बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बजेट आज : अर्थमन्त्रीले मेटाउलान् आफूमाथि लाग्ने तीन आरोप ?

बिहीबार, १५ जेठ २०७७, ०८ : ४०
बिहीबार, १५ जेठ २०७७

आज देशले आगामी आर्थिक वर्षको  (२०७७÷७८)  बजेट पाउँदैछ । वार्षिक आयव्ययको अनुमान (बजेट) अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको दुवै सदनमा पेश गर्नेछन् । उनकै कार्यकालको यो तेस्रो बजेट पनि हो । अर्थमन्त्री बने लगत्तै देशले अर्थतन्त्रको विज्ञलाई अर्थमन्त्रीको रुपमा पाएको प्रति आम मानिसहरु खुसी भए  । तर जुन अपेक्षाका साथ अर्थमन्त्रीलाई हेरिएको थियो, कार्यप्रगति त्यसअनुरुप हुन नसकेपछि उनीप्रति निराश हुँदै गए ।

उनको विवाद श्वेतपत्रदेखि शुरु भयो । आफू अर्थमन्त्री बने लगत्तै देशको अर्थतन्त्र टाट पल्टिएको श्वेतपत्र जारी गरेका अर्थमन्त्री तक्कालिन समयमा श्वेतपत्रकै विषयमा निकै आलोचित बने । राम्रा कामहरु नदेखाएर नराम्रो विषयमात्र उठान गरेको र पछि राम्रो कामको जस आफूले लिन खोजेको उनीमाथि आरोप लाग्यो ।  व्यापक विरोध हुन थालेपछि त्यसको जवाफमा उनले डाक्टरले औषधी रोग र दुखाइकै आधारमा दिने भन्दै आफुले कमजोर पक्षमात्र श्वेतपत्रमा उल्लेख गरिएको बताए, ताकी सुधार गर्न सजिलो होस् ।

कर्मचारीकै हिसाबले ३० वर्षको कार्य अनुभव, राष्ट्रिय योजना आयोगको सदस्य,  उपाध्यक्ष, ५ वर्ष राष्ट्र बैङ्कको गभर्नरको अनुभवले मुलुकको अर्थतन्त्रका कुन अव्ययले कसरी काम गर्छन् भन्ने जानकारी उनलाई छ । तैपनि उनमाथि यस्तो आरोप लाग्ने गरेको छ ।  आलोचना त्यसैको गरिन्छ, जोसँग बढी अपेक्षा गरिन्छ । अर्थतन्त्र बिग्रँदै गएका बेला आएका अर्थमन्त्री खतिवडाको योबीचको आलोचना त्यसैको सङ्केत हो ।

सेयर विरोधी अर्थमन्त्री : 

अर्थमन्त्री डा. युवराज खतिवडाको आगमनलाई सेयर बजारमा खासै रुचाइएन । सेयर बजारले डा. खतिवडालाई अर्थमन्त्री पाएयता राम्रो गति लिन नसकेको आरोप छ । अर्थमन्त्रीले बेलाबेलाको भाषणमा प्रयोग गरिने शब्दलाई  सेयर बजार घट्नुको कारण मान्छन् केही लगानीकर्ता  । यद्यपि सेयरबजार विरोधी अर्थमन्त्रीको उपमा व्यापक भएपछि पछिल्ला समय डा. खतिवडा सेयरबजारप्रति सकारात्मक टिप्पणी गर्न थालेका छन् ।

कर मन्त्री :

उनलाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्दा विभिन्न तहमा आम सर्वसाधारणले बरु कर मन्त्रीमा नियुक्त गरेको भए हुने थियो भनेर आलोचना गरे । अर्थमन्त्री खतिवडालाई  बढी राजस्वमुखी भएको आरोप लाग्दै आएको छ । व्यापारिकघरानादेखि सर्वसाधारणसम्म खतिवडाले करको भारले थिचेको आरोप लगाए । यद्यपि, अर्थमन्त्रीले वर्तमान कर नीति प्रगतिशील कर नीति रहेको भन्दै आएका छन् । उनले थोरै कमाउनेलाई थोरै कर र धेरै कमाउनेलई धेरै कर तिर्ने गरी बजेटबाट प्रगतिशील कर प्रणालीको सुरुवात गरेको दाबी गरे । यद्यपि यसको पनि विरोध भयो ।

जनअभिमत थाहा नभएको व्यक्ति :

उनी पहिलोपटक अर्थमन्त्री हुँदा नै नेकपाभित्रै टेक्नोक्र्याटलाई अर्थमन्त्री बनाएको भन्दै व्यापक विरोध भयो । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा एमाले)कै उच्च वरियतामा रहेकालाई छाडेर आफ्नै गृह जिल्लावासी ‘टेक्नोक्य्राट’ खतिवडालाई २०७४ फागुन १४ गते सङ्घीय सरकारको अर्थमन्त्रीमा नियुक्त गरी अर्थतन्त्रको साँचो सुम्पिँदा पार्टीभित्र तीव्र आलोचना भयो । तर पनि बाहिर उनको प्रशंसा गरिएको थियो । आफ्ना निश्चित मान्यता र अनुशासनका कारण भरोसायोग्य व्यक्तिका रुपमा हेरिएका खतिवडाले एक वर्षलाई आफू अनुकूल बनाउन प्रयत्न गरे तर विविध परिस्थितीले उनलाई साथ दिएन । उनको पहिलो बजेटमा वृद्धवृद्धालाई ५ हजार भत्ता दिने कुरा नभएपछि उनी राजनीतिक चरित्रका व्यक्ति नै होइनन् भन्दै आलोचना सुरु भयो । उनका दुई बजेट विवदारहित रहेनन् । यद्यपि कुनैपनि सरकारको बजेटमा विपक्षीबाट आलोचना सधैँ हुने गर्छ ।

शक्तिशाली वामपन्थी सरकारको भविष्य निर्धारण गर्ने खतिवडाले ल्याएका बजेटले पनि खर्च गर्न नसक्ने परम्परालाई निरन्तरता दियो । विज्ञ अर्थमन्त्रीले विकास खर्च सुधार्ने आशा गरिएपनि त्यसमा उनी चुकेका छन् । यद्यपि सफल अर्थमन्त्रीको उपमा लिने अवसर अझै उनलाई छ । बजेटमा गरिएको घोषणा र त्यसको कार्यान्वयन निकै महत्त्वपूर्ण हुन्छ । आज आउने बजेटले यी आरोप मेट्ला वा आरोपको लिस्ट बढ्ला त्यो हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप