शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिक्तेलको क्वारेन्टिनमा शौचालय अभाव

एउटै हलमा त्रिपालको बार लगाइ महिला र पुरुषका लागि दुई कोठा
बुधबार, १४ जेठ २०७७, ०७ : ३८
बुधबार, १४ जेठ २०७७

खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेन्टिनको अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घ नेपालबीच नेटवर्कमा गठित समितिले दिक्तेलबजारस्थित माटीकोरे कभर्डहलस्थित क्वारेन्टिनको अनुगमन गरेको हो ।

मङ्गलबार बिहान गरिएको अनुगमनको क्रममा पर्याप्त शौचालय (चर्पी) नभएको पाइएको समितिका संयोजक पूर्णमाया तामाङले बताइन् । तीन महिलासहित १९ जना रहेको क्वारेन्टिनस्थलमा महिला र पुरुषका लागि एक–एक गरी दुई मात्र चर्पी रहेको पाइएको संयोजक तामाङको भनाइ छ ।

महिला र पुरुषका लागि एउटै हलमा त्रिपालको बार लगाइ दुई कोठा बनाइएको छ । उक्त क्वारेन्टिनमा ३६ श्यया रहेका छन् । क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम क्वारेन्टिनमा बस्ने तीन व्यक्ति बराबर एक चर्पीको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

यसैबीच अनुगमन समितिको मङ्गलबार बिहानै बसेको बैठकले जिल्लास्थित १० वटै स्थानीय तहका मानवअधिकार अवस्था अनुगमन गर्ने निर्णय गरेको छ । सात सदस्यीय समितिले वर्तमान जटिल परिस्थतिमा कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारबाट भइरहेका कार्य, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताका अधिकारलगायतका अवस्थाको अनुगमन गर्ने जनाइएको छ ।

अनुगमन समितिले अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकका कर्तव्यलगायत कोभिड–१९ बाट प्रभावित अन्य मानवअधिकारका अवस्थाको अनुगमन गरी स्थानीयस्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गर्ने तथा राष्ट्रिय मानवअधिकार आयोगका कार्यालयमा तथ्य तथा सूचना सम्प्रेषण गर्ने जनाइएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ श्ययाको क्वारेन्टिन र १३ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन मापदण्डविपरीत रहेको गुनासो आएको छ । जनप्रतिनिधिले होम क्वारेन्टिन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टिनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । क्वारेन्टिन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना तथा खाजा र स्वास्थ्य उपचारको व्यवस्था गरेका छन् ।

भारतबाट आएकाको पिसिआर गर्न आग्रह

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले भारतबाट जिल्ला भित्रिने व्यक्तिलाई सिमानामै पिसिआर परीक्षण गरेर मात्र गाउँ ल्याउने व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरेको छ । भारतबाट जथाभावी भित्रिने जिल्लाबासीबाट सङ्क्रमण पनि भित्रिने खतरा बढेको भन्दै समितिले उनीहरुलाई नेपाल–भारत सिमानामै ‘होल्ड’ गरेर क्वारेन्टिनमा राख्ने र पिसिआर परीक्षण गरेपछि मात्र घर ल्याउने व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरेको हो ।

परीक्षणका क्रममा पिसिआर रिपोर्ट नेगेटिभ देखिएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहमा ल्याउने तर, पोजिटिभ रिपोर्ट देखिएका व्यक्तिलाई तत्काल अस्पतालमा पु¥याएर उपचारको व्यवस्था गर्न जिल्लाका १० वटै स्थानीय तहलाई आग्रह गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । “जिल्ला भित्रिने व्यक्तिलाई नेपाल–भारत सिमानाकै क्वारेन्टिनमा राख्ने, पिसीआर परीक्षण गर्ने, उपचारको व्यवस्था गर्ने, घर ल्याउनेलगायत खर्च सम्बन्धित स्थानीय तहले व्यहोर्ने तथा स्थानीय तहलाई गर्नुपर्ने थप सहयोगका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ”, उनले भने, “भारतबाट भित्रिने जिल्लावासीको सङ्ख्याअनुसार उनीहरुलाई राख्ने क्वारेन्टिनको व्यवस्था गर्नसमेत स्थानीय तहलाई आग्रह गरिएको छ ।”

समितिले भारतलगायत मुलुकबाट रोजगार गुमाएर घर फर्कने नेपालीलाई गाउँमा व्यवस्थापन गर्न तयारी थाल्न पनि आग्रह गरेको छ । रोजगार गुमाएर आएका नागरिकका लागि गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने अवस्था आएकाले त्यसको तयारीका लागि अध्ययन थाल्न आग्रह गरिएको संयोजक चाम्लिङले बताए । समितिले यही जेठ २० गतेभित्र विदेशबाट फर्कने नागरिकको सङ्ख्या, उनीहरुलाई दिन सकिने रोजगार, स्थानीय स्रोत साधन तथा खनिज स्रोतको पहिचान गर्न आग्रह गर्ने निर्णय गरेको छ । यस्तै हाल भइरहेका विकास निर्माणका काम, थप गर्न सकिने विकासका सम्भावित कार्य, कृषियोग्य जमिन, खाली जमिन, उत्पादन गर्न सकिने सम्भावना, कृषि, पशुपालन, फलफूल खेती, नगदेबालीको अवस्था, सम्भाव्यता बोकेका आयमूलक व्यवसायका बारेमा अध्ययन गर्न आग्रह गरिएको छ ।

समितिले आ–आफ्नो पालिकामा सञ्चालित एम्बुलेन्स तथा एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने सवारी साधनसमेत तयारी अवस्थामा राख्न स्थानीय तहलाई आग्रह गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण जिल्लामा पनि फैलन सक्ने भन्दै सङ्क्रमितलाई तत्काल उपचारमा पठाउन एम्बुलेन्स तथा सवारी साधन तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा प्राप्त भएको र बाँकी रहेको पिसिआर भिटिएम मापदण्ड, आवश्यकता र प्राथमिकताका आधारमा जिल्लाका १० वटै स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरिएको छ । सङ्क्रमित क्षेत्रलाई प्राथमिकता दिएर भिटिएम उपलब्ध गराउने, यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गर्ने, पिसीआर परीक्षणका लागि सङ्कलन गरिएका स्वाब ल्याबमा पु¥याउने क्रममा लाग्ने यातायातलगायतको व्यवस्थापन सम्बन्धित स्थानीय तहमार्फत गराउने निर्णय गरिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २० वर्षीय एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गत सोमबार सङ्क्रमण पुष्टि भएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका उनको अहिले प्रादेशिक अस्पताल विराटनगरमा उपचार भइरहेको जनाइएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्धार गरेर ल्याइएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको नगरप्रमुख इवन राईले बताउनुभयो । उनीसँगै बसमा आएका र उनको परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप