रुकुम घटना: छानबिन समितिद्वारा काम शुरु
जाजरकोट । सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी –११ का गोविन्द शाही अझै बेपत्ता छन् ।
समितिलाई दलित अधिकारकर्मी सङ्घ र सङ्गठनले निष्पक्ष छानबिन गर्न माग गर्दै छ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन् । उक्त ज्ञापनपत्र बुझ्दै संयोजक बस्नेतले सरकारले दिएको कार्यादेशका आधारमा काम हुने बताए । उनले तोकिएको समयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइनेसमेत जानकारी दिए ।
गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको र हराएकाहरुको खोजी जारी रहेको सन्देश पठाएकोसमेत संयोजक बस्नेतले जानकारी दिए । शव हेरेर मात्र अनुसन्धान गर्नुपर्ने पीडित परिवारको मागअनुसार अनुसन्धान थालिएको उनको भनाइ छ ।
आज नै उक्त टोली रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिए । सो समितिमा गृहमन्त्रालयका सहसचिव बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ठ घिमिरे र उपसचिव माधव ढकाल छन् । यही जेठ १० गते चौरजहारी –८ सोतीमा भएको सो घटनामा नवराज, टीकाराम, गणेश , लोकेन्द्र र सञ्जुको शव भेरी नदीका विभिन्न स्थानमा फेला परेको छ भने अर्का एक गणेश शाहीको खोजी जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा