शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजार नपाएपछि तरकारी बारीमै चल्यो ट्र्याक्टर

शुक्रबार, १६ जेठ २०७७, १० : ०८
शुक्रबार, १६ जेठ २०७७

लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन् । 

खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव सापकोटाले तरकारी बिक्री नभएपछि खेतमा ट्र्याक्टर लगाएर जोताउन बाध्य भएको बताए । यसपटक लकडाउनले गर्दा बजार मूल्य नपाएपछि सापकोटाले भिन्डीबारी जोताएका हुन् । 

उनले सात कठ्ठा जग्गामा भिन्डी लगाएका थिए । वैशाख महिनामा उनले रु १२ हजारको मात्र भिन्डी बिक्री गरेको बताए । 

त्यसयता उनको भिन्डीले बजार पाएको छैन । लकडाउन लम्बिँदा प्रायः धेरै किसान मारमा परेका छन् । सापकोटाले आफ्नो परिश्रमबाहेक सात कठ्ठामा रु  ६५ हजार खर्च गरेर भिन्डी लगाएको जानकारी दिए । उनले भने “शुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजानसमेत मान्दैनन् ।” 

बोटमा छिप्याएर राख्नुभन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठानेर तरकारीसहित बारी जोतेको उनको भनाइ छ । बाह्र वर्षअघि प्रतिकिलो रु दुईमा झरेपछि उनले त्यो बेला पनि तरकारीसहितको बारीमा ट्र्याक्टर लगाएका थिए । 

अर्का किसान कृष्णप्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आएका छन् । त्यसमध्ये छ कठ्ठामा भिन्डी खेती गरेका छन् । अन्य तरकारीले बजार पाए पनि भिन्डीले भने मूल्य नपाउँदा उनी  निरास छन् । 

भिन्डीसँगै जोडिएको जग्गामा मकैखेती गरेकाले एकैपटक जोत्ने तयारीमा उनी भन्छन् । विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती शुरु गरेका कृष्ण यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गर्थे ।
 
तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने उहाँको भनाइ छ । उनीहरुले स्थानीय ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामार्फत तरकारी बिक्री गर्दै आएका छन् । 

सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी सङ्कलनको काम बन्द भएको बताए। यहाँ उत्पादन भएको तरकारीको मुख्य बजार नारायणगढ, काठमाडौं र पोखरा हो । अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भने, “बिचौलिया हाबी हुँदा तरकारीले उचित मूल्य पाउन नसकेको हो ।”

सो क्षेत्रमा अहिले ३०० किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नं १ बाट मात्रै वार्षिक रु नौ करोडको तरकारी उत्पादन हुँदै आएको छ । यहाँ भिन्डी, बोडी, बन्दा, काउली, गोलभेँडालगायत तरकारी खेती हुँदै आएको छ । गत वर्ष पनि यस क्षेत्रका किसानले उत्पादन गरेको तराकारीले बजार नपाएपछि खेतमै जोताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप