बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कृष्णसेनः अनुसरण गर्नुपर्ने व्यक्तित्व

मङ्गलबार, १३ जेठ २०७७, १४ : ००
मङ्गलबार, १३ जेठ २०७७

–रीता लामा
घोराही । जनपक्षीय पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको आज १८ औं स्मृति दिवसमा यस वर्ष कुनै कार्यक्रम आयोजना हुन सकेनन् ।  इच्छुकका स्मृतिमा अघिल्ला वर्षमा नेपाल पत्रकार महासंघले देशैभरि विभिन्न कार्यक्रम आयोजना गरे पनि यस वर्ष भने कुनै कार्यक्रम आयोजना हुन सकेनन् । देशका विभिन्न ठाउँमा इच्छुकको सम्झनामा स्थापना गरिएका सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम पनि रोकिएका छन् ।  

पत्रकार, साहित्यकार, मानवधिकारकर्मी र राजनीतिक व्यक्तित्व  इच्छुक सशस्त्र द्वन्द्वका समयमा प्रहरी हिरासतमा मारिएका थिए । पटकपटक गरी दश वर्षसम्म उनलाई कारागारमा यातनापूर्वक थुनियो र अन्त्यमा विसं २०५९ जेठ ६ गते गिरफ्तारपछि काठमाडौँस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते हत्या गरिएको थियो ।  

इच्छुक करीब ४६ वर्षसम्म मात्रै बाँचेका थिए । इच्छुकलाई चिन्नेहरु भन्छन्, ‘उहाँ बिते पनि जीवनमा देश र जनताका लागि बिर्सन नसक्ने गरी गुन लगाएर जानुभएको छ ।’ पत्रकारिताको शुुरुआततिर  इच्छुकका दुईतीन  मात्रै भाषण सुन्ने मौका पाएका पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम उनलाई शानीनताले भरिपूर्ण व्यक्तित्वका रुपमा चिन्छन् । सचिव जिएम भन्छन्, ‘२०५४ तिर उहाँ जेलबाट छुटेपछि जिल्लामै बोलाएर पत्रकार महासंघले सम्मान ग¥यो, त्यो समय उहाँको चर्चा देशभरि हुने गरेको थियो ।’ 

जिएमका अनुसार इच्छुक निकै भद्र र शालीन तरिकाले अरुसामु प्रस्तुत हुने गर्थे । नरम तरिकाले बोल्ने इच्छुकको व्यवहार थियो जसका कारण सबै पत्रकार उनीबाट प्रभावित थिए । विसं २०३६ देखि नै इच्छुकलाई नजिकबाट चिन्नुभएका दाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मधुसूदन वैद्य इच्छुकले विद्यार्थी राजनीति गर्दा आफूहरु पछिपछि लाग्ने गरेको सुनाउँछन् । विद्यार्थी र पार्टी राजनीतिदेखि पत्रकारिता र साहित्य सिर्जनामा इच्छुकका योगदान अमूल्य रहेको उनको बुझाइ छ । ‘हरेक हिसाबले उहाँ हामीभन्दा अग्रज हुनुहुन्थ्यो तर अनुसरण गर्ने खालको व्यक्तित्व थियो’,  वैद्यले भने, ‘व्यक्तिगत जीवन अत्यन्त सरल थियो,  सामान्य परिवारका उहाँ सहयोगी, मिलनसार र स्पष्ट वक्ता हुनुहुन्थ्यो ।’ 

उनी जस्तो सबैलाई मार्गनिर्देश गर्ने खालको व्यक्तित्व आफूहरुले अहिलेसम्म नभेटेको उनको जिकिर छ । इच्छुकले देश, समाजप्रति साहित्य र पत्रकारितामा सकारात्मक छाप छाडेर गएको उनको तर्क छ । साथै इच्छुकको व्यक्तिगत जीवनको छाप पनि सबैले सम्झिने खालको भएको उनी बताउँछन् । 

घोराही र तुलसीपुरका कारागारमा इच्छुकसंँगै विसं २०३९ देखि २०४२ सम्म समय बिताउनुभएका प्रगतिशील लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटा इच्छुक एक सम्मान गर्नलायक व्यक्तित्व भएको बताउँछन् ।  देवकोटाले इच्छुक स्पष्ट विचारले निर्देशित, व्यवहारमा लचकता, सिद्धान्तमा अडिग, मिलनसार, वर्गीय पक्षधर, आत्मीय र  सहयोगी स्वभाव रहेका थिए । कारागारभित्र पनि इच्छुकमा हरेक काममा पद्धतिगत ढंगबाट जाने, थोरै बोल्ने, बोलेको कुरा पूरा गर्ने, साँचो र सत्य मात्रै बोल्ने खालको व्यवहार आफूले पाएको बताउँछन् ।  

इच्छुकले लेखेका कथा, कविता, निबन्ध र  शोककाव्य सबै कारागारभित्रै लेखिएको देवकोटा सुनाउँछन् । ‘उहाँ जेलमा बसेर साहित्य सिर्जना गर्नुहुन्थ्यो, लेख्दै सुनाउँदै गर्नुुहुन्थ्यो’,  लेखक देवकोटा भन्छन्,  ‘एउटा कविता लेख्न उहाँलाई हप्ता दिन लाग्थ्यो, पटकपटक परिमार्जन गरेर लेख्नुहुन्थ्यो ।’ देवकोटाका अनुसार इच्छुक सँधै गद्यमा कविता लेख्थे र मीठो लय हालेर सबैलाई सुनाउँथे । अरुको रचना पनि निकै ध्यान दिएर सुन्ने गर्थे । 

लेखक देवकोटाको अनुभवमा इच्छुक आफू खासै नहाँस्ने, थोरै बोल्ने तर हाँस्ने खालको वातावरण तयार पार्ने खालको व्यक्तित्वको थिए । इच्छुक कहिले पनि कसैलाई घोचपेच नगर्ने र  हेपेर नबोल्ने खालका थिए ।  इच्छुकका हालसम्म ‘शोकाञ्जलि’, ‘इतिहासको यस घडीमा’, ‘बन्दी र चन्द्रागिरि’ लगायत कृति प्रकाशनमा आएका छन् ।  इच्छुक बहुप्रतिभाशाली व्यक्तित्व थिए । उनी नेपाली दुःखी र गरीब जनताका पक्षमा कलम चलाउने जनकवि, लेखक र युद्धमोर्चाका पत्रकार थिए । उनी सशस्त्र युद्धमा होमिए पनि प्रखर मानववाधिकारवादी भएको उनका हितैषी बताउँछन् । 

स्मृति दिवसका कार्यक्रम स्थगित 
कोरोना संकट र लकडाउनका कारण यस वर्ष १८ औंँ स्मृति दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न असमर्थ भएको  यहाँका सञ्चार सङ्गठनले जनाएका छन् । हरेक वर्ष जेठ १३ गते इच्छुकको हत्या गरिएको दिनको सम्झना गर्दै नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल  र जनसांस्कृतिक महासंघ दाङले संयुक्त रुपमा श्रद्धाञ्जलिसभा तथा पुरस्कार वितरण समारोह आयोजना गर्दै आएकामा यस वर्ष रोकिएको जनाएका छन् ।  कोरोना संकटको समाप्तिपछि औपचारिक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण कार्यक्रम गरिने  पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप