केन्द्रीय संस्करण

संयुक्त प्रयासले जिल्लामा कोरोना समुदायमा जानबाट रोक्यो

person explore access_timeजेठ १८, २०७७ chat_bubble_outline0

जिल्लाका स्थानीय तह, प्रशासन, अस्पताल, राजनैतिक दलसँगै सरोकारवालाहरुको संयुक्त प्रयासले आजसम्म कोरोना भाइरस समुदायमा जानबाट रोकिएको छ । देशैभरका क्यान्सरका बिरामी उपचार गर्ने, छिमेकी जिल्लासहितका जिल्लाका बासिन्दाको उपचारको थलो, देशका ७७ जिल्लाका बासिन्दाको बसाइ रहेको यस जिल्ला हुँदै राजधानी प्रवेश र बाहिरिने गरिन्छ ।

भारतीय क्षेत्रबाट फर्किएका नेपाली र त्यहाँबाट भित्रिएका खाद्यान्नसहितका सामग्री यसै जिल्ला हुँदै आवतजावत गर्ने भएकाले पनि यो जिल्ला बढी जोखिममा रहेको देखिन्छ । 

भरतपुर अस्पतालको मातहतमा एउटा कोरोना अस्पताल र एउटा कोभिड–१९ प्रयोगशाला सञ्चालनमा छ । भरतपुर  अस्पतालमा १० श्ययाको सघन उपचार कक्ष र आइसोलेशन निर्माण गरिएको छ । यस अस्पतालबाट तीनजनाले उपचार पाएर कोरोना जितिसकेका छन् । 

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले समयमै भरतपुर महानगरको अगुवाइमा  स्थापना भएको भरतपुर कोरोना विशेष अस्पताल, भरतपुर कोभिड–१९ प्रयोगशालासँगै स्वास्थ्यकर्मी स्थानीय तह, दलहरु, प्रशासन सबैको सहकार्यले रोग फैलन नपाएको बताए ।

 भरतपुर अस्पतालले उपचारको नेतृत्व गरिरहेको छ । अस्पतालमा डा  प्रमोद पौडेलको नेतृत्वमा पाँच सदस्यीय कोभिड–१९ उपचार क्लिनिकल टिक गठन भएको तिवारीको भनाइ छ । उनले लकडाउन प्रभावकारी हुँदा पनि रोग फैलन नपाएको बताए । 

सोही अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले १३५ जनासम्मको उपचारका लागि भरतपुर अस्पताल आफैँसक्षम रहेको बताए । कोरोना अस्पतालमा ६० र भरतपुर अस्पतालमा ७५ जना सङ्क्रमित राखेर उपचार गर्न सकिने उनको भनाइ छ । यससँगै बिरामी थप भएमा मेडिकल कलेजहरु, निजी अस्पताल सहयोग गर्न तयार रहेको अधिकारीको भनाइ छ । 

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको नेतृत्वमा सङ्क्रमण भित्रन नपाउँदै स्थापना गरिएको कोरोना अस्पताल र प्रयोगशालाको महत्व अहिले देखिन थालेको अधिकारीले बताए । चैत ७ गते कोरोना अस्पताल सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिकाले स्थापना गरेको कोरोना अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । 

कोरोना अस्पतालमा चितवन, मकवानपुर र नवलपरासीका सङ्क्रमितले उपचार गराइरहेका छन् । प्रयोगशालामा धादिङ, नवलपरासी र कपिलवस्तुका स्वाब पनि परीक्षण भइरहेको छ । 

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार हालसम्म जिल्लाका एक हजार एक सय जनाको ¥यापिट डाइग्नोष्टिक टेष्ट र एक हजार ६९१ जनाको पिसिआर परीक्षण भइसकेको छ ।  सङ्क्रमितको सम्पर्क, पहिचान र व्यवस्थापन नै रोग फैलनबाट रोक्न सार्थक भएको उनको ठम्याइ रहेको छ । सरोकारवालाहरुको राम्रो समन्वयका कारण आजसम्म रोग फैलन नपाएको उनले बताए । 

जिल्लाका सात स्थानीय तहमा ९८ वटा वडा रहेका छन् । अधिकांश वडामा क्वारेन्टिन बनाउने काम भइरहेको छ । प्रजिअ नारायणप्रसाद भट्टराईले हालसम्म जिल्लामा पाँचजना सङ्क्रमित फेला परेको र तीमध्ये दुईजना निको भइसकेको बताए  । हाल तीनजनाको उपचार भइरहेको छ ।

उनका अनुसार पाँचैजना बाहिरबाट आएका हुन् । आजसम्म समुदायमा सङ्क्रमण फैलन नपाएको उनले बताए । सबैको साथ र सहयोगका कारण लकडाउन प्रभावकारी बन्न सकेको र सङ्क्रमितको उपचार व्यवस्थित भएकै कारण सङ्क्रमण फैलन नपाएको भट्टराईको भनाइ छ । 

राजनैतिक दल, स्थानीय तह, अस्पतालहरुसँगै जिल्लावासीको साथ र सहयोगले नै सङ्क्रमण फैलन रोक्न प्रभावकारी बनेको देखिन्छ । जिल्ला समन्वय समिति चितवनले कोरोना सङ्क्रमितको उपचारमा खट्ने चिकित्सक, स्वास्थ्यकर्मीको बसोबास र खानपानको व्यवस्था स्थानीय तहसँग मिलेर गर्दैछ ।

 समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी चितवन सचेत नागरिकको बसोबास भएको जिल्ला भएको र यहाँका सरोकारवाला सङ्घसंस्थाको प्रभावकारी गतिविधिका कारण सङ्क्रमण फैलन नपाएको बताए । जिल्लामा रहेका क्वारेन्टिनहरुमा हाल ५३० जना रहेका छन् । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशमै सबैभन्दा अघि यही कोरोना अस्पताल स्थापना गरिएको, प्रयोगशाला सञ्चालनमा ल्याइएको, क्वारेन्टिनहरु सकेसम्म व्यवस्थित गरिएको, सीमा क्षेत्रमा रहेका जिल्लावासी ल्याउने काम भइरहेको, सीमित स्रोतसाधनका बाबजुत जनप्रतिनिधिहरु कार्यक्षेत्रमा खटिरहेको बताइन् । 

स्थानीय सरकारसँगै दलहरु, स्थानीय प्रशासन, अस्पताल, स्वास्थ्य कार्यालय लगायतको संयुक्त प्रयासकै कारण सङ्क्रमण फैलन नपाएको दाहालको भनाइ छ । उनले सबैले साथ र सहयोग गरेमा समुदायमा सङ्क्रमण फैलनबाट रोक्न सकिने बताइन् ।

जिल्लाका प्रमुख दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका जिल्ला नेतृत्वले लकडाउन प्रभावकारी बनाउन पटकपटक सार्वजनिक रुपमा सन्देश प्रवाह गरिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सरकारले सङ्क्रमण रोक्न गरेको आह्वान सबैले अक्षरश पालना गर्नुपर्ने बताए ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हाल भरतपुर अस्पतालमा दुई र भरतपुर कोरोना अस्पतालमा चारजना सङ्क्रमित उपचाररत छन् । कोरोना अस्पतालका तीनजना नवलपरासीका हुन् भने अन्य तीनजना चितवनका हुन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.