मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘सशस्त्र द्वन्दको नेतृत्वकर्ता अहिले गृहमन्त्री हुनुहुन्छ, कुन-कुन ठाउँमा बम लुकाइएको छ खोज्नुपर्‍यो’

मङ्गलबार, २० जेठ २०७७, १४ : ३१
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर डिस्पोजल गर्न सरकारसँग आग्रह गरेकी छिन् । रोल्पामा बैशाख १८ गते बम विस्फोटबाट ४ जना बालबालिकाको निधन भएको स्मरण गराउँदै उनले यस्तो आग्रह गरेकी हुन् । तत्कालिन नेकपा माओवादीले सशस्त्र विद्रोहका बेला लुकाएका बमहरु पड्केर जनता त्रसित भएको भन्दै उनले तत्काल खोजी कार्य गरी डिस्पोजल गर्न आग्रह गरिन् । उनले भनिन्, ‘लुकाइ छिपाइ राखेका हातहतियार अहिले पनि पड्किने र जनताहरु त्रसित हुने क्रम अहिलेसम्म रोकिएको छैन् । अहिले माओवादी सरकारमा छ । सशस्त्र द्वन्दको नेतृत्वकर्ता अहिले गृहमन्त्री हुनुहुन्छ । तसर्थ ज्ञानका आधारमा जानकारीका आधारमा कुन–कुन ठाउँमा बमहरु लुकाइएको छ खोजी गरी डिस्पोजल गर्न आगह गर्न चाहान्छु ।’

सांसद दिलकुमारी थापा रावलले लकडाउनको अवधिमा ५८ जना सुत्केरी र गर्भवती महिलाहरुको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सुत्केरी र गर्भवति महिलाहरुको क्वारेन्टाइनमै मृत्यु भएको विषयमा सरकारले सत्यतथ्य सदनमा जानकारी गराउनुपर्ने माग गर्दै उनले जोखिममा रहेका महिला र किशोरीहरुका लागि छुट्टै निर्देशिका बनाएर सरकारले लागू गर्नुपर्ने बताइन् ।

स्वास्थ्य संस्थामा गर्भवती महिला र सुत्केरी महिलाहरुको सहज उपचार सेवा प्रदान गर्न उचित व्यवस्थापन गर्न पनि उनले आग्रह गरिन् । अहिले घरेलु हिंसा, बलात्कारका घनाहरु बढिरहेको र यसको न्यूनिकरणका लागि सरकारले निर्देशिका बनाएर अगाडी बढ्न आग्रह गरिन् । सांसद विमला राई पौडेलले विगत वर्षहरुमा जनचेतना अभावका कारण गर्भवती र सुत्केरी महिलाहरुको ज्यान जाने गरेकोमा अहिले उपचार अभावमा मृत्यु हुने गरेको बताइन् । उपचार नपाएर क्वारेन्टाइनमा सुत्केरी महिलाहरुको मृत्यु भएको समाचारहरु आइरहेको प्रति उनले सरकारको ध्यानाकर्षण गराइन् । पर्याप्त पीसीआर परीक्षण नहुनु, स्वास्थ्य उपकरणको अभावमा गर्भवती महिलाहरुको चेकजाँच नुहनुले पनि घटनाहरु घट्ने गरेको उनले बताइन् । लक डाउनमा समयमै स्वास्थ्य संस्था पुग्न नसक्नु र स्वास्थ्य संस्थामा पनि उपचार सेवा पाउन नसक्ने अवस्थाको अन्त्य गर्न उनले छुट्टै निर्देशिकाको आवश्यकता औल्याइन् । आत्महत्या र घरेलु हिंसाका घटनाहरु बढिरहेको अवस्थामा सरकारले यसतर्फ ध्यान दिनु जरुरी रहेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप