केन्द्रीय संस्करण

रुकुम घटनामा फैलाउन खोजिएको जातीय विद्वेष

person explore access_timeजेठ १७, २०७७ chat_bubble_outline0

-झकबहादुर मल्ल ‘सुदीप’

गत जेठ १० गते पश्चिम रुकुमको सोत भन्ने ठाउँमा एउटा दुखद्, अकल्पनीय, अमानवीय तथा बर्बर घटना घट्यो । उक्त घटनामा यो आलेख तयार पार्दासम्म पाँच जनाको ज्यान गैसकेको छ भने एकजना बेपत्ता  छन् । केटी लिन भनेर भेरी नदी पार गरी गएका १९ जना युवामध्ये ६ जनाको जुन किसिमले बीभत्स हत्या गरियो त्यसले एक्काइसौँ शताब्दीको यो परिवेशमा मानव सभ्यतालाई नै चुनौती दिने काम गरेको छ । मित्रवत् अवस्थामा रहेको सामाजिक सद्भाव र भातृत्वलाई नराम्रो गरी खलबल्याउने काम गर्यो । झन महामारीको यो भयानक पीडामा रहेको समाजलाई यस घटनाले निकै ठूलो पीडा दिएको छ ।

रुकुम घटनाको वास्तविकता त विस्तृत अध्ययन र छानबिनपश्चात आउँछ नै । तर अहिले सञ्चार माध्यममा जेजस्ता कुराहरु आइरहेका छन् तिनले घटनाको वास्तविकता पहिचान गर्ने, दोषी पत्ता लगाउने र कारबाहीको प्रक्रिया ठोस रूपमा अगाडि बढाउने कुरामा गम्भीर असहयोग गरिरहेका छन् । घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई दण्डित गरिएन भने घटनाका पीडितले न्याय पाउने छैनन् । त्यसले सिङ्गो समाजमा दूरगामी हिसाबले नकारात्मक असर पार्नेछ । सँगसँगै छानबिन फितलो र हल्का भयोभने निर्दोष मान्छेहरूले पनि सजाए पाउनु पर्ने अवस्थाको सिर्जना हुनसक्छ । त्यसले पनि समाजलाई सकारात्मक सन्देश दिने छैन । त्यसैले सबैको जोड निष्पक्ष छानबिन र अनुसन्धानमा हुन जरुरी छ । अहिले नै सामाजिक सञ्जाल र मिडियाका आधारमा न्यायिक निरूपण गरेर अघि बढियो भने त्यसले नेपालको इतिहासमा गलत नजिरको विकास हुनेछ । 

सरकारले गृहमन्त्री स्तरीय निर्णयबाट उच्च स्तरीय छानबिन समिति बनाइसकेको छ । सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरुले समेत घटनाको निस्पक्ष छानबिन र कारबाहीका लागि प्रतिबद्ध रहेको कुरा व्यक्त गरिसकेको स्थिति छ । घटनामा प्रत्यक्ष संलग्नहरुलाई पक्राउ गरी प्रहरीले आफ्नो अनुसन्धान कार्यलाई अघि बढाइसकेको छ । यस्तो स्थितिमा पनि घटनाका बारेमा अनेकथरी काल्पनिक कथाहरु सिर्जना गरेर समाज र राष्ट्रलाई गलत सन्देश प्रवाह गर्न डलरवादीहरु सक्रिय रहेका छन् । त्यति मात्रै होइन दस वर्षे महान् जनयुद्ध र त्यसका नेतृत्व विरुद्ध यो घटनालाई आधार बनाएर निरन्तर हमला गरिरहेका छन् । यसबाट के प्रष्ट हुन्छ भने उनीहरु यस्ता प्रकृतिका घटनाको स्थायी समाधान होइन क्षणिक आवेग र उत्तेजना पैदा गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न उद्धत छन् । यिनै घटनाहरूको जगमा नेपालमा जातीय हिंसा र जातीय विद्वेशको विषवृक्ष फलाउन लागिपरेका छन् ।
         दस वर्षे महान् जनयुद्ध उत्पीडित वर्ग सँगसँगै उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायको मुक्तिको निम्ति उच्च चेतनाद्वारा लडिएको महान् लडाइँ थियो । महान् जनयुद्धमा समाजका विकृति र विसङ्गति विरुद्धमा निर्ममतापूर्वक लडिएका गौरवपूर्ण इतिहासका गाथाहरु छन् । जनयुद्धका कारण धार्मिक, सांस्कृतिक विभेद र कुरीतिको स्थितिबाट समाज कति माथि उठ्यो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । जनयुद्ध आफैंमा एउटा महान सांस्कृतिक क्रान्ति पनि थियो । त्यही सांस्कृतिक क्रान्तिले खडा गरेको धरोहर समाजमा अहिले पनि व्यापक रूपमा देख्न सकिन्छ । वर्तमान संविधान र कानुनमा उल्लेखित जातीय छुवाछूत विरुद्धका अधिकार त्यही जनयुद्धकै जगमा प्राप्त भएका हुन् । यो ऐतिहासिक तथ्यलाई डलरवादीहरुले राम्ररी हेक्का राख्नुपर्दछ ।

 घटना रुकुममा घट्यो । त्यो आकस्मिक र अकल्पनीय हो । तर जातीय विभेदको मुद्दा बनाएर रुकुममाथि जुन किसिमले प्रश्न खडा गरिएको छ, त्यो सरासर गलत छ । अझै रुकुमलाई जनयुद्ध र जनयुद्धको आधार इलाकासँग जोडेर अहिलेको घटनामा जसरी उठाउन खोजिएको छ त्यो त झन् हाम्रो गौरवपूर्ण इतिहास माथिको ठाडो हमला हो । अझै कतिपयले त यसलाई प्रतिक्रान्तिसँग जोडेर अपव्याख्या गरिरहेका छन् । योजनाबद्ध ढङ्गले जनयुद्धको गौरवमय इतिहासलाई ध्वस्त पार्न लागेका प्रतिक्रियावादीहरुले यस्ता भ्रम फैलाउनु स्वाभाविकै हो तर आफूलाई क्रान्तिकारी र परिवर्तनशील भन्नेहरुले समेत जातीय सङ्कीर्णताको पर्दाभित्र बसेर सिङ्गो रुकुम  र जनयुद्धकै विरुद्धमा बोलिरहेका छन् । 

 रुकुम रोल्पा जनयुद्धका आधार इलाका हुन् । यी आधार इलाका कसैले भनिदिएर सजिलै बनेका होइनन् । आधार इलाका बन्नका लागि त्यहाँका हजारौँ योद्धाहरुले आफ्नो जीवनको कुर्बानी गरेका थिए । लाखौँको सङ्ख्यामा मुक्ति यात्रामा लामबद्ध भएका थिए । आफ्नो भूगोलमा मात्रै होइन सबै उत्पीडित वर्गको मुक्तिको निम्ति देशका विभिन्न जिल्लामा गएर रगत बगाएका थिए । त्यो उच्च चेतनाले लेस भएका महान् सहिदहरूको जिल्ला हो रुकुम । रुकुमका हरेक गाउँमा जाने जोसुकैले पनि जातीय विभेदको त कुरै छोडौँ कुनै पनि किसिमको विभेद देख्नसमेत पाउँदैन । सबै जातजातिका मान्छेहरु उच्च मानवीय भावनाका साथ सामाजिक अन्तरसम्बन्धमा अत्यन्त राम्रो वातावरणमा बसेको कुनै जिल्ला छ भने त्यो रुकुम नै हो । आज रुकुममा घटेको एउटा घटनालाई लिएर सिङ्गो रुकुममाथि प्रश्न उठाउनु भनेको त्यो सामाजिक सद्भाव खल्बल्याउने र विद्वेषको बिजारोपण गर्ने दुःस्वप्नबाहेक केही पनि होइन । 

        यो घटनासँग जोडेर माओवादी जनयुद्ध सँगसँगै त्यसको नेतृत्व पङ्क्तिलाई बदनाम गर्न खोजिएको छ । युद्धका कठिन क्षणहरूमा हजारौँ योद्धाहरुलाई उच्च मनोबलका साथ लडाइँमा सहभागी गराउने र बलिदानका निम्ति तयार गर्ने कुरा कुनै पनि किसिमको सङ्कीर्ण सोच राख्ने नेतृत्वबाट सम्भव हुँदैन । शान्तिप्रक्रिया र त्यस यता पटकपटक जनताबाट निर्वाचित देशले आशा गरेको नेता जनार्दन शर्मामाथि जसले प्रश्न गरेका छन् एकचोटि आफैतिर फर्केर राम्रोसँग आफ्नो अनुहार ऐनामा हेरुन् । सबैखाले अन्याय र अत्याचारका विरुद्ध अग्रपङ्क्तिमा रहेर लड्ने व्यक्तित्वलाई कमजोर पारेर फेरि पनि आफ्नो निहित स्वार्थ पूरा गर्न सकिन्छ भनेर कसैले पनि नसोचे हुन्छ । रुकुम घटनालाई उछालेर जनार्दन शर्माको राष्ट्रिय व्यक्तित्वलाई कमजोर पार्ने र उहाँले उठाएका एजेन्डाहरुलाई निस्तेज पार्ने कसैले दिवा सपना देखेको छ भने त्यो कदापि पूरा हुनेछैन । 

हरेक घटनाका पछाडि केही न केही कारण अवश्य हुन्छन् । रुकुम घटनाका पनि कारण अवश्य होलान् । जुनसुकै कारण भए पनि नरसंहारको जुन घटना भयो त्यो अत्यन्तै बरबर र निन्दनीय घटना हो । यसले विकासको नयाँ मार्गमा अगाडि बढेको नेपाली समाजलाई नराम्ररी धक्का दिएको छ । सबैखाले कुरीति, अन्धविश्वास र असमानताका खाडलहरू पुर्दै अघि बढ्ने राष्ट्रको योजनामा यो घटनाले गम्भीर धक्का दिएको छ । त्यस कारण यो घटनाको सूक्ष्म तरिकाले अध्ययन हुन जरुरी छ । यसका वास्तविक कारण पत्ता लगाउन जरुरी छ । दोषीलाई कानुनी कठघरामा उभ्याएर दण्डित गरिनुपर्दछ । पीडित परिवारलाई र समाजलाई न्याय दिनु पर्दछ । 

प्रारम्भिक अध्ययनले यो घटनाको एउटा कारण जातीय विभेद भनेको छ । यदि यो नै प्रमुख कारण हो भने देशका सबै पक्ष अझै गम्भीर भएर हाम्रो समाजको शल्यक्रियामा लाग्न जरुरी छ । यो घटना केवल दलित समुदाय र केही अधिकारकर्मीहरूको सरोकारको विषय मात्रै होइन । सिङ्गो देश एक ढिक्का भएर यस्ता खाले विभेदको अन्त्यका निम्ति निर्ममतापूर्वक जस्तोसुकै जोखिम उठाउन तयार भएर लाग्नुपर्दछ । एक्काइसौँ शताब्दीको मानव जाति विकासको नयाँ ठाउँमा पुग्नको लागि यस्ताखाले विभेदहरु अन्त्य नगरी सम्भव नै छैन । त्यसकारण रुकुम घटनालाई लिएर एक अर्कोलाई दोषारोपण गर्नुभन्दा पनि सबै सचेत नागरिक एक ठाउँमा आएर यसको वस्तुनिष्ठ समाधानमा लाग्न जरुरी छ ।

घटनाक्रमलाई समयमै सही ढङ्गले अगाडि बढाउन सकिएन भने यसमा नराम्रो गरी नेपाली समाजलाई गलत दिशामा लैजान उद्यत भाइरसको प्रवेश हुने छ । त्यसको प्रारम्भिक सङ्केत देखा परिसकेको छ । यो घटनाको समग्र अध्ययन गर्नेभन्दा पनि जातीयताको पट्टी बाँधेर समाजमा जुन किसिमले भावनाको व्यापार भइरहेको छ यसले समाजमा रहेको विभेदलाई हटाउनेभन्दा पनि झन् बढी खतरनाक विषवृक्ष रोप्ने कार्य गरिरहेको छ । सदियौँदेखि मिलेर बसेको सबै जातजातिको सामाजिक सद्भावलाई खलबल्याएर हिंसाको विजारोपण गर्ने कोसिस भइरहेको छ । नेपालमा कुनै पनि प्रकारको युद्धको खेती गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने सपना देखेका तत्त्वलाई बेलैमा पहिचान गरेर तह लगाउन जरुरी छ । अन्यथा रुकुम र रुकुमका जस्ता अन्य घटनाहरुबाट नेपालमा फलाउन खोजिएको विषवृक्ष झाँगिँदै जाने निश्चित छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.