार्थको हुन लाग्यो ‘डेटस्पाइर’, किसानलाई २ अर्ब भुक्तानी गर्न बाँकी

सोमबार, १२ जेठ २०७७, १९ : १३
सोमबार, १२ जेठ २०७७

काठमाडौं । कोरोना भाइरसको कारण लागू गरिएको लकडाउनले दुग्ध क्षेत्रमा निकै असर पारेको छ । बिक्री नभएपछि उद्योगीहरुको धेरै मात्रमा दुग्धजन्य पदार्थ भण्डारमा थन्किएको छ । किसानबाट खरिद गरिएको दुध बिक्री नभएपछि उद्योगीहरुले त्यसलाई धुलोको साथै पनिर, दही, घीउ बनाएर भण्डारमा थन्काएका छन् । करिब ५ अर्बको दुग्धजन्य पदार्थ भण्डारमा थन्केर बसेको डेरी एशोसिएशन नेपालका महासचिव प्रल्हाद दाहालले बताए । १ वर्ष मात्र डेट भएको अब जम्मा ५ महिना मात्र डेट बाँकी भएको ५ अर्ब बराबरको धुलो दुध र बटर बिक्री नभई भण्डारमा थन्किएका कारण चालू पुँजी जाम भई  किसानको भुक्तानी दिन नसकेको उनले बताए ।

दुध र दुग्धजन्य पदार्थ बिक्रीमा कमी आएका कारण उद्योगीहरुले करिब दुई महिनादेखि किसानलाई भुक्तानी दिएका छैनन् । देशैभरिका किसानलाई करिब २ अर्ब भक्तानी गर्न बाँकी रहेको एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

उनले भने, ‘हामीले किसानसँग दुध खरिद गरिरहेका छौं तर बिक्री नै भइरहेको छैन, लगानी मात्र लागि रहेको छ, अनि किसानलाई कहाँबाट रकम दिउँ । यो अवस्थामा पनि किसानको दुध खरिद गरिरहेका छौं, त्यो नै ठूलो कुरा हो, हाम्रो बिक्री २० प्रतिशतमा झरेको छ, दुग्धजन्य पदार्थहरु सबै भण्डारमा थन्किएको छ, कतिपयको डेट स्पाइर हुने अवस्था पनि हुन लागेको छ, अब त्यो कहाँबाट मेन्टेन गर्ने बुझ्न सकिरहेको छैन ।’

अब भण्डार गर्ने ठाउँ पनि नभएको र तयार भएको दुग्धजन्य पदार्थ कहाँ राख्ने त्यो समस्या उत्पन्न हुन लागेको बताउँदै उनले किसानबाट दुध नलिए त्यसको अवस्था झनै भयावह हुने उनले बताए । उनले भने, ‘हाम्रो ८० प्रतिशत बजार समाप्त भएको छ, हामीले किसानबाट खरिद गरेको दुध कहाँ बेच्ने, होटेल, रेष्टुरेन्ट, स्कूल, कलेज, क्यान्टिनहरु सबै बन्द छन्, सरकारले तत्कालै दुग्ध क्षेत्रको बारेमा सोचेन भने यो क्षेत्र तहस नहस हुन्छ ।’ तर केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले डेरी उद्योगवालाहरुले किसानको भुक्तानी मात्र होइन, सबै दुध पनि खरिद नगरेको दावी गरे ।

उनले भने, ‘डेरीवालाहरुले किसानको २० प्रतिशत दुध मात्र लिइरहेका छन्, लिएका दुधको भुक्तानी दिएका छैनन्, भुक्तानी नपाएका कारण किसान निकै मर्कामा परेका छन् ।’ किसानले उत्पादन गरेको दुध गाई गोरुलाई खुवाउनुको साथै आफन्तलाई बाँड्ने गरेको उनले बताए । सरकारले राहत समेत नदिएको भन्दै उनले यस्तै अवस्था रह्यो भने गाई, भैसीको दाम्लो खोलेर भगाउने बाहेक अर्को उपाय बाँकी नरहने रातोपाटीलाई बताए ।

गाउँबाट करिब ३१ लाख लिटर दुध प्रत्येक दिन बजारमा पुग्ने गरेको थियो तर कोरोनाका कारण सो क्षेत्र नै बन्द भएको छ । ३० अर्बभन्दा बढी लगानी रहेको यस क्षेत्रमा करिब ५ लाख कृषक परिवारको प्रत्यक्ष रोजगार पाएका छन् । २० हजारभन्दा बढी मानिसहरुले उद्योग क्षेत्रमा रोजगारी पाएका छन् भने दैनिक शहरबाट ५ करोडभन्दा बढी रकम गाउँमा पुग्ने गरेको छ । 

कोरोना भाईरस (कोभिड–१९) महामारीले उत्पन्न गरेको वर्तमान् संकटग्रस्त परिस्थितिले गर्दा भर्खर शुरु हुन लागेको सिजनको मुखमा खपत हुने पार्टी प्यालेस, स्कुल, होटल, रेष्टुरेण्ट, क्यान्टिन सबै बन्द रहेका छन् । त्यस्तै शहरका मानिस गाउँ गएका कारण करिब ८०५ वटा बजार गुम्न गई उत्पादन लागत बढि भई सञ्चालनमा रहेर पनि घाटा भएको स्थिति छ । सिजनमा प्रयोग गर्न भनेर भण्डारण गरिएको र एक वर्ष मात्र डेट भएको (अब बाँकी जम्मा ५ महिना मात्र डेट भएको) ५ अर्ब बराबरको धुलो दुध र बटर बिक्री नभई डम्प भएर चालु पुँजी जाम भई किसानको भुक्तानी दिन नसकिएको गुनासो उद्योगीहरुको छ । उनीहरुले नियमित घरभाडा, तलब, बैंक व्याज, बिजुली लगायत खर्च यथावत रहेकोले सोको व्यवस्थापन गर्न सरकारले विना धितो उद्योगको प्रमाण पत्रको आधारमा सहुलियत दरको ऋण कम्तिमा पनि ५ वर्षको लागि उपलव्ध गराउनुपर्ने माग गरेका छन् । 

उद्योगीहरुले यसभन्दा पहिला लिएको ऋणको भाका २ वर्ष बढाई लकडाउन अवधिभरको व्याज मिनाह गरिनुपर्ने माग गर्दै प्रयोग हुँदै आएको विद्युतमा ५० प्रतिशत छुट र पहिले ५० प्रतिशत छुट लिईंदै आएको भ्याट छुट पुनः लागू गरिनुपर्ने माग गरेका छन् । 

लकडाउन अवधिभरको विद्युत महशुल, टेलिफोन शुल्क, इन्टरनेट शुल्क र एक वर्षको संस्था नविकरणमा छुट गरि जरिवाना हटाउनुपर्ने माग गर्दै सहुलियत दरको ऋणको सिलिङ ५ करोडबाट बढाई १० करोड पुर्याउनुपर्ने र ब्याज २ प्रतिशतमा झार्नु पर्ने एशोसिएशनले माग गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप