शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको ७१ औं दिन उपत्यकामा सवारी चाप बढ्यो

मङ्गलबार, २० जेठ २०७७, १५ : १२
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी भएपनि उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । 

लामो समय सम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको हो । 

मंगलबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसाधनको आवागमन बढेको पाइएको छ । प्रहरीले पनि चेकजाँचलाई केही खुकुलो बनाएको छ । 

अत्यावश्यक सेवाका सवारी साधन र पास लिएका बाहेकलाई पनि सोधपुछ गरी पठाउने गरेको छ ।

 काम बिना सवारी सञ्चालन गर्नेलाई भने नियन्त्रणमा लिई कारबाही गरेको छ । उपत्यकाका भित्रि सडकमा रहेका अत्यावस्यक खाद्यान्न तथा तरकारी पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरिरहेको देखिन्छ ।

यस्तै आज लकडाउनको ७१ दिन पुगेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ । जेठ २० गते (आज) सम्मका लागि तोकिएको लकडाउन शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको थियो । तर यस बीचमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भइराखेको बताइएको छ । 

शनिबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनको नयाँ ढाँचा तयार गर्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन समेत दिएको थियो । सोही निर्देशन अनुसार समितिले आज लकडाउनको मोडालिटीमा छलफल गर्न बैठक आह्वान गरेको छ । लकडाउन जारी हुँदा चैत ११ गते दुई जना मात्रै संक्रमित रहेकोमा अहिले लकडाउनको ७१ दिन पुग्दा १ हजार ८ सय ११ पुगेको छ । यसबीचमा ८ जनाको मृत्यु पनि भइसकेको छ । लकडाउन भएपनि संक्रमितको संख्याको वृद्धिदर बढ्दै जाने र अर्थतन्त्रमा पनि गम्भिर असर पर्दै जाने भएकाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकारलाई दबाब पर्दै गएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप