शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेटको इतिहासः बिर्सनै नसकिने गरी यस्ता नजिर पनि स्थापित भएका थिए

बिहीबार, १५ जेठ २०७७, १४ : ४२
बिहीबार, १५ जेठ २०७७

काठमाडौँ । यतिखेर आम नेपाली बजेटको व्यग्र प्रतीक्षामा छन् । अबको केही घण्टा भित्रनै मुलुकले आगामी आर्थिक वर्ष २०७७ /७८ को अनुमानित आय व्ययसहितको बजेट पाउँदैछ । संघीय सरकारले आज साँझ ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आ.ब को बजेट पेश गर्दैछन् ।

सरकारले ल्याउँदै गरेको बजेट मुलक पूर्णतः लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि जनआदेश प्राप्त दुईतीहाई सहित बनेको कम्युनिष्ट सरकारको तेस्रो बजेट हो ।

यस अघि दुईपटक २०७५ /७६ र ७६ /७७ को बजेट ल्याइसकेको सरकार र स्वयम् अर्थमन्त्री डा. खतिवडाले अहिले तेस्रो पटक ल्याउँदै छन् । २०७५ /७६ का लागि पहिलो बजेट ल्याएका डा. खतिवडाले १३ खर्ब बराबरको बजेट प्रस्तुत गरेका थिए भने, दोस्रो बजेट २०७६ /७७ का लागि १५ खर्ब ३० अर्ब बराबरको बजेट ल्याएका थिए ।

तर, अहिले तेस्रो बजेट ल्याउँदै गरेका अर्थमन्त्रीले पोहोरकै हारहारीमा बजेट ल्याउँदै गरेको स्रोतको जानकारी छ ।

आगामी आर्थिक वर्ष २०७७ /७८ को बजेट आउँदै गर्दा एकपटक मुलुकको बजेटको इतिहासलाई हेरौँ । कहिलेबाट नेपालमा बजेटको सुरुवात भयो र कसले सुरुवात गरे भन्ने कुरा जानकारीमा लिउँ ।

नेपालको बजेटको इतिहास त्यति धेरै लामो छैन । राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै बजेटको इतिहास सुरु हुन्छ । वि.सं. २००८ सालमा मुलुकले पहिलो बजेट पाएको थियो । सो बजेट सुवर्ण शमशेरले प्रस्तुत गरेका थिए । त्यतिबेलाको बजेट जम्मा ५ करोड २५ लाख रुपैयाँको थियो । सवा ५ करोडबाट सुरु भएको बजेटको आकार पछिल्ला दिनमा बढ्दै गयो । आगामी बजेट झण्डै १६ खर्बको हाराहारीमा आउने अनुमान छ । हरेक बजेट जसले सम्पूर्णलाई सन्तुष्टि दिनसकेको इतिहास अहिलेसम्म छैन । यद्यपि अहिलेको बजेटले त झन् सबैले चित्त नबुझाउने पक्का पक्की नै छ । कारण कोरोनाको महामारीका बीच आउँदै गरेको बजेटमा प्राथमिकताका क्षेत्रहरुमा पहिचान गर्न नसकेको भन्दै बजेटको नीति तथा कार्यक्रममा नै व्यप्त असन्तुष्टिहरु जाहेर भइसकेका छन् ।

केहि वर्षका बजेटहरु यस्ता रहे की बजेटप्रति असन्तुष्टि मात्र होइन बजेट प्रस्तुतमा नै हङ्गामा भएको इतिहास छ । बजेट विवादित बन्दा असन्तुष्ट्रि पोख्ने मात्र नभएर बजेट पेस गर्दै गरेको संसदमा ब्रिफकेस खोस्नेदेखि च्यात्नेसम्ममा घटनाहरु घटेका नजिरहरु छन् । २००८ देखि २०७७ /७८ सम्म आइपुग्दा बजेट पेसमा भएका विवाद र आक्रमणका घटनाहरु खोज्ने प्रयास गरेका छौं ।

विवादित बजेट २०६६ /६७

अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस खोसियो

अर्थमन्त्री सुरेन्द्र पाण्डेको पालामा पेस भएको बजेट निकै विवादित थियो । तात्कालीन नेकपा एमालेका तर्फबाट अर्थमन्त्री बनेका पाण्डेले आर्थिक वर्ष २०६६ /६७ को बजेट ल्याएका थिए । यसै समयमा मन्त्री पाण्डेले प्रस्तुत गरेको बजेटमा ठूलै हुलदङ्गा मच्चियो । विवादित बजेटका विरुद्ध तत्कालीन एनेकपा माओवादीका सांसदहरु अर्थमन्त्री पाण्डेमाथि आक्रमणमा उत्रिएका थिए । उनीहरुले मन्त्रीको हातबाट बजेटको ब्रिफकेस खोस्नेदेखि मन्त्रीलाई नै सोही ब्रिकेसले प्रहार समेत गरे । जसबाट पाण्डेलाई सामान्य चोट समेत लाग्न पुगेको थियो ।

विवादित बजेट २०४७ /४८

महेश आचार्यको बजेटमा अर्ब हुनुपर्ने ठाउँमा करोड भएपछि

अर्थमन्त्री महेश आचार्यको पालामा पनि बजेट विवादरहित रहेन । बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि गठन भएको कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारको अर्थमन्त्री बनेका महेश आचार्यले २०४७ /४८ को बजेट ल्याएका थिए । उक्त बजेटमा एक अङ्कको फेरबदल हुँदा संसदमा ठूलै हङ्गामा मच्चिएको थियो । बजेट विनियोजनको एक शीर्षकमा अर्ब हुनुपर्ने ठाउँमा करोड हुँदा सांसदहरु विरोधमा उत्रिएका थिए । अर्थविद् केशव आर्चायका अनुसार सो बजेटमा अङ्कको पछाडिको सुन्नामा गल्ती भएको थियो । यसै विषयलाई लिएर संसद्मामा होहल्ला मच्चिँदा मन्त्री आचार्यले संयमित हुँदै कोही पनि कर्मचारीलाई दोष नदिइ, आफैले गल्ती स्वीकार्दै माफी मागेका थिए ।

विवादित बजेट 

भरतमोहन अधिकारीको बजेट पढ्नुअघि नै लिक

मुलुकमा २०५१ सालमा बहुमतसहितको पहिलो कम्युनिस्ट सरकार बनेको थियो । कम्युनिस्ट सरकारका अर्थमन्त्री बनेका भरतमोहन अधिकारीले २०५०/५१ मा ल्याएको बजेट सामाजिक सुरक्षामा केन्द्रित नेपालको पहिलो बजेट थियो । यसै समयमा वृद्धभत्ता जस्ता लोकप्रिय सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको थिए । यसै कार्यक्रममार्फत भरतमोहन अधिकारी मात्र नभएर सिङ्गो पार्टी नै लोकप्रिय बन्न पुग्यो । यस्तो लोकप्रिय बजेटमा पनि केही विवाद देखियो । उनले संसदमो बजेट पेस गर्दैगर्दा वेभसाइटमा लिक भएको भन्दै विवादित भयो ।

बजेटको महत्त्वपूर्ण भाग मानिएको करको विषयसमेत मन्त्री अधिकारीले संसदमा पेस गर्नु अगावै लिक भएको थियो । जुन समयमा बजेटको गोपनीयता भङ्ग भएको भन्दै विरोध गरिएको थियो । यसै विषयलाई लिएर अर्थ मन्त्रालयका तत्कालीन अर्थसचिवले राजीनामा समेत दिएका थिए ।

गैरराजनीतिक व्यक्तिबाट मुलुकको तस्रो बजेट

तेस्रो पटक मुलुकका लागि बजेट ल्याउँदै गरेका अर्थमन्त्री गैरराजनीतिक पृष्ठभूमीबाट आएका व्यक्ति हुन् । ओली सरकारको तर्फबाट वि.सं. २०७४ साल जेठ २४ गतेबाट मनोनित सदस्यमार्फत् अर्थमन्त्री बनेका अर्थमन्त्री खतिवडाले आज तेस्रो पटक २०७७ /७८ को बजेट ल्याउँदैछन् ।

अर्थमन्त्री बने लगत्तै देशले अर्थतन्त्रको विज्ञलाई अर्थमन्त्रीको रुपमा पाएको प्रति आम मानिसहरु खुसी भए  । तर जुन अपेक्षाका साथ अर्थमन्त्रीलाई हेरिएको थियो, कार्यप्रगति त्यसअनुरुप हुन नसकेपछि उनीप्रति निराश हुँदै गएका छन् । यस अघि दुई पटक बजेट ल्याइसकेका मन्त्री खतिवडाको बजेट त्यति धेरै विवादित नभएपनि अविवादित भने रहेनन् । 

पहिलो बजेटबाट पार्टी भित्रैका नेतालाई चिढ्याएका अर्थमन्त्रीले दोस्रो बजेटमा कर बढाएर निजी क्षेत्र र जनतामा ढाड सेक्ने काम गरेको भन्ने आरोप लाग्ने गरेको छ । यसै विवादका बीच तेस्रो पटको बजेट समेत ल्याउँदै गरेका अर्थमन्त्रीयले अझ कोरोनाको महामारीका बीच ल्याउँदै गरेका बजेट कस्तो रहला ? त्यो भने अबको केहि घण्टामा नै थाहा पाउने छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप