शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपा नेपाल अप्ठ्यारोमाः संविधान संशोधन प्रस्तावमा सरकार रोज्ने कि मधेश ?

सोमबार, १९ जेठ २०७७, १६ : ५२
सोमबार, १९ जेठ २०७७

काठमाडौं । सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयकमा मतदान गर्ने कि नगर्ने भनि जनता समाजवादी पार्टी नेपालमा अन्योल देखिएको छ । विधेयकको पक्षमा मतदान गर्ने कि नगर्ने विषयमा पार्टीभित्रका नेताहरुले फरक फरक विचार बाहिर ल्याइरहेका छन् । एउटा पक्षले राष्ट्रियताको पक्ष देखाएर सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन भन्दै प्रस्तुत गरेको संविधान संशोधनको पक्षमा मतदान गर्नुपर्ने भनिरहेका छन् भने अर्को पक्षले मधेशको मुद्दामा सरकार सहमत भएर प्याकेजमै संशोधन नगर्दा पक्षमा मतदान नगर्ने भन्दै आइरहेका छन् ।

खासगरि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको बीचमा यस्तो फरकमत आइरहेको छ । बैशाखमा तत्कालिन समाजवादी पार्टी र राजपा नेपालबीच सैद्धान्तिक एकीकरण भएको छ । दुवै दलमा एकीकरण भएपनि केही विषयहरुमा फरक–फरक कुरा आइरहेको छ । दुई पार्टीबीच एकीकरण भएपनि हालसम्म एउटा विज्ञप्तिसम्म जारी गरेको छैन । 

लिपुलेकका लागि नेपाल र भारतबीच देखिएको विवादको बारेमा पनि यी दुई दलले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेका थिए । सीमा विवादको बारेमा हालसम्म जसपा नेपालको आधिकारिक धारणा आएको छैन । नेताहरुले हालसम्म आ–आफ्नो व्यक्तिगत धारणा मात्र सार्वजनिक गर्दै आइरहेका छन् । 

त्यस्तै प्रेम सम्बन्धलाई लिएर जाजरकोटमा भएको घटनाको विषयमा पनि यी दुई पार्टीले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेका छन् । यहाँसम्म कि तत्कालिन राजपा नेपालले संविधान संशोधनको प्रस्ताव छुट्टै दर्ता गराउने निर्णय गर्नुको साथै सरकारले पेस गरेको विधेयकमा मतदान नगर्ने पनि निर्णय गरेको छ । 

उता तत्कालिन समाजवादी पार्टीका केही नेताहरुले सरकारले प्रस्तुत गरेको संशोधन विधेयकको पक्षमा मतदान गर्ने भनिरहेका छन् भने कतिपय नेताहरुले अनभिज्ञता जनाइरहेका छन् । जसपा नेपालका नेता डा.बाबुराम भट्टराईले हिजो संसदमा बोल्दै सरकारले प्रस्तुत गरेको संशोधन प्रस्तावलाई सर्वसम्मतिले पारित गराउने वतावरण बनाउन आग्रह गरेका थिए । ‘अहिले जारी भएको नेपालको नक्सा पहिले नै जारी हुनुपथ्र्यो । ढिलै भए पनि राम्रो भएको छ । सरकारको निर्णयलाई हामीले संविधान संशोधन गरेर वैधानिकता दिँदैछौं । अब हामी सबैले संविधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित हुने वातावरण बनाऔं’ उनले भनेका थिए ।

जसपा नेपालका अर्का नेता राजेन्द्र श्रेष्ठले पनि संशोधन प्रस्तावमा मतदान गर्नुपर्ने प्रतिकृया दिएका छन् । तर सोही पार्टीकी नेतृ रेणु यादवले संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने कि विपक्षमा मतदान गर्ने त्यसबारेमा पार्टीमा कुनै निर्णय नभएको बताएकी छिन् । उनले मतदान गर्नुभन्दा पहिले संसदीय दलको बैठक बस्ने र बैठकले जे निर्देशन दिन्छ त्यही अनुसार हुने बताइन् ।

यो मुद्दामा तत्कालिन राजपा नेपालका नेता भन्दा समाजवादी पार्टीका नेताहरुलाई समस्या देखिएको छ । समाजवादी पार्टीको संगठन देशैभरि रहेको छ । सो पार्टीमा पहाडी नेताहरु पनि रहेका छन् । सरकारले ल्याएको संशोधन प्रस्तावमा यदि समाजवादी पार्टीले मतदान गरेन भने हिमाल तथा पहाडमा रहेको संगठनमा असर पर्ने र पहाडी नेताहरुको चित्त दुख्ने देखिन्छ । यदि मतदान गर्यो भने मधेशी जनता र नेताहरुको चित्त दुख्नेछ । समाजवादी पार्टी राष्ट्रिय पार्टी भएपनि यसको जनाधार मधेशमा मात्र रहेको छ । 

त्यसैले समाजवादी पार्टी अन्योलमा रहेको छ । तत्कालिन समाजवादी पार्टीले मधेशलाई रोज्ने कि सरकारलाई रोज्ने समस्यामा परेको छ । तर तत्कालिन राजपा नेपाल पक्षका नेताहरु यसमा प्रष्ट छन् । उनीहरुले सरकारले ल्याएको संशोधन विधेयकमा आफूहरुको कुनै विमति नभएको तर शुरुदेखि आफूहरुले माग गर्दै आएको संविधान संशोधनमा सरकारले सहमति जनाए मात्र आफूहरुले पनि सहयोग गर्ने नभए नगर्ने प्रष्ट पारेका छन् । 

बिहीबार तत्कालिन राजपा नेपालको संसदीय दलको बैठक बसेर त्यो निर्णय गरेको थियो । जसपा नेपालका नेता लक्ष्मणलाल कर्णले त्यो विषयमा छलफल भएको बताए । उनले आफूहरुले पनि संशोधन विधेयक दर्ता गराउने र त्यसमा सत्तारुढ दलको कस्तो प्रतिकृया आउँछ त्योअनुसार थप निर्णय गर्ने बताए । यस विषयमा जसपा नेपालको संसदीय दलको संयुक्त बैठक बसेर निर्णय लिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप