शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा पनि रोकिएन बलात्कार र आत्महत्या

काठमाडौँमा मात्र १६ जना बलात्कृत, सबैभन्दा बढी प्रदेश ५ मा
सोमबार, १९ जेठ २०७७, १३ : ३८
सोमबार, १९ जेठ २०७७

लकडाउनकै अवधिमा गत जेठ १६ मा सुनसरीको धरानमा ३८ वर्षीय बाबुद्वारा आफ्नै छोरी बलात्कृत भइन् । बिहान सात बजेको समयमा बाबुले आफ्नै १४ वर्षीया छोरीलाई सुतिरहेको ठाउँमा ललाइफकाइ बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । लकडाउनको अवधीमा मानसिक विचलनका कारण ती पुरुषले छोरीलाई बलात्कार गरेका थिए । छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत सुनसरीले म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तै कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी २० वर्षीया युवतीलाई काठमाडौँ पुर्याइदिने भन्दै धादिङबाट ना.६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेको अवस्थामा जबर्जस्तीकरणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतार थानकोटबाट पक्राउ परे ।

प्रहरीको तथ्यांकलाई हेर्ने हो भने लकडाउनको समयमा पनि नेपालमा बलात्कारको ग्राफ बढ्दो छ । बलात्कार मात्र नभएर चोरी, हत्या र आत्महत्या जस्ता घटनाहरु पनि बढेको पाइएको छ ।

चैत ११ देखि जेठ १० गतेसम्ममा बलात्कारका २ सय १४ वटा मुद्धा दर्ता भएका छन् । यो संख्या लकडाउन अघिका दिनकै हाराहारी हो । अर्थात् लकडाउनको अवधीमा पनि बलात्कारको घटना घटेको छैन ।

लकडाउन भएपछि बलात्कारको घटना घट्ने अपेक्षा गरिएको थियो । तर, ठीक उल्टो भएको छ । दिनानुदिन झनै बलात्कारको घटना बढ्दै गइरहेको नेपाल प्रहरीको तथ्याङ्कबाट प्रष्ट हुन्छ ।

प्रदेश ५ मा सबैभन्दा बढी बलात्कारको मुद्दा दर्ता भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश–५ मा सबैभन्दा धेरै ४६ वटा मुद्दा दर्ता भएको छ । त्यसैगरी बलात्कार उद्योगको ७ वटा मुद्दा दर्ता भएको छ ।

यस्तै प्रदेश १ मा ३७ वटा बलात्कार र १४ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ । प्रदेश २ मा ३४ वटा बलात्कार र ७ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी प्रदेश तीनमा २८ वटा बलात्कार र १२ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ । प्रदेश चारमा १७ वटा बलात्कार र ६ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ ।

त्यस्तै प्रदेश ६ मा १९ वटा बलात्कार र चार वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ । प्रदेश सातमा १९ वटा बलात्कार र ५ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको छ ।

लकडाउनका अवधिमा मानिसहरु घरबाट बाहिर ननिस्कने र काममा व्यस्त भइरहनेहरु सब चौबिसै घण्टा घरमा बस्दा चिढचिढा हुने र सानातिना कुरामा छिटो रिसाउने प्रवृत्ति बढ्न अपराधिक घटनाहरु घट्न जाने मनोविश्लेषक बासु आचार्यको दावी छ ।

त्यतिमात्र नभइ लकडाउनका अवधिमा मान्छेहरुमा देखिएका मानसिक विचलनका कारण पनि धेरै जसो अकल्पनिय घटनाहरु घटेका देखिएका हुँदा हामी सबैको सामूहिक प्रयासले मात्र समाजमा बढ्दो अपराधिक घटनाहरु न्यूनिकरण गर्न सकिने आचार्यले बताए ।

काठमाडौँ उपत्यकामा पनि घटेन बलात्कारको घटना

लकडाउन सुरु भएपछि मात्रै काठमाडौँ उपत्यकामा एक दर्जनभन्दा बढी बलात्कारको घटना भएको छ । ११ चैतदेखि लकडाउन शुरु भएपछि उपत्यकामा बलात्कारको संख्या झनै बढेको हो ।

लकडाउनमा हालसम्म १४ वटा बलात्कार र २ वटा बलात्कार उद्योगको मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उपत्यकामा पनि बलात्कार पुरानै ग्राफमा देखिएको हो ।

सामाजिक सञ्जालको बढ्दो प्रयोग तथा इन्टरनेटमा उपलब्ध यौनजन्य सामग्रीका कारण पनि बलात्कार बढिरहेको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाही बताउँछन् ।

यता, बलात्कार परिवारभित्र र चिनेजानेकाबाट बढी हुने हुनाले परिवार सचेत हुनुपर्ने पूर्वएआईजी विज्ञानराज शर्मा बताउँछन् । ‘काम छैन, मानिसहरु टोल, छिमेकमा केन्द्रीत छन्, त्यसैले निकटता बढेपछि बलात्कार बढ्ने हो, अहिले भएको त्यहि  हो,’ उनले भने ।

आत्महत्या पनि उस्तै

लकडाउनको अवधीमा आत्महत्या पनि दिनानुदिन बढ्दो छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार लकडाउनको अवधिमा ९६३ वटा मुद्दा दर्ता भएको छ ।

झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै ८४१ रहेको छ । यस्तै विष खाएर आत्महत्या गर्नेको संख्या १२२ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ४९९ पुरुषले आत्महत्या गरेका छन् भने ३५३ महिला, ४४ बालक र ८६ बालिकाले आत्महत्या गरेका छन् ।

काठमाडौँ उपत्यकामा मात्र ४६ जनाले आत्महत्या गरेका छन् । २१ पुरुष, २२ महिला, एक बालक र दुई बालिका गरी ४६ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

लकडाउनको अवधिमा राम्रो काममा भन्दा पनि मान्छेको ध्यान नकारात्मकतामा गएको कारण आत्महत्या गर्नेको संख्या पनि बढेको मनोविश्लेषक आचार्यको बुझाइ छ । तनावले मान्छेलाई आपराधिक काम गर्न प्रेरित गर्ने हुनाले आत्महत्या हुने गरेको आचार्यले बताए । उनले भने, ‘मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् ।’

आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको पनि उत्तिकै ठूलो भूमिका रहने मनोविश्लेषक आचार्य बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप