शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाको एउटा प्रस्तावले एकीकरणमा लाग्यो ब्रेक

शुक्रबार, १६ जेठ २०७७, १९ : २२
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच सैद्धान्तिक रुपमा एकीकरण घोषणा भएको एक महिना ६ दिन भइसकेको छ तर हालसम्म कसको नाममा पार्टी दर्ता हुने सहमति नहुँदा एकीकरण प्रकृयामा नै ब्रेक लागेको छ । बैशाख १९ गते मध्यरातमा भएको एकीकरणको घोषणा बारे त्यसको भोलिपल्ट नै निर्वाचन आयोगलाई जानकारी गराउँदै निवेदन दर्ता गराइएको थियो । पार्टी चाँडै एकीकरण गर्ने भनेर दुवै पार्टीले आ–आफ्नो पार्टीका केन्द्रीय सदस्यहरुको हस्ताक्षर समेत संकलन गरिसकेका छन् तर कसको नृतवमा पार्टी एकीकरण गर्ने भन्ने कुरा नमिलेपछि एकीकरण प्रकृयामा ब्रेक लागेको हो ।

पार्टी दर्ता गराउनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर तयारी अवस्थामा छ । तर समाजवादी पार्टीले राखेको प्रस्तावलाई राजपा नेपालले मानेको छैन । महन्थ ठाकुरलाई बरियताक्रमको एक नम्बरमा राखेर संरक्षक बनाउने, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादवलाई केन्द्रीय समितिको अध्यक्ष राखेर पार्टी दर्ता गराउने प्रस्ताव समाजवादी पार्टीले गरेको थियो । तर राजपा नेपालका नेताहरुले त्यसलाई अस्वीकार गरी अर्को प्रस्ताव पठाए ।

राजपाका नेताहरुले महन्थ ठाकुरलाई पार्टीको कार्यकारी अध्यक्ष र डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षको प्रस्ताव गरेका छन् । यद्यपि,उनीहरुले संघीय परिषद्को अध्यक्षमा समाजवादी पार्टीबाट उपेन्द्र यादव भएपनि हुने प्रस्ताव गरेका थिए । तर त्यो प्रस्ताव समाजवादी पार्टीलाई पनि स्वीकार भएन । समान हैसियतको आधारमा पार्टी एकीकरण हुने सहमतिअनुसार दुवै पार्टीबाट एक एकजना राखेर पार्टी दर्ता गराउन राजपा नेपालको दवाव छ । समान हैसियतका आधारमा पार्टी एकीकरण गर्ने भए पनि समाजवादी पार्टीमा के गर्ने नगर्ने विषयमा अन्योल रहेको छ । महन्थ ठाकुरपछि उपेन्द्र यादवलाई राख्ने कि बाबुरामलाई राख्ने कुरामा समाजवादी पार्टीमा असमञ्जस्यता देखिन्छ । 

राष्ट्रिय पार्टी बनाउन त्यसअनुसारको अनुहार देखाउनका लागि डा.बाबुराम भटट्राई पनि छोड्न नसकिने अवस्था सृजना भएको छ भने अर्कोतिर मधेश आन्दोलन र मधेशको संगठन लगायतका विषय लिएर उपेन्द्र यादवलाई पनि छोड्न नमिल्ने अवस्था समाजवादी पार्टीमा सृजना भएको छ ।  राजपा नेपालले गरेको प्रस्तावको जवाफ समाजवादी पार्टीले दिन सकेको छैन । अहिले दुवै पार्टीको बीचमा पार्टी एकीकरणको बारेमा कुनै छलफल समेत हुन सकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप