बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कश्मीर फिल्म फेस्टिभल स्थगित, नयाँ मिति अगस्टमा घोषणा हुने

मङ्गलबार, २० जेठ २०७७, ११ : ४६
मङ्गलबार, २० जेठ २०७७

कोभिड–१९ महामारीका कारण पाँचौ संस्करणको ‘कश्मीर वर्ल्ड फिल्म फेस्टिभल’ स्थगित भएको छ । सात दिने फेस्टिभल १० जुन २०२० देखि सुरु हुने तय भएको थियो । 

कश्मीर वल्र्ड फिल्म फेस्टिभलको सल्लाहकार समितिसँगको छलफलपछि यस्तो निर्णय गरिएको फेस्टिभल निर्देशक मुस्तक अलि अहमद खानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
नयाँ मितिबारे अगस्ट वा सेप्टेम्बरमा निर्णय लिइने विज्ञप्तिमा जनाइएको छ । ‘हाम्रो भावना उच्च छ । हामी फेस्टिभलको भविष्यबारे आशावादी छौं । हामी फेरि उठेनेछाैं र चम्कनेछौं,’ विज्ञप्तिमा लेखिएको छ । 

जुलाई २०१७ देखि कश्मीर फिल्म फेस्टिभल आयोजना सुरु भएको थियो । अहिलेसम्म चारवटा संस्करण पूरा भइसकेका छन् । विगत संस्करणहरुमा यस फेस्टिभलले तब्बु, मधुर भण्डारकर, रन्जित कपूर, राजु जि चन्दा, राहुल मित्रा, सइद मिर्जा, गोविन्द निहालनी, इमान सिद्धिकी, प्रिति सप्रु, अर्जुमन मुगल, राहुल भाट, इमरान खान, बेद राही, सतिश कउल, वाणी त्रिपाठीलगायत सेलिब्रेटीहरुलाई सम्मान गरिसकेको छ । 

यस फिल्म फेस्टिभलमा पछिल्ला चार संस्करणमा ४ सय ६० भन्दा धेरै फिल्मले स्क्रिनिङका लागि आवेदन दिएका थिए, त्यसमध्ये १ सय ३६ फिल्म प्रदर्शनमा आए । अफगानिस्तान, बंगलादेश, इरान, इटली, जापान, जोर्डन, कोरिया, लेबनान, नेपाल, पोल्यान्ड, स्पेन, ताजकिस्तान, ट्युनिसिया, टर्की अमेरिकालगायत देशका फिल्म यहाँ देखाइसकिएको छ । दो बिगाह जमिन, गाईड, बजरंगी भाइजान, दंगल , लैला मज्नु, काबुलीवाला, सिटिजन केन, बाइसाइकल थिभ्स्, लाईफ ईज ब्युटिफुललगायत चर्चित हलिउड तथा बलिउड फिल्मको स्क्रिनिङ यस फेस्टिभलमा भइसकेको छ । 

यससँगै अहिलेसम्म विभिन्न लेखक, निर्देशक, अभिनेतालगायतको सहभागितामा फिल्म मेकिङ वर्कशप, मास्टर क्लास आयोजना भएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप