मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाः अन्तिम संस्कार गरेपछि अस्पतालले भन्यो, ‘बिरामी जिउँदै छन्’

मङ्गलबार, २० जेठ २०७७, ०९ : ०५
मङ्गलबार, २० जेठ २०७७

भारतको गुजरातको अहमदाबाद सिभिल अस्पतालमा आइतबार एउटा अचम्मको घटना घटित भयो ।

यहाँ सुरुमा एक परिवारलाई कोभिड–१९ का कारण बिरामीको मृत्यु भइसकेको बताइयो । त्यसको भोलिपल्टै पुनः अस्पतालबाट बिरामीको कोरोना परीक्षण नेगेटिभ आएको र स्वास्थ्यमा सुधार भएका कारण घर लैजान सक्ने खबर प्राप्त भयो ।

उक्त फोन पछि परिवार जब बिरामीलाई लिन अस्पताल पुग्दा पुनः उनीहरुलाई बिरामीको मृत्यु भइसकेको भन्ने खबर दिइयो ।

 निकोल इलाकामा बस्ने देवराम (७१) लाई सास फेर्न समस्या भएपछि २८ मे मा अहमदाबाद सिभिल अस्पतालमा भर्ना गरिएको थियो । देवराम मधुमेहका पनि बिरामी थिए ।

अस्पताल प्रशासनले देवरामका ज्वाईं निलेश निकतेसँग एक सहमति पत्रमा हस्ताक्षर गर्न भन्यो जसमा उपचारको क्रममा बिरामीलाई केही भइहाले अस्पतालको जिम्मेवारी नहुने लेखिएको थियो ।

निलेशले बीबीसी गुजरातीलाई भने, ‘मेरा ससुरालाई सिभिल अस्पताल भर्ना गरिएको थियो जहाँ आजकाल कोभिड–१९ का बिरामीको उपचार चलिरहेको छ । त्यतिबेला उनको सुगर लेभल ५७५ थियो जुन अत्यधिक हो । जब अस्पताल प्रशासनले मलाई सहमति पत्रमा हस्ताक्षर गर्न भने तब मैले आफ्नो ससुरालाई हेर्ने जिद्दी गरेँ । त्यसपछि अस्पतालका कर्मचारीले उनीसँग भिडियो कल गराइदिए । त्यतिबेला उहाँ ठिक देखिनुभएको थियो । त्यसपछि मात्रै मैले हस्ताक्षर गरेँ ।’

अन्तिम संस्कार पछि भनियो, बिरामीको स्थितीमा सुधार छ

निलेशका अनुसार त्यसपछि उपचार सुरु गरियो र उनलाई आफ्नो ससुरा ठिक हुने आशा थियो ।

उनी भन्छन्, ‘अस्पतालको औपचारिकता पूरा गरेर हामी घर गएका थियौं । त्यसको भोलिपल्ट मेरो ससुराको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको खबर आयो । त्यसपछि जब मेरो परिवार अस्पताल पुग्यो तब हामीलाई निलो रङको पीपीई किटमा ढाकिएको एउटा शव सुम्पिइयो । त्यतिबेलासम्म हामीलाई उनी कोरोनाद्वारा संक्रमित भएको रिपोर्ट दिइएको थिएन । अस्पतालका कर्मचारीले हामीलाई उनको कपडा देखाएपछि ससुराको निधन भएको हामीले मान्यौं । त्यतिबेला हामीले उनको अनुहार हेरेका थिएनौं । त्यसपछि हामी अन्तिम संस्कारको तयारीमा व्यस्त भयौं ।’

घटना यत्तिमा मात्रै सिमित भएन । त्यसको भोलिपल्ट निलेशको परिवारलाई पुनः अस्पतालबाट फोन आयो ।

उनी भन्छन्, ‘मेरो ससुराको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको र उहाँलाई जनरल वार्डमा सारिन लागेको बताइयो । अस्पतालले हामीलाई उनलाई घर फिर्ता लैजान सल्लाह दिए ।’

अस्पतालको उक्त फोनले निलेशको परिवारमा त्रास फैलियो, अब उनीहरुले सोच्न थाले कि उनीहरुले देवरामको साटो कसको अन्तिम संस्कार गरे ।

डराएका निलेश र अन्य परिवारका सदस्य पुनः अस्पताल गए, अस्पतालका कर्मचारीले देवरामको मृत्यु भइसकेको बताए र यो प्रमाणित गर्नका लागि आफूहरुसँग कागजातसमेत भएको बताए । परिवारलाई बुझ्न गल्ती भएजस्तो लाग्यो तसर्थ घर फर्किए ।

अर्को एउटा मोडः

यसैबीच निलेशलाई पुनः अस्पतालबाट फोन आयो ।

उनी भन्छन्, ‘यो अस्पतालको तर्फबाट तेस्रो फोन थियो । यसपटक उनीहरुले मेरो ससुराको स्वास्थ्यमा सुधार भइरहेको छ र चिन्ता गर्नुपर्ने केही स्थिती नभएको बताए । जब हामीले उनलाई पछिल्ला दुई फोनबारे बताउँदै आफ्नो ससुराबारे सही जानकारी दिन आग्रह गर्दा उनको स्वास्थ्य अवस्थाबारे यो जानकारी पछिल्लो दुई घण्टा अघिको मात्रै भएको उनले बताए । अस्पतालका कर्मचारीले एकैछिनमा ससुराको मृत्यु भएको बताएका थिए र एकैछिनमा स्वास्थ्यमा सुधार आइरहेको पनि बताएका थिए ।’

अस्पतालका डीनले यो पूरा गडबडीको पुष्टि गरेका छन् । डाक्टर शशंक पांड्याले बीबीसीसँगको कुराकानीमा यो सबै गलत बुझाइका कारण भएको बताए ।

कसरी भयो गडबडी ?

देवरामलाई २८ मेमा सिभिल अस्पताल पुर्याइएको थियो । उनको लक्षण हेर्दै उनलाई गुजरात क्यान्सर रिसर्च इन्स्टिच्युटको कोभिड–१९ वार्डमा भर्ना गरियो जहाँ टेस्टिङका लागि स्याम्पल लिइयो ।

२९ मे दिउँसो देवरामको मृत्यु भयो र उनको शव परिवारलाई सुम्पिइयो । जब कोभिड–१९ का कुनै संदिग्ध व्यक्तिको मृत्यु हुन्छ तब उसलाई सुरक्षा कारणसहित पिपिई किटमा बेर्ने गरिन्छ । त्यसैले परिवारले देवरामको शवलाई पनि त्यसरी नै सुम्पिइयो ।

अन्य फोनवार्ताबारे डाक्टर पांड्याले भने, ‘मृत्यु हुँदासम्म देवराजको कोभिड–१९ को रिपोर्ट आएको थिएन । मृत्युपछि जब रिपोर्ट आयो तब कोरोनाभाइरस नेगेटिभ पाइयो । अस्पतालका कर्मचारीले कोरोनाभाइरस नेगेटिभ आएपछि उनको परिवारलाई फोन गरेर उनलाई जनरल वार्डमा सिफ्ट गर्न लागेको बताए । उनीहरुलाई देवराजको मृत्युबारे थाहा थिएन ।

डाक्टरले पांड्याले शव साटिएको भन्ने कुरालाई अस्विकार गरे र यसलाई दुर्भाग्यपूर्ण गलत बुझाईको रुपमा हेर्न आग्रह गरे । उनले निलेश र देवराजका परिवारका अन्य सदस्यसँग माफीसमेत मागे ।

निलेश अस्पताल प्रशासनको माफीबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘उनीहरुले हामीसँग माफी मागिसकेका छन् र हामी यो घटनालाई लामो समयसम्म तन्काउन चाहन्नौं । तर यो गलत बुझाईका कारण मेरो परिवार दोहोरो मानसिक तनावसँग जुग्रनुपर्यो । यस्तो कसैसँग पनि नहोस् भनेर प्रार्थना गर्छौं । ’

देवरामको परिवारमा उनकी श्रीमती, तीन छोरी, दुई ज्वाईं र एक नाती छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप