केन्द्रीय संस्करण

मजदूरलाई स्वास्थ्य सुरक्षाको व्यवस्थासहित परिचालन

person explore access_timeजेठ १८, २०७७ chat_bubble_outline0

बुटवल उपमहानगरपालिकाले दैनिक ज्यालादारीका काममा खटिएका मजदूरलाई स्वास्थ्य सुरक्षाको व्यवस्थासहित परिचालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनौट भएका कामदारलाई सुरक्षाका उपायसहित काममा परिचालन गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

बुटवलका तीनवटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । उनले उनीहरुलाई वडा तहबाट छनौट भएका काममा खटाइएको र सबैलाई स्वास्थ्य परीक्षण गरिएको बताए ।

उपमहानगरपालिकाको वडा २ मा ४१, वडा ७  मा ६ र वडा नं १० मा ३१ गरी जम्मा ७८ जनालाइ समावेश गर्दै दैनिक ज्यालादारीका काममा खटाइएको छ । उपमहानगरले यसअघि पनि वडा नं १६ मा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाइ र केही संरचना निर्माणका लागि त्यस क्षेत्रकै बासिन्दालाई दैनिक ज्यालादारीका कामको व्यवस्था मिलाएको थियो । 

अहिले तीनवटा वडामा शुरु भइसकेको यो कार्यक्रम अरू वडामा पनि छिट्टै शुरु गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक अरविन्द्र पाण्डेले जानकारी दिए । यस्तै बुटवल उपमहानगरपालिकाले हरेक क्षेत्रमा महामारीविरुद्ध सामाजिक दूरीसहित स्वनियममा बस्न नगरवासीमा अपिल गरेको छ ।

अत्यावश्यक काम परे पनि पूर्ण सुरक्षाको प्रबन्धसहित घरबाट निस्किन र सामाजिक दूरी कायम राख्न उपमहानगरले आग्रह गर्दै आएको छ । 

बुटवलमा प्रदेशको अस्थायी मुकाम भएको, प्रदेश सरकारका मन्त्रालय, प्रादेशिक अस्पताल, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टरसमेत सञ्चालनमा रहेकाले नागरिकको आवागमन बाक्लो हुने गरेको छ । बुटवलमा मानिसको बाक्लो आवागमन हुने भएकाले उपमहानगरका प्रमुख शिवराज सुवेदी आफैँ अनुगमनमा खटेर महामारीविरुद्ध समाजिक दूरीसहित काममा लाग्न अपिल गरे ।

अत्यावश्यक काम परेर हिँड्डुल गर्नैपर्ने नागरिकलाई कसरी सहज वातावरण बनाउने र स्वास्थ्यलाई पनि कसरी सुरक्षित राख्ने भन्ने उद्देश्यले बुटवलले नियमित अनुगमन गरेको उनको भनाइ छ ।

केन्द्र प्रदेश र स्थानीय सरकारका कार्यालयहरुलगायत अत्यावश्यक सेवालाई सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ, ‘बुटवलले नै समग्र प्रदेशको अभिभावकत्व निर्वाह गर्ने र लकडाउनको पालना गर्दै नगरका नागरिकको सुरक्षाको समेत प्रबन्ध मिलाउनुपर्ने छ । यसैले सबैले स्वनियम पालना गरौँ र गर्न लगाऔँ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.