बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमा चलचित्र क्षेत्र : चलचित्रकर्मी भन्छन्– खुसी हुने ठाउँ छैन

शनिबार, १७ जेठ २०७७, १९ : ००
शनिबार, १७ जेठ २०७७

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७÷०६८को बजेटमा नेपाली चलचित्र क्षेत्र पनि समेटेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको बजेटमा चलचित्र क्षेत्रका केही विषय समेटिएका छन् । 
सरकारको बजेटमा चलचित्र क्षेत्रको मौलिक फिल्म प्रोत्सान, कलाकार संघको भवन, छायाङ्कन लगायत केही विषय अटाएका छन् । बजेटमा चलचित्र क्षेत्रले पनि प्रथामिकता पाएको भन्दै केही चलचित्रकर्मीले खुसी ब्यक्त गरेका छन् भने केहीले बजेटले चलचित्र क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । बजेटको विषयमा चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधि के भन्छन् त ? उनीहरुको भनाई जस्ताको तस्तै ।

मधुसुदन प्रधान (अध्यक्ष, चलचित्र संघ)  


बजेटको विषयमा सम्बन्धित निकायमा बोलेर त केही भएन । अहिले यहाँ बोल्नुको के अर्थ ? बजेटप्रति हामी हलवालाहरुले धेरै अपेक्षा गरेका थियौँ । आफ्नो माग लिएर अर्थ सचिव, मन्त्री सबै भेट्दा हामीलाई आश्वासन समेत दिएइएको थियो । विकाश बोर्डमार्फत पनि हामीलाई आश्वासन आएको थियो– केही न केही गर्छाैँ र हुन्छ भनेर ।
उद्योग वाणिज्य महासंघमार्फत पनि हाम्रो माग सम्बन्धित ठाउँमा पुगेकै थियो । सबैक्षेत्रमा पुगेर भेटेर कुरा राख्दा पनि हाम्रो कुनै पनि माग बजेटमा समेटिएन । हामी यो बजेटबाट एकदमै असन्तुष्ट छौँ, दुःखी छौँ । कम्तिमा एउटा भए पनि माग सम्बोधन भएको भए चित्त बुझाउने बाटो हुन्थ्यो ।
बजेटमा चलचित्र घर अर्काे देशको काम, अर्काे देशमा गरिएको उद्योग र चलचित्र घरको ब्यवसाय गर्ने अर्काे देशको नागरिकजस्तो गरियो । यसमा हामीलाई निकै दुःख लागेको छ । यस विषयमा हामी आन्दोलनमा पनि उत्रिन सक्छौँ । साथीभाइसँग यो विषयमा छलफल पनि भइरहेको छ । बजेटले आशा जगाएन, उल्टै निराश पार्ने काम ग¥यो ।

रविन्द्र खड्का (अध्यक्ष, चलचित्र कलाकार संघ) 


अहिलेसम्म नभएको विषय यसपाली बजेटमा समेटेर केही हदसम्म भए पनि सरकारले चलचित्रकर्मीलाई सम्बोधन गरेको छ । म लगायत चलचित्र कलाकार संघका साथीहरु एकदमै खुसी छौ । संघको भवन निर्माणको कुरो पनि बजेटमा अटाएको छ । कति पैसा, के भन्ने बिस्तारै आउला नि । सम्बोधन गरेको विषय त्यसै हराएर त नजाला ।
मैले कलाकार संघको अध्यक्षमा उमेद्वारी दिदा कलाकारहरुका लागि ओत लाग्ने ठाउँ बनाउँछु, विश्वास गर्नुस् भनेको थिएँ । पहल पनि दिनरात नभनेर गरेँ । बजेटमा पनि भवनको विषय सम्बोधन भयो । अब कलाकारले ओत लाग्ने ठाउँ पाउँछन् ।
हामीले ३५ वर्षभन्दा बढी कलाकारितामा बिताएका कलाकारका लागि पेन्सन लगायत अन्य धेरै माग पनि राखेका थियौँ । त्यो भने बजेटमा समेटिएन ।  

आकाश अधिकारी (अध्यक्ष, चलचित्र निर्माता संघ) 


अहिलेको बजेट सम्पूर्ण ब्यक्तिले आस गरेको बजेट हो । कोरोनाको महामारीबाट यतिबेला सबैक्षेत्र प्रभावित छ । हाम्रो तर्फबाट बजेटमा समेट्नका लागि सरकार समक्ष १७ वटा बुँदा पेस गरेका थियौँ । त्यसमध्ये ७ बुँदा चलचित्र भवनसँग सरोकार राख्ने थियो भने १० बुँदा निर्माता संघसँग सरोकार राख्ने थियो । तीमध्ये तीन बुँदामा सम्बोधन भयो । हाम्रौ कलाकार संघले राखेको कलाकारको भवन निर्माण पनि बजेटमा आयो । 
तर, अहिले कोरोनाबाट कसरी बच्ने र चलचित्र क्षेत्रलाई कसरी चलायमान बनाएर त्यसमा आश्रित ३०÷३५ हजार मानिस जति छन्, ती सबैलाई रोजगारीमा फर्काउने भन्ने विषय महत्वपूर्ण हो । प्रदर्शन र निर्माण दुवै सेक्टर खोल्ने र सबैलाई राहत हुने गरेर बजेट आउनुपर्छ भन्ने हाम्रो माग थियो । विशेष फिल्मलाई प्राथमिकता दिने, चलचित्र निर्माण प्राथमिकता दिने भन्ने कुरो त आयो, अन्य आएन ।
बजेटमा चलचित्र क्षेत्र सम्बोधन त भयो । तर खुसी हुनुपर्ने गरेर सम्बोधन भने हुन सकेन ।  

रक्षा सिंह राणा (अध्यक्ष, चलचित्र निर्देशक समाज) 


बजेटले केही हदसम्म नेपाली चलचित्र क्षेत्रलाई सम्बोधन गरेकोमा खुसी लागेको छ । सरकारले यसपटकको बजेटमा जसरी चलचित्र क्षेत्र समेटेको छ, त्यो गौरवको कुरा हो । बजेटमा समेटिएको नेपाल छायाँकन गन्तब्य, कलाकार संघलाई भवन र मौलिक चलचित्रलाई प्रोत्साहित लगायतका कुरा स्वागतयोग्य छन् । यसबाट हामी चलचित्रकर्मी खुसी र उत्साहित छौँ ।

पुष्कर लामा (अध्यक्ष, चलचित्र प्राविधिक संघ) 


बजेटले चलचित्र कलाकार संघ र निर्माताबाहेक चलचित्र क्षेत्रका अन्यलाई सम्बोधन भएन । बजेटले चलचित्रमा काम गर्ने, दैनिक ज्यालामजदुर गर्ने श्रमजिवीहरुका लागि केही राहतको प्याकेज, नयाँ योजना आउँछ होला भन्ने आश गरेका थियौँ । जसरी बजेट आयो, हामी निराश भएका छौँ । आगामी दिनमा हामीलाई कुनै योजना कार्यक्रममार्फत सम्बोधन गर्छ भन्ने लागेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप