शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले कृषिमन्त्री भुसालप्रति संकेत गर्दै किन असन्तुष्टि पोखे ?

सोमबार, १२ जेठ २०७७, १९ : ४१
सोमबार, १२ जेठ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको सबभन्दा ठूलो समस्या बिचौलिया रहेको बताएका छन् । आज देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिमा मेहनत तथा लगानी गर्ने उत्पादक र मूल्य तिरेर खरीद गर्ने उपभोक्ताको अहित हुने तर किसान र उपभोक्ताको बीचमा रहने बिचौलियाले अनुचित फाइदा लिइरहेको धारणा राखेका छन् । पछिल्लो समय कृषिमा बिचौलियाको बिगबिगीका कारण किसानले दुःख पाएको प्रश्न उठ्न थालेको छ । 
कृषि क्षेत्रमा रहेको बिचौलियालाई समाप्त पार्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पटट–पटक कदम चाले पनि सफल भएको छैन । आज प्रधानमन्त्री अ‍ोलीले स्वयं कृषिका लागि बिचौलिया गम्भीर समस्या रहेको बताएका छन् । 
ठूलो मात्रामा आधुनिक यन्त्र र प्रविधिको प्रयोग गरी व्यावसायिक कृषि उत्पादनको कार्य अपेक्षित मात्रामा हुन नसकेको पनि उनले बताए । जब कि कृषि क्षेत्रलाई आधुनिक तथा यान्त्रिकीकरण गर्नका लागि सरकारले वर्षेनी अर्बौको बजेट छुट्याएको हुन्छ तर नेपालको कृषि अझै यान्त्रिकीकरण हुन नसकेको गुनासो बढ्दै गइरहेको छ र आज प्रधानमन्त्री ओली स्वयंले त्यसप्रति असन्तुष्टि व्यक्त गरे । 

उनले भने, ‘कोरोना महामारीका कारण थपिन सक्ने गरिबी र बेरोजगारीलाई समाधान गर्न कृषि क्षेत्रको अहम् भूमिका हुने कुराप्रति सरकार सचेत छ । यस समस्यालाई सम्बोधन गर्न आवश्यक ‘खाद्य वस्तुहरुको आयातलाई घटाउने, कृषिमा आत्मनिर्भर हुने, क्रमशः कृषि उत्पादनको निर्यात तीब्र पार्ने र कृषि क्षेत्रमा ठूलो मात्रामा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने’ कार्यक्रम हालै संसदबाट नीति तथा कार्यक्रमका रुपमा पारित गरिसकिएको छ ।’

सरकारको नीति तथा कार्यक्रममा जोड दिइएअनुरुप खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यकलाई ख्याल गरी कृषि कार्य अघि बढाइनेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समुदायमा संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्नेगरी प्रशासनिक कडाईलाई कायम राख्ने धारणा राखेका छन् । कोरोनाको कहरबाट बच्ने एक मात्र उपाय कृषि भएको ठहर राज्यले गरेको छ । तर यस अवस्थामा पनि सरकारले आवश्यकताअनुसार बजेट दिन नचाहेको मन्त्रालयका एक पदाधिकारीले बताए । 

२०७६/०७७ मा सरकारले ४० अर्ब बजेट कृषिका लागि छुट्याएको थियो तर अगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ३३ अर्ब बजेटको सीमा तोकिएको छ । सोही सीमाभित्र रहेर कृषिको कार्यक्रम तयार गर्न कृषि मन्त्रालयलाई भनेको थियो । मन्त्रालयले कार्यक्रम तयार गरी अर्थ मन्त्रालयलाई बुझाई सकेको छ । यद्यपि कृषि मन्त्रालयले थप ९ अर्ब बजेट माग गरेको छ । 

प्रधानमन्त्री ओलीको गुनासो कृषि मन्त्रालयप्रति रहेको छ भने कृषि मन्त्रालयको गुनासो प्रधानमन्त्रीप्रति रहेको छ । यसअघि कृषिमा राम्रो काम नगरेको भन्दै चक्रपाणि खनाल बलदेवलाई मन्त्रीबाट हटाएका थिए । कृषिमा भने जस्तो काम हुन नसकेको गुनासो यसअघि पनि प्रधानमन्त्री अ‍ोलीले भन्दै आइरहेका थिए र उनले त्यसको कारण देखाउँदै मन्त्री नै फेरे ।

कृषि मन्त्रीमा घनश्याम भुसाल आएपनि प्रधानमन्त्री ओली सन्तुष्ट हुन सकेका छैनन् । प्रधानमन्त्री अ‍ोलीले विभिन्न फ्लोरमा कृषिमा अपेक्षाकृत काम हुन नसकेको गुनासो गर्दै आइरहेका हुन्छन् ।  आज उनले आफ्नो सम्बोधनमै असन्तुष्टि पोखे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप