मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोना सङ्क्रमितलाई वर्गीकरण गरी उपचार गरिने

बुधबार, १४ जेठ २०७७, १५ : ११
बुधबार, १४ जेठ २०७७

मोरङ । कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने तयारी शुरु गरेको प्रदेश सरकारले जनाएको छ । 

सरकारले बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै ४५० श्यया (बेड) को आइसोलेसन उपचार केन्द्र निर्माणकार्यलाई तीव्र पारेको छ । कोरोना सङ्क्रमित वृद्धि भएसँगै उनीहरुको वर्गीकरण गरेर उपचार गर्ने तयारी शुरु गरिएको छ । प्रदेशमा यसअघि कोभिड–१९ उपचार केन्द्रका रूपमा  विराटनगर र सुनसरीको धरानमा सञ्चालन गरिसकेको छ । यस्तै मेची अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल तयार शुरु गरिँदैछ ।
 
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँ, झापाको दमक, सुनसरीको वराहक्षेत्र र नेपाली सेनाको पूर्वी पृतना इटहरीमा गरी ४५० बेडको आइसोलेसन उपचार केन्द्र तयार गर्ने काम भइरहेको जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीको मङ्गलबार भएको अनलाइन संवादमा मन्त्री घिमिरेले सो जानकारी दिएका हुन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको उपचारलाई वर्गीकरण गर्ने तयारी गरिएको उनले बताए । मन्त्री घिमिरेले भने, ‘कोरोना लक्षण देखिएकालाई अस्पतालमा र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन उपचार केन्द्रमा राखिनेछ ।’ सङ्क्रमितको उपचार वर्गीकरण गरेर गर्ने गरी आवश्यक मार्गदर्शन र निर्देशिका प्रदेश सरकारले तयार गरिसकेको उनले बताए । प्रदेशमा पुल विधिबाट कोरोना परीक्षणको काम शुरु भएको जानकारी दिँदै परीक्षणको क्षमता बढेसँगै आवश्यक सामग्रीको भने अभाव भएको उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री  ढकालको ध्यानाकर्षण गराएका थिए ।

प्रदेशमा जेठ र असार भित्रमा ७० हजारको पिसीआर परीक्षण गर्ने गरी सरकारले काम गरिरहेको मन्त्री घिमिरेको जानकारी दिए । उनले ४० हजार प्रदेशवासी र ३० हजार भारतबाट आउनेको परीक्षण गर्ने तयारी शुरु गरिएको र पिसीआर परीक्षणको क्षमता बढाएसँगै किट अभाव भएको बताए । प्रदेशमा कन्टयाक्ट टे«सिङ, टेष्टिङ र ट्रिटमेन्ट गर्ने टिम अलर्ट रहेको मन्त्री घिमिरे बताउँदै कोरोना सङ्क्रमितको उपचार कोभिड अस्पतालबाट केन्द्रित गर्दा सरकारी अस्पतालले नियमित सेवा दिन सकेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप