मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

औषधी र राहतको आशामा बसेका जनतासामु हतियार बोकेर आयो फाइटर जेट

मङ्गलबार, १३ जेठ २०७७, २१ : २४
मङ्गलबार, १३ जेठ २०७७

एजेन्सी । युद्धग्रस्त लिबियामा कोरोनाको पर्याप्त परीक्षण नै हुन पाएको छैन । यहाँ कोरोनाबाट ७५ जना संक्रमित भएकोमा ३ जनाले ज्यान गुमाएका छन् र ४० जना निको भइसकेका छन् ।  कम संख्यामा चेकजाँच, सिमित कन्ट्याक ट्रयासिङ र सामाजिक बहिस्कारको भयका कारण कोरोना संक्रमण कम देखिएको छ । ६६ लाख ७९ हजार जनसंख्या भएको यस देशमा अहिलेसम्म २ हजार जनामा पनि परीक्षण हुन सकेको छैन । यहाँका झन्डै ७ लाख शरणार्थी र आप्रवासी अहिल्यै अकल्पनीय त्रासबाट गुज्रिरहेको विज्ञहरुले बताइरहेका छन् । विज्ञहरुले पर्याप्त मात्रामा चेकजाँच र कन्ट्याट ट्रेसिङ गरेर सतर्कता अपनाउन नसके लिबियामा ठूलो समस्या देखिनसक्ने खतरा औल्याएका छन् । 

सिमित आर्थिक स्रोत, अस्पतालमा सामान्य उपकरणको अभाव, कोरोना परीक्षणका लागि किटको अभाव र सामाजिक  अस्थिरतासँग यहाँका जनता र सरकारले जुधिरहनु परेको छ । त्यसैले यहाँ सरकारले जनतालाई घर बाहिर निस्कन नदिन कफ्र्यु समेत लगाएको थियो । यसका बाबजुद घरेलु द्वन्द्वका क्रममा यही महिना कम्तिमा ५८ जनाको मृत्यु भएको छ भने १ सय ९० जना घाइते भएका छन् । 

सन् २०११ मा लामो समयदेखिका नेता मुआम्मर गद्दाफीको हत्या भएपछि यो तेल उत्पादक देश अस्थिर र अशान्त छ ।  यहाँ दुई प्रशासनबीच प्रत्यक्ष शत्रुता छ । एकातर्फ, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय जगतबाट मान्यताप्राप्त प्रधानमन्त्री फायाज अल सर्राजको राष्ट्रिय सहमतिको सरकारले २०१६ देखि त्रिपोलीबाट शासन गरिरहेको छ । अर्कोतर्फ, देशको पूर्वमा सैन्य कमाण्डर खालिफा हाफ्तरले शासन गरिरहेका छन् ।  

यति नै बेला रुसले लिबियामा सहयोगका लागि लडाकु र हतियारसहितको विमान पठाएको छ । यो फाइटर विमान हाफ्तरको सहयोगका लागि पठाइएको हो । अफ्रिकास्थित अमेरिकी सैन्य कमाण्ड (अफ्रिकोम) का अनुसार यस कदमले लामो समय देखिको द्वन्द्व बढाउन ठूलो भूमिका खेल्नसक्छ । 

रुसबाट हिँडेको सैन्य जहाज पहिले सिरिया पुगेर रोकिएपछि लिबियाका लागि छुटेको थियो । अमेरिकी सैनिकका अनुसार भर्खरै यो जहाज अवतरण भएको हो ।  एक दिन अघिमात्रै लिबिया सरकारले विद्रोही सैन्य कमाण्डर हाफ्तरको सहयोगका लागि सयौंको संख्यामा रुसी सैनिक हिँडिसकेको जनाएको थियो । हाफ्तरले लामो समयदेखि राजधानी त्रिपोलीस्थित राष्ट्रिय सहमतिको सरकारलाई अपदस्थ गरेर सत्ता हत्याउने प्रयास गर्दै आएका छन्, जुन अहिलेसम्म सफल हुन सकेको छैन । 

रुसले अहिलेसम्म यो द्वन्द्वमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । तर यहाँ लडाकु विमान पठाएको आरोप समय-समयमा रुसमाथि लाग्छ । गत महिना रिपोर्ट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध रहेको अर्धसैन्य दस्ता वाग्नर ग्रुपले हाफ्तरको सहयोगका लागि लडाकूहरु पठाएको जनाएको थियो । 

‘लामो समयदेखि रुसले लिबियाको द्वन्द्वमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । ठिक छ, अब यहाँ यस्तो अस्वीकारोक्ति हुनेछैन,’ अमेरिकी सेनाका जनरल स्टेफेन टाउनसेन्डले अफ्रिकोमको विज्ञप्तिमा भनेका छन्, ‘जसरी मैले उनीहरुले सिरियामा के गरे भने देखेको छु । त्यसरी नै अफ्रिकामा उनीहरुले सरकारी सहयोगप्राप्त वेग्नरजस्ता लडाकु दस्ताको प्रयोगमार्फत आफ्नो सैन्य पाइला बढाइरहेका छन् ।’ स्टेफेनका अनुसार लिबियामा पठाइएका यी यी विमान ‘फोर्थ जेनेरेशन जेट फाइटर्स’ हुन् । 

२०११ मा गद्दाफीको हत्यापछि अस्थिर बनेको लिबियामा २०१४ यता हाफ्तर र राष्ट्रिय सहमतिको सरकारबीच संघर्ष रहिआएको छ । इजिप्ट, युएई र साउदी अरेबिया समेतको सहयोग पाएका हाफ्तरले गत वर्षको अप्रिलमा त्रिपोलीमा आक्रमण गरेपछि यो द्वन्द्व थप खराब अवस्थामा छ ।  अफ्रिकोमका अनुसार रुसको कदमले द्वन्द्व र दुबै पक्षका मृतकको संख्या बढाउने खतरा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप