मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणबाट मृत्यु

मङ्गलबार, १३ जेठ २०७७, ०७ : ५५
मङ्गलबार, १३ जेठ २०७७

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । 

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो मुर्मुको घटनास्थलमै मृत्यु भएको हो ।

मोरङतिरबाट आएको हात्तीलाई नेपाली र भारतीय नागरिकले मिलेर धपाउने प्रयास गर्दागर्दै हात्तीले एक्कासी भारतीय युवकलाई झम्टेको थियो । हात्ती खेद्न सीमा नाघेर आएका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा भेटिएको छ । 

घटनाको खबर पाएलगत्तै कोरोबारी प्रहरी चौकीबाट थप सुरक्षाकर्मी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत साता कचनकबलमा जङ्गलमा निगुरो टिप्न जाँदा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप