शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्दिप भुजेल हत्याकाण्ड : गाँजा सेवन गर्दा गयो ज्यान

आइतबार, १८ जेठ २०७७, १८ : ०८
आइतबार, १८ जेठ २०७७

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–९ निवासी मन्दिप भुजेलको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । 

हत्याको आरोपमा अर्घाखाँची घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ कपडादेवी निवासी २३ वर्षीय सौरभ पोखरेल, तुलसीपुर उपमहानगरपालिका–५ निवासी २३ बर्षीय अजय बुढाथोकी, २० बर्षीय आशिष नेपाली र तुलसीपुर उपमहानगरपालिका–१८ निवासी २१ बर्षीय ओमबहादुर सार्कीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

शुक्रबार राति सामान्य विवादपछि भुजेलको हत्या गरेको उनीहरुले स्वीकारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए । 

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत दाङबाट १० दिन म्याद थप गरि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिका–५ स्थित ज्ञानज्योति प्राथमिक विद्यालयको पछाडी हत्या भएको अवस्थामा प्रहरीले भुजेलको शव भेटाएको थियो ।

भुजेलसँग श्रीमती संगीता विक भुजेल र ८ महिनाको छोरा पनि सँगै बस्थे । साथै उनका आमा र भाई तुलसीपुर–९ वेलुवामा भाडामा बस्दै आएका छन् । उनको परिवार ज्याला मजदुरीमा निर्भर थियो ।

यसरी भएको थियो घटना
प्रहरीले पत्रकार सम्मेलन गरेर हत्याको घटना क्रम समेत सार्वजनिक गरेको छ । शुक्रबार बेलुका ८ बजेतिर भुजेलसहित उनका स्थानीय साथीहरु सुमन बस्नेत र सुनिल विकले तुलसीपुर–९ स्थित चौधरी होटेलमा मदिरा खाएका थिए । 

करिब आधा घण्टा तीनैजनाले घरेलु मदिरा खानेक्रममा तुलसीपुर–५ निवासी अजय बुढाथोकी, सोही ठाउँका टिकाराम वुढामगर, सोही ठाउँका आशिष नेपाली, तुलसीपुर–१८ बस्ने ओमबहादुर सार्की, अर्घाखाँची घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ निवासी सौरभ पोखरेल पनि सोही होटलमा आए ।

त्यही क्रममा भुजेललाई छोडेर सुमन बस्नेत र सुनिल विक ९ बजेतिर आफ्नो घरतिर लागे । उनीहरु घर गएपछि अन्य पाँचजना साथी भएकै ठाउँमा भुजेलले गाँजा सेवन गर्न थाले । 

गाँजा सेवन गर्न थालेपछि अर्को टेबलमा बसेका सौरभ पोखरेलसहितका साथीहरुले ‘गाँजा किन खाएको ? हामीलाई ‘डिस्ट्रब’ हुन्छ भनेपछि विवाद उत्पन्न भयो ।

विवादकैबीच १० बजेपछि सोही होटेलका साहुनी लक्ष्मी चौधरीले श्रीमान घरमा नभएको र होटेल बन्द गर्नुपर्ने भएकाले बाहिर निस्कन आग्रह गरेपछि उनीहरु होटेल भन्दा बाहिर गए । 


त्यही क्रममा सँगै रहेका साथी टिकाराम बुढामगरले ‘झगडा नगर’ भनि सम्झाउँदै उनी पनि आफ्नो घरतर्फ गए । भुजेल र उनका चारजना साथीहरु भने नसाको सुरमा एकअर्काप्रति आरोप प्रत्यारोप गर्दै तुलसीपुर उपमहानगरपालिका–५ स्थित ज्ञानज्योति आधारभुत प्राथमिक विद्यालयको पछाडी खाली जमिनमा पुगेपछि सौरभ पोखरेलले आवेगमा आइ नजिकैको धारिलो ठूलो ढुंगाले भुजेलको टाउकोमा प्रहार गरे ।

त्यही क्रममा उनका अन्य तीनजना साथीहरुले मुक्का प्रहार गरेपछि भुजेल जमिनमा ढले । जमिनमा ढले पश्चात पहिले नै हानेको ठूलो ढुंगालाई सौरभले भुजेलको कञ्चट, अनुहार र टाउकोमा प्रहार गरेपछि भुजेलको मृत्यु भयो । 

मृत्युपश्चात घटनामा प्रयोग भएको ढुंगा बरदाता स्थानदेखि ४० मिटर पश्चिम उत्तर खोलामा लुकाई छोपी घटनाका बिषयमा कोही कसैलाई पनि नभन्ने सम्झौता गरि आफ्नो कोठामा गएका थिए ।

समयमै घटनाको दोषी पत्ता लगाउन सफल भयौं : प्रमुख चन्द


जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक गणेश चन्दले घटनाको समयमै छानविन गरि दोषी पत्ता लगाउन सफल भएको बताए । 

उनले हत्या जस्तो जघन्य अपराधका घटनाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले समयमै पत्ता लगाउन सफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप