शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज– यसरी जन्मियो मिकी माउसको कथा

आइतबार, १८ जेठ २०७७, १० : २२
आइतबार, १८ जेठ २०७७

आज ३१ मे । आजैका दिन सन् १९२९ मा मिकी माउस कार्टुनको बोल्न सक्ने संस्करण ‘द कार्निभल किड’ रिलिज गरिएको थियो ।

मिकी माउस कार्टुनको पात्र हो, जसलाई फिल्म, भिडियो गेम, कमिक्सलगायतमा अत्याधिक प्रयोग गरिएको छ । हामीमध्ये धेरैलाई यसको नाम सुन्ने बित्तिकै बाल्यकालको स्मरण हुनसक्छ । यो आजका बालबालिकालाई पनि उत्तिकै मनपर्छ ।  यसलाई वाल्ट डिज्नी कम्पनीले आफ्नो प्रतिक चिन्हका रुपमा प्रयोग गर्छ ।

वाल्ट डिज्नी स्टुडियोका उब आईर्विक्सले सन् १९२८ मा यसको रचना गरेका थिए । मानिसजस्तै देखिने यो मुसाको कार्टुनले प्रायः रातो सर्ट, ठूलो पहेंलो जुत्ता र सेतो पञ्जा लगाएको हुन्छ । यसलाई विश्वकै सर्वाधिक रुचाइएको कार्टुन चरित्र मानिन्छ ।

मिकीलाई पहिलोपटक सन् १९२८ को सर्ट फिल्म स्टिमबोटमार्फत दर्शकले हेर्न पाएका थिए र यो ध्वनीसहितको पहिलो कार्टुन हो । यसपछि १ सय ३० भन्दा धेरै फिल्ममा मिकीलाई देखाइसकिएको छ । ओस्कारमा मिकी कार्टूनको अभिनय रहेका १० फिल्म उत्कृष्ट एनिमेटेड सर्ट फिल्ममा मनोनयनमा परे । त्यसमध्ये सन् १९४२ मा लेन्ड अ पा ओस्कार जित्न सफल रह्यो । हलिउड वाक अफ फेममा राखिएको यो पहिलो कार्टून पात्र हो ।

कमिक्समा पनि यो चरित्र निकै लोकप्रिय मान्छि । सन् १९३० मा फ्लाईड गोट्फिडसनले कोरेको ‘द मिक्की कमिक स्ट्रिप’ झन्डै ४५ वर्षसम्म चल्यो । विश्वका अन्य धेरै देशका कमिक पुस्तक, टेलिभिजन सिरियल, भिडियो गेमलगायतमा यसलाई देख्न सकिन्छ ।

मिकीसँगै उसकी गर्लफ्रेन्ड मिनी माउस, उसले पालेको कुकुर प्लुटो, उसका साथी डोनाल्ड डक र गुफी तथा उसको प्रतिद्वन्द्वी पिटी पनि उत्तिकै लोकप्रिय छन् । सुरुमा चलबुले र खराब भएपनि दर्शकको भावना जित्नेगरी यो पात्र बनाइएको थियो । तर, बिस्तारै यसलाई राम्रो देखाइन थालियो, इमानदार र आकर्षक हिरोका रुपमा ।

अन्य घटनाक्रम

सन् १८८९– अमेरिकाको पेन्सिलभेनियास्थित जान्सटाउनमा भीषण बाढीबाट २ हजार २ सयभन्दा धेरै मानिसको मृत्यु ।

सन् १९००– बेलायती सैनिकद्वारा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा कब्जा ।

सन् १९३५– पाकिस्तानको क्वेटा शहरमा भीषण भूकम्पका कारण ५० हजारभन्दा धेरै मानिसको मृत्यु

सन् १९५९– तिब्बतबाट निर्वासित बौद्ध धर्म गुरु दलाई लामालाई भारतमा शरण दिइयो । 

सन् १९६६– दक्षिण भियतनाममा सरकारको विरोधमा ह्यू शहरमा बौद्ध समुदायकी एक युवतीले आफैंलाई आगो लगाएर जलाइन् । आगोको झिल्काले घेरिएकी युवतीको तस्विर संसारभर भाइरल भयो । यहाँको बौद्ध समुदायले सैन्य सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीको राजीनामा मागेको थियो ।

सन् २००८– जमैकाका धावक उसैन बोलटद्वारा १ सय मिट दौड ९ दशमलव ७२ सेकेन्डमा पुरा गर्दै सर्वाधिक चाँडो दौडने नयाँ कीर्तिमान ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप