मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ट्वीटरद्वारा पहिलो पटक ट्रम्पको ट्वीटलाई ‘गलत दाबी’: रिसाएका डोनल्ड भन्छन्, ‘राष्ट्रपति हुँ, यस्तो हुन दिन्नँ’

बुधबार, १४ जेठ २०७७, १३ : ०६
बुधबार, १४ जेठ २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटलाई ट्वीटरले पहिलो पटक फ्याक्ट चेकका लागि चिन्ह लगाएको छ ।

राष्ट्रपति ट्रम्पको दुईवटा ट्वीटमा ट्वीटरले तथ्य जाँचको सूचक  राखेको छ ।

एक ट्वीटमा उनले लेखेका थिए, ‘मेल इन ब्यालट (हुलाकमार्फत् हुने चुनाव) मा धाँधली हुने पूरा सम्भावना छ । मेल बक्सको चोरी गर्न सकिन्छ । यसमार्फत् नक्कली मतदान गर्न सकिन्छ र त्यसपछि यसलाई अवैध तरिकाले प्रिन्ट गरेर पनि पठाउन सकिन्छ ।’

ट्वीटरले ट्रम्पका दुई ट्वीटमा फ्याक्ट चेकिङको नोटिफिकेशन लगाइदिएको छ । ट्रम्पको उक्त ट्वीटको नोटिफिकेशनमा लेखिएको छ, ‘पोस्टल मतदानसँग जोडिएको तथ्यबारे थाहा पाउनुहोस् ।’

 यसमा राष्ट्रपति ट्रम्पले कडा प्रतिक्रिया दिएका छन् । उनले ट्वीटरलाई ट्वीटमार्फत् नै जवाफ दिएका छन् । उनले भनेका छन्, ‘ट्वीटरले अभिव्यक्ति स्वतन्त्रता अधिकारको घाँटी अँठ्याएको छ ।’

ट्रम्प यतिमा मात्रै रोकिएनन् । उनले सोसल मिडिया प्लेटफर्म ट्वीटरलाई राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लगाए ।

ट्रम्पले ट्वीट गरेर भने, ‘अब ट्वीटरले सन् २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गरिरहेको छ । उसका अनुसार पोस्टल मतदानमाथिको मेरो बयानले भ्रष्टाचार र धाँधलीलाई वृद्धि गर्न सक्छ । यसका लागि उसले सीएनएन र वासिङ्टन पोस्टको एउटा फ्याक्ट चेकिङ स्टोरीलाई आधार मानिरहेको छ । अमेजन समर्थित वासिङ्टन पोस्ट र गलत समचार फैलाउने सीएनएनलाई आधार मानिरहेका छन् ।’

‘ट्वीटरले वाक स्वतन्त्रतालाई पूर्ण रुपमा प्रतिबन्धित गरिरहेको छ र राष्ट्रपति भएको नाताले म यस्तो हुन दिन्नँ ।’

ट्वीटरले के भन्दैछ ?

राष्ट्रपति ट्रम्पको ट्वीट मुनी ट्वीटरले जुन नोटिफिकेशन राखिएको छ त्यसले प्रयोगकर्तालाई एउटा यस्तो पेजमा लैजान्छ जहाँ पोस्टल ब्यालेटको विषयमा गरिएको राष्ट्रपति ट्रम्पको दाबीलाई तथ्य विपरित बताइएको छ ।

ट्वीटरले राष्ट्रपति ट्रम्पको दाबीलाई झुटो देखाउनका लागि सीएनएन, वासिङ्टन पोस्ट र अन्य समाचार एजेन्सीको सहारा लिएको छ ।

फ्याक्ट चेक गर्ने व्यक्तिहरुलाई उद्धृत गर्दै ट्वीटरले पोस्टल ब्यालेटमार्फत् मतदातामाथि धोका हुनसक्ने कुराको कुनै प्रमाण नभेटिएको बताएको छ ।

ट्वीटरले ट्रम्पको ‘क्यालिफोर्निया राज्यमा बस्ने जो सुकै व्यक्तिलाई पनि पोस्टल ब्यालेट पठाउन सकिन्छ र पोस्टल ब्यालेट पाउने व्यक्ति जो सुकै भए पनि फरक पर्दैन’ भन्ने ट्वीट पनि गलत भएको बताएको छ ।

वास्तवमा, रजिस्टर्ड भोटरले नै पोस्टल ब्यालेट हासिल गर्न सक्छन् ।

एनबीसी न्यूजलाई उद्धृत गर्दै ट्वीटरले अमेरिकाका पाँच राज्यमा चुनाव पूर्ण रुपमा पोस्टल ब्यालेट गर्ने निर्णय गरिएको बताएको छ । केही राज्यले यसका लागि सुविधा दिने निर्णय पनि गरेको छ ।

ट्वीटरले भ्रामक र गलत जानकारी दिने ट्वीटलाई चिन्ह लगाउने काम गरिरहने बताएको थियो तर राष्ट्रपति ट्रम्पको ट्वीटमाथिको कारवाही गर्न ट्वीटर निकै सुस्त रहेको छ ।

ट्रम्पको राष्ट्रपति चुनाव अभियान सम्हालिरहेको ब्रेड पास्केलले ट्वीटरको यो कदमको आलोचना गरेका छन् ।

उनले भने, ‘ट्वीटरले गलत समाचार फैलाउने फ्याक्ट चेकर्ससँग साझेदारी गरिरहेको छ । यो उसको राजनीतिक षड्यन्त्र हो । हामीले केही महिना अघि ट्वीटरबाट आफ्नो सबै विज्ञापन फिर्ता लिएका थियौं ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप