शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जी–७ बैठक स्थगित

आइतबार, १८ जेठ २०७७, १३ : ५८
आइतबार, १८ जेठ २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन् ।

यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोनाभाइरसको सङ्क्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको हो ।  सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिए । अहिले जी ७ को संरचना नै ‘पुरानो र असान्दर्भिक’ भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताएका छन् ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘मैले जी ७ को बैठक कम्तीमा सेप्टेम्बरसम्मका लागि पछाडि सारेको छु, किनभने अहिले संसारमा जे संकट उत्पन्न भइरहेको छ, त्यसको सम्बोधनका लागि अहिलेको जि ७ समूहले सम्बोधन गर्न सक्दैन ।’

विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु संयुक्तराज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा जि७ मा सदस्य राष्ट्र हुन् । यो शिखर सम्मेलन यही जुन १० देखि १२ तारिखसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने तय भएको थियो । 

जी७ को अध्यक्षता सातै वटा मुलुकले आलोपालो गर्ने प्रचलन छ । अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता अलिस्सा फराहले अमेरिकाका परम्परागत मित्रराष्ट्र सहित कोरोनाभाइरसबाट प्रभावित राष्ट्रहरुलाई राष्ट्रपति ट्रम्पले समेट्न चाहनु भएको बताउँदै बैठकमा चीनको भविष्यका बारेमा पनि छलफल हुने जानकारी दिए । 

जर्मन चान्सलर एन्जेला मर्केलको कार्यालयले जर्मनीमा कोरोनाभाइरसको प्रसार नरोकिएसम्म चान्सलर मर्केल जी ७ को बैठकमा उपस्थित हुन नसक्ने जनाए लगत्तै ट्रम्पले बैठक स्थगित गरेको घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले जी७ को संरचनामा फेरबदल गरी रसिया, भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई सामेल गर्ने प्रस्ताव गरेका छन् । तर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रसियालाई जी७ मा पुनः प्रवेश गराउने विषयमा आपत्ति जनाएका छन् ।  रसियालाई सन् २०१४ मा जी७ को सदस्यबाट हटाइएको थियो । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप