शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आन्दोलनकारीलाई गोली हान्ने ट्रम्पको चेतावनी, उग्र प्रदर्शनकारीले लगाइदिए पुलिस चौकीमा आगो

शुक्रबार, १६ जेठ २०७७, २० : ४५
शुक्रबार, १६ जेठ २०७७

प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लाइड नामका निहत्था अश्वेत व्यक्तिको सोमबार मृत्यु भएपछि अमेरिकाको मिन्नेसोता राज्यस्थित मिन्नियपोलिसमा लगातार विरोध प्रदर्शन भइरहेको छ । यसै क्रममा आन्दोलनकारीले प्रहरी चौकीमा आगो लगाइदिएका छन् । आन्दोलनकारीहरुले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई मृत्युदण्ड दिनुपर्नेसम्मको माग राखेका छन् । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलनकारीलाई गोली हान्ने चेतावनी दिएका थिए । ‘यी ठग्सहरुले जर्ज फ्लोइडको संझनाको अपमान गरेका छन् र म त्यस्तो हुन दिन्न । भर्खरै गर्भनर टिम वाल्ससँग कुरा गरेको छु र सैनिक उनीसँगै छ भनेको छु । कठिनाईमा हामीले नियन्त्रण कायम गर्नेछौं । तर जब लुट सुरु हुन्छ, तब गोली प्रहार सुरु हुन्छ, धन्यवाद् ,’ट्रम्पले ट्वीट गरेका थिए । 

ट्वीटरसँग युद्ध 

ट्रम्पको यो कडा ट्वीटले हिंसालाई मलजल गरेको र ट्वीटरको नियम उल्लंघन गरेको भन्दै सार्वजनिक भएको केही समयलगत्तै ट्वीटरले लुकाइदिएको थियो । तर, ट्वीटरले दिएको सावधानीयुक्त सन्देश पढिसकेपछि पनि ट्वीट हेर्न चाहनेहरुले हेर्नसक्छन् ।

तर ट्वीटरले यसरी सावधानी सन्देश  जारी गरेपछि ट्रम्प ट्वीटरविरुद्ध नै खनिए । उनले गरेको अर्को ट्वीट यस्तो छ, ‘अतिवादी डेमोक्रेट पार्टी वा चीनका सबै झुठ र प्रापोगान्डाबारे ट्वीटरले केही गर्न सकेको छैन । उनीहरुले रिपब्लिकन, कन्जरभेटिभ्स र अमेरिकाका राष्ट्रपतिलाई निशाना बनाएका छन् । कंग्रेसले सेक्सन २३० स्थगित गर्नुपर्छ । त्यतिबेलासम्म यो कायमै रहनेछ ।’

मृत्युदण्डको माग 

जर्ज फ्लोइडको सोमबार प्रहरी नियन्त्रणमै छँदा मृत्यु भएको थियो,त्यसयता अमेरिकामा निरन्तर आन्दोलन भइरहेको छ ।  मिन्नेसोता, मिन्नियपोलिसस्थित सडकमा लडेका यी व्यक्तिको घाँटीमा एक स्वेत प्रहरी अधिकारीले केही मिनेटसम्म आफ्नो घुँडाले थिचेका थिए, यो भिडियो अहिले भाइरल छ । अन्य तीन स्वेत प्रहरी अधिकारी पनि भिडियोमा देखिएका छन् । 

भिडियोमा फ्लोइडले अधिकारीहरुसँग याचना गरिरहेको देख्न सकिन्छ । आफ्नो शरीर चल्न छाड्नुअघि उनले ‘मैले सास फेर्न सकिँन’ भन्दै चिच्याएका छन् । यस घटनापछि फ्लोइडलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरियो ।

घटनामा संलग्न चार प्रहरी अधिकारीहरुलाई तत्कालै बर्खास्त गरियो । तर, फ्लोइडको परिवार, छिमेकी र अस्वेत समुदायका अगुवाहरुले उनीहरुविरुद्ध आपराधिक मुद्दा दायर गर्नुपर्ने र मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । ‘ यी अधिकारीहरुलाई तत्कालै पक्राउ गर्नुपर्छ र मानिसले तत्कालै न्याय चाहेका छन्,’ जर्जका भाई फिलोनेस फ्लाइडले सिएनएनसँग बिहीबार बिहान भनेका थिए,‘उनीहरुमाथि अभियोग चलाउनुपर्छ र मृत्युदण्डको सजाय हुनुपर्छ ।’

मिन्नियपोलिसमा न्याय माग्दै लगातार प्रदर्शन भइरहेको छ । आन्दोलनकारीहरुले अस्वेत जातीमाथि हुने गरेका हिंसा रोक्न अपराधिलाई कडा सजाय दिनुपर्ने, प्रहरी दमन र रंगभेद अन्त्य हुनुपर्ने माग गरेका छन् ।
यसअघि बिहीबार दिउँसो केही प्रदर्शनकारीले फ्लोइडको घटना हेरिरहेका सरकारी अधिवक्ता माइक फ्रिम्यानको हेन्नीपिन काउन्टीस्थित घरबाहिर प्रदर्शन गरेका थिए । उनीहरुले चारैजना प्रहरी अधिकारीमाथि आपराधिक मुद्दा दायर नभएसम्म प्रदर्शन जारी रहने जनाएका थिए । 

फ्रिम्यानको कार्यालयले बिहीबार विज्ञप्ती जारी गर्दै ‘पछिल्लो भिडियोमा जे देखियो, त्यसबाट स्तब्ध र दुखित भएको’ जनाएको थियो । यस कार्यालयले मिन्नेसोता अपराधि ब्युरो र एफबिआईको छानविन पूर्ण भएपछि  मुद्दा अघि बढाउनेबारे निर्णय लिने जनाएको छ ।  

स्रोत एडिसन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप