शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२० औं अन्तराष्ट्रिय दुध दिवसः  लकडाउनका कारण दैनिक १० करोड भन्दा बढी घाटा

सोमबार, १९ जेठ २०७७, १९ : ०६
सोमबार, १९ जेठ २०७७

काठमाडौं । विश्वभरी आज २० औं अन्तराष्ट्रिय दुध विश्व दिवस मनाइँदैछ । नेपालले पनि सन् २०११ देखि हरेक वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आइरहेको छ । यसपटक ‘नियमित दुध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं’ मूल नाराका साथ यो दिवस मनाइरहेको छ । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभाग र नीजि क्षेत्रका केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ लगायत संघसंस्थाले आज विभिन्न कार्यक्रम गरी देशैभरि दुध दिवस मनाएका छन् । 

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनको नेतृत्वमा सन् २००१ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । विश्व अहिले कोरोनाबाट पीडित बनेको छ । यस अवस्थामा दुधलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनमा प्रयोग गर्न सकिने भनेर नै ‘नियमित दुध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं’ भनि नारा दिएको हो ।

कोरोनाका कारण लागू गरिएको लकडाउनका कारण दुध क्षेत्र निकै समस्यामा परेको छ । दुग्ध क्षेत्रको ८० प्रतिशत बजार समाप्त भइसकेको छ । दुध तथा दुग्धजन्य पदार्थको बिक्री २५–३० प्रतिशतमा झरेको छ । बिक्री वितरण नहुँदा ५ अर्ब बराबरको दुग्धजन्य पदार्थ गोदाममा थन्की रहेका छन् । त्यसमध्ये कतिपयको डेट स्पायर हुन लागेको छ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) को मात्र एक अर्ब भन्दा बढीको सामाग्री भण्डारण गरी राखिएको छ । 

देशमा दैनिक औसत ६२ लाख लिटर दुध उत्पादन हुन्छ । यसमध्ये लकडाउनअघि ३१ लाख लिटर दुध बजारमा बिक्री हुने गरेको थियो भने अर्को ३१ लाख दूध किसान आफैंले उपभोग गर्ने गर्दथ्यो । बजारमा बिक्री हुने ३१ लख लिटर दुधमध्ये करिब १७ प्रतिशत  दुध औपचारिक क्षेत्रका डेरी उद्योगहरुले खपत गर्ने र बाँकी ३३ प्रतिशत दुध अनौपचारिक रुपमा विभिन्न तरिकाले खुल्ला रुपमा घरघर पुर्याएर बिक्री वितरण हुने गरेको छ । 

लकडाउनको घोषणा हुनुअघिसम्म औपचारिक र अनौपचारिक रुपमा यो क्षेत्रको माध्यमबाट दैनिक ५ करोड रुपियाँ रकम शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा प्रवाह हुँदै आएको थियो । तर अहिले दुध बिक्रीको बजार ८० प्रतिशतले कम भएको छ । लकडाउनका कारण दैनिक १० करोडभन्दा बढीको नोक्सान दुध क्षेत्रमा भइरहेको डेरी एशोसिएशन नेपालले जनाएको छ । त्यसमा डिडिसीको मात्र दैनिक ३५ लाख रुपियाँभन्दा बढी नोक्सानी भइरहेको छ । 

नेपालमा ६६ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् भने कूल ग्राहस्र्थ उत्पादनमा यसको २७ प्रतिशतको योगदान रहेको छ भने दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ । तर अहिले यो बन्दाबन्दीका कारण दुध क्षेत्र तहस नहस भएको डेरी एशोसिएशन नेपाललका महासचिव प्रल्हाद दाहालले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप