मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट फर्कंदै काभ्रेली, स्थानीय क्वारेन्टिनमा राख्ने तयारी

मङ्गलबार, १३ जेठ २०७७, १८ : २९
मङ्गलबार, १३ जेठ २०७७

काभ्रे । भारतको सिमावर्ती क्षेत्रमा रोकिएका काभ्रेली धमाधम जिल्ला फर्कन थालेका छन् ।  सुनौली नाकाबाट नेपाल भित्रिएका २३ काभ्रेली गएराति तथा पूर्वी नाकाबाट ल्याइएका ३७ जना आज बिहान जिल्ला आइपुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 
भारतबाट आएका नेपालीमध्ये काभ्रेपलाञ्चोकका बासिन्दा सोमबार रातिदेखि आउन थालेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार सुनौली नाकाबाट भित्रिएका सोही स्थानीय तहको समन्वय तथा आज बिहान आइपुगेका जिल्लास्थित बेथानचोक गाउँपालिकाले आफ्नै समन्वयमा ल्याइएको हो । ‘काम तथा अन्य सिलसिलामा भारतमा रहेका जिल्लाका बासिन्दा आउने क्रम शुरु भएको छ, सोहीअनुसार व्यवस्थापनमा लागेका छौँ’ प्रजिअ तिमल्सिनाले भने ।

सदरमुकाम धुलिखेल आइपुगेकालाई सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा राख्ने व्यवस्थापन मिलाइएको प्रजिअ तिमल्सिनाले बताए । उनले भने, ‘धुलिखेल आइपुगेकालाई सम्बन्धित स्थानीय तहमै पठाउँछौँ, स्थानीयस्तरमा रहेका क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण हुनेछ ।’ उनका अनुसार भारतबाट आएकालाई स्थानीय क्वारेन्टिनमा राखेपछि पहिला आरडिटी गरिनेछ र कोरोना भाइरस पोजेटिभ देखिए पिसीआर दोस्रो परीक्षण गरिनेछ । 

त्यसो त काभ्रेपलाञ्चोकका १३ स्थानीय तह तथा संस्थामा ३४२ श्ययाको क्वारेन्टिन व्यवस्थित छन् । धुलिखेल नगरपालिकामा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८, पाँचखालमा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नपामा १५, चौँरीदेउराली गाउँपालिकमा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोलामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएका हुन् ।
 
हाल पाँचखाल नगरस्थित क्वारेन्टिनमा दुई, धुलिखेलमा २९, धुलिखेल अस्पतालमा सात, मण्डनदेउपुरमा दुई, तेमाल गाउँपालिकामा एकको उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार अन्य केही क्वारेन्टिनमा रहेकाको दोस्रो परीक्षण तथा क्वारेन्टिन बसाइको समयवधि सकी स्वस्थ्य देखिएपछि घर फर्किएका हुन् । यससँगै हालसम्म जिल्लामा एक हजार ६५७ जनाको आरडिटी तथा १७२ जनाको पिसीआर प्रविधिबाट परीक्षण भएको छ ।
 
साथै आठ श्यया रहेको धुलिखेल अस्पतालमा ५० श्ययाको आइसालेसनकक्ष बनाइने तथा सोही अस्पतालमा हप्ताको दुई दिन मात्रै स्वाब सङ्कलन÷परीक्षण गर्दै आएकोमा अबदेखि दैनिकरूपमा गर्ने तयारी भइरहेको जनाइएको छ । गत हप्ता केन्द्र र स्थानीय तहका जनप्रतिनिधिबीच स्थानीय तहमा रहेका क्वारेन्टिनलाई थप व्यवस्थित गर्दै श्यया थप्ने तयारीमा जुट्ने सहमति भएको थियो । सोहीअनुसार भारतलगायत अन्य देशबाट आएकालाई स्थानीय क्वारेन्टिनमा राखिने प्रजिअ तिमल्सिनाले बताए । 

केन्द्रका अनुसार भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेपलाञ्चोकका बासिन्दा छन् । तीमध्ये एक हजार १२५ भारतमा छन् । ‘विदेशिएका नागरिक क्रमशः आउन थालेपछि क्वारेन्टिन थप व्यवस्थित बनाउँदै श्यया थप्दै लगिनेछ’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप