बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना कहरकाबीच निर्माण सामाग्रीको मूल्य ह्वात्तै बढ्यो

मङ्गलबार, १३ जेठ २०७७, १४ : ५४
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । निर्माण सामाग्री र ढुवानीमा कृत्रिम रुपमा मिलेमतो गरी अत्याधिक मुल्यवृद्धि गरिएको दावी नेपाल निर्माण व्यवसायी महासंघले गरेको छ ।

महासंघका महासचिव रोशन दाहालले मंगलवार विज्ञप्ति जारी गर्दै कोरोनाको कहरबीच सरकारी निर्णय बमोजिम निर्माण कार्यमा खटिएका व्यवसायीहरु कालोबजारीले गर्दा थप मारमा परेको उल्लेख गरेका छन् । 

 लकडाउन अघि भन्दा सिमेन्ट (प्रति बोरा) मा रु. ८० देखि रु १२० र रड (प्रति केजी) मा रु. १० देखि रु. १५ सम्म मुल्यवृद्धि भएको जानकारी महासंघलाई प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ ।
 त्यस्तै निर्माण सामग्री ढुवानीमा पनि लकडाउन अगाडिको मुल्यमा डेढ गुणा बढी मुल्यवृद्धि भएको महासंघले जनाएको छ । 

विश्व बजार सहित नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेको अवस्थामा ढुवानीमा चर्को मूल्यवृद्धि हुनु कुनै पनि दृष्टिकोणबाट मान्य हुन नसक्ने महासंघको धारणा छ । 

महासंघका अनुसार कोरोना संक्रमणका कारण एकातिर काम गर्न समस्या भइरहेको समयमा मुल्यवृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायीहरु बाह्र महिना भन्दा कम अवधि भएका निर्माण आयोजनाहरुको मुल्य समायोजन नहुँदा समस्यामा परेका छन् । 

“आफ्नो ज्यान जोखिममा राखेर भौतिक पूर्वाधारको विकासमा रातदिन समर्पित निर्माण व्यवसायीहरु सामु यसरी पाइला पाइलामा चुनौति थपिनु ठूलो चिन्ताको विषय हो ” महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  सिंगो मुलुक र विश्व नै कोरोना संक्रमणका कारण आक्रान्त भइरहेको अहिलेको जटिल समयमा हचुवाको भरमा कृत्रिम रुपमा गरिएको मूल्यवृद्धिको कारण विकास निर्माणका कार्यहरुमा थप लागत बढ्न गई नेपाल सरकारलाई नै आर्थिक भार पर्न जाने ठहर महासंघले गरेको छ । 

अहिलेको विषम परिस्थितिमा एकातिर काम नभई ओभरहेड खर्च बढ्ने र अर्कोतिर यसको फाइदा उठाउँदै गरिएको मूल्यवृद्धिलाई तत्काल रोक्न महासंघले नेपाल सरकार समक्ष अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप