बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अब भरतपुर विमानस्थल प्रदेशस्तरको हुने

सोमबार, १९ जेठ २०७७, १५ : ०१
सोमबार, १९ जेठ २०७७

चितवन । भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ । यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको बताइएको छ  । 
अर्थमन्त्री डा.युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा प्र्रस्तुत गर्नुभएको आगामी वर्षको बजेटमा सो विमानस्थलाई प्रदेशस्तरीय बनाइने उल्लेख छ । विमानस्थलको धावनमार्ग छोटो हुँदा र अतिक्रमण बढेपछि जहाज उडान र अवतरण निकै जोखिम पूर्ण बन्दै गएको जनाइएको छ । 

विमानस्थल जोखिमपूर्ण भएपछि भरतपुर महानगरपालिकाको आयोजनामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सरोकारवालाको छलफलसमेत गरिएको थियो । नेपाल नागरिक  उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले विमानस्थल बिस्तार हुन लागेको जानकारी दिए । 

महानगरपालिकाले सेनाको गण र सो केन्द्रका लागि वैकल्पिक स्थान दिइसकेको छ । महानगर प्रमुख रेनु दाहालले विमानस्थल बिस्तारको काम अघि बढेको बताइन् ।  महानगरले सेनालाई चारवटा ठाउँ विकल्पका रुपमा दिएको छ । ठाउँको विस्तृत विवरणसमेत मन्त्रालयमा पठाइसकिएको छ । मन्त्री भट्टराईले महानगरमा छलफलपछि  विमानस्थल बिस्तार सम्बन्धमा अध्ययन गर्न सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलको प्रतिवेदनमा छलफल भइसकेको छ । 

महानगर प्रमुख दाहालले भनिन्, ‘सरोकारवाला सबै सकारात्मक भएपछि विमानस्थल बिस्तारको काम अघि बढेको छ ।’ विमानस्थल प्रदेशस्तरको बन्ने हुँदा छिमेकी जिल्लावासी पनि लाभान्वित हुने उनले बताइन् । विमानस्थलबाट १५० किलोमिटर हाराहारीमा काठमाडौँ, पोखरा, भैरहवा र निजगढ विमानस्थल पर्दछ ।  

विमानस्थल बिस्तारभएपछि श्री एयरलायन्सको ८० सिटे जहाज, बुद्ध र यतीको एटिआर ७२, श्रीकै सि आर जे ५० र ७० सिटे जहाज अवतरण तथा  नेपाल एयरलायन्सको ६० सिटे जहाज एमए ६० पनि उडान गर्न सक्नेछ  ।  ६२ बिघामा रहेको विमानस्थल बिस्तार गर्दा ७२ बिघा थप हुनेछ  । हालको एक हजार २०० मिटर लामो धावनमार्गमा ४५० मिटर थप गर्न सकिने  प्राधिकरणका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । 

विस्तारसँगै रात्रिकालीन उडान, जहाज राख्ने र तेल भर्ने व्यवस्था यही हुनेछ । भौतिक संरचना निर्माण गरेर आकर्षक विमानस्थल बन्ने उनको भनाइ छ । टर्मिनल भवन छुट्टै बन्ने छ । पर्यटनमन्त्री भट्टराईले यहीँबाट माउन्टेनसहितका विभिन्न जिल्लामा उडान गर्न सक्नेगरी विमानस्थल बिस्तार गर्ने जनाउँदै आएका छन् । 

हाल यहाँबाट दिनको समयमा मात्र काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । धावनमार्ग विस्तार गर्दै गर्दा अतिक्रमण गरी मापदण्ड मिचेर बनाइएका संचना भत्काएर व्यवस्थित गर्नुपर्ने प्रमुख गौतमको भनाइ छ । 

हाल  प्रदेशस्तरका नेपालगञ्ज, विराटनगर, पोखरा र भौरहवा विमानस्थल छन् । त्यही स्तरको विमानस्थल भरतपुरमा बिस्तार गर्न लागिएको हो । यस विमानस्थलले वाग्मती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्ला, नवलपरासी, तनहुँलगायतका बासिन्दालाई समेत सेवा दिँदै आएको छ । साना जहाज मात्र उड्ने भएकाले भाडा बढी तिर्न यात्रु बाध्य छन् । बिस्तार भएसँगै  जहाजको भाडादर कम हुने अपेक्षा गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप