बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सम्बोधन: याैटा प्रेमीको नाउमा

मङ्गलबार, १३ जेठ २०७७, १५ : ००
मङ्गलबार, १३ जेठ २०७७

 

(जाजरकोटका नवराज विश्वकर्मा, जसले जातिय विभेद तोड्दै प्रेम गरे बापत मृत्युु  उपहार पाए ! कथित जातीय उच्चताका अहँकारीहरूले उनलाई कुटपिट गरेर मारे। हार्दिक श्रद्वा सुमन- नवराज विक)

ए ब्राह्मणवादी बुख्याँचा !
म जाजरकाेटे विश्वकर्मा,
नवराज विश्वकर्मा,
जातीय विभेद र छुवाछूत विरूद्वकाे फिलुङ्गाे
प्रेमिल हृदयकाशकाे याैटा जिवात् ।
शुष्मिल हृदयकाे सुमधुर गीत ।

मसंग थिएनन्
तँसंग जस्ता जातीय छुद्रताहरू ।
तँ भित्र जस्ता अविवेकी ज्ञानहरू ।
हाे! मभित्र थिएनन्
तँ भित्र जस्ताे कलुषित पशुत्व
र, मर्यादाहीन दानवीयता ।

ए, कलंक मानवताका !
ए, स्वघाेषित पुज्य !
म नवराज विश्वकर्मा
तेरा शास्त्रकाे पैतालोबाट जन्मेकाे धुलाे ।
तर,
तर  मेरै पाैरख र सिर्जनामा त फूलिस् तँ पनि
मेरै सेवाहरूबाट त हुर्किईस् र बढिस् तँ पनि ।
मेरा पसिनाहरूमा हुर्किएकाे तँ
मेरा पाैरखहरूमा माैलाएकाे तँ
कसरी निर्माणीईस् यति धेरै निकृष्ट र निर्दयी
कसरी बनिस् यति धेरै क्रुर र आततायी

बिना कुनै बिठ्याँई  
शुष्मील छातीमा, फूलिरहेकाे म भिरफूल
तेराे कथित जातीय उच्चताले
तेरा बिद्रुप अमानवीय क्रुरताले
सहेन मेराे प्रेमकाे ईन्द्रेणी र च्यातिस्
पचेन मेराे खुला आकाश र ढाकिस् ।
तर नबिर्सी दुष्ट बुख्याँचा !
याे त हाम्राे समय हाे
याे पाैरखी र सिर्जितहरूकाे समय हाे
हाे! याे त नवराजहरूकाे समय हाे ।

ताेड्दै तेरा षड्यन्त्रहरू
मनुवादी जातीय उचनिचहरू
म त प्रेमकाे सुन्दरतामा, उच्चतामा
निहारिरहेकै छु अझपनि
प्रेमिल आँखाहरूबाट दुनिया
प्रितकाे सर्वोच्चताबाट सिङ्गै बम्हाण्ड ।
अहँ,
तैंले साेचे जसरी म मरिरहेकाे छैन
बरू जीईरहेकाे छु काेटीकाेटीहरूमा
प्रेमिल उच्चताका साथ शान्त ह्रृदयमा ।
तेरा जातीय श्रेष्ठताकाे विरूद्व
बिल्कुलै मानवतामा,
त्यसकै सर्वोच्चतामा ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शरद पौडेल
शरद पौडेल
लेखकबाट थप