मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लगातारको लकडाउनले भोकमरीको खतरा बढ्यो: राप्रपा

मङ्गलबार, २० जेठ २०७७, १६ : ०९
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अपनाएको लकडाउनको दुई महिनाभन्दा बढिको समयमा अपनाउनुपर्ने अन्य उपाय, योजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकोले कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना गरेको जनाएको छ ।

राप्रपाका तीनै अध्यक्ष पशुपतिशमशेर राणा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीले लकडाउनको समयको उपयोग गरेर नेपाल सरकारले कोरोनाविरुद्ध औषधी उपलब्धी, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेको भन्दै औषधी खरिदमा भएको भ्रष्टाचारलाई पनि छोप्ने प्रयासले जनतामा निरासा र आक्रोश दुवै बढेर गएको जनाएका छन् ।

उनीहरुले कोरोना संक्रमण विरुद्ध व्यवस्थापकीय पक्षमा नेपाल सरकारको लापरवाही चिन्ताको विषय भएको पनि जनाएका छन् । ‘क्वारेन्टिन र आइसोलेसनका व्यवस्थामा देखिएको योजनाको अभाव र लापरवाही प्रवृत्तिले जनता पीडित भएका छन् र रोगको बढ्दो चापको परिप्रेक्षमा आउँदा दिनहरुमा सरकारीयन्त्र निरिह अवस्थामा पुग्ने र ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना बढेको छ । यसबारे सरकार वेखबर देखिन्छ’, अध्यक्षत्रयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै राप्रपाले कोरोना नियन्त्रणको ठूलो जिम्मा स्थानीय तहमा दिएपनि यसबारे साधन, श्रोत र स्पष्ट मार्गनिर्देशनको अभावमा स्थानीय सरकारहरुले प्रभावकारी काम गर्न नसक्दा रोगको समयमा पनि स्थानीय निकायहरु दलगत राजनीति भन्दा माथि उठ्न नसकेको जनाएको छ ।

‘कोरोना पीडित ज्यालादारी मजदुर र सेवा क्षेत्रमा लागेका हजारौ व्यक्तिहरु आम्दानी विहिन भएका छन् । उनीहरुलाई प्रभावकारी रुपमा न राहतको व्यवस्था छ न आफ्नो गाउँमा जानको लागि कुनै सहयोग छ । हजारौ परिवार विचल्लीमा छन् र भोकभोकै रहने स्थिति छ तर सरकार किंकर्तब्यविमुख रहेको छ । भारतबाट हजारौको संख्यामा नेपालीहरु देशमा आउँदैछन् । उनीहरुको स्वास्थ्य स्थितिबारे साधारण अनुगमन गर्न पनि राज्य असफल हुँदैछ । उनीहरु ग्रामीण क्षेत्रमा पुग्दा त्यसबाट कोरोना गाउँ–गाउँमा फैलिने सम्भावनाबारे राज्य आफ्नो जिम्मेवारीबाट पन्छिएको देखिन्छ । यो भनेको सरकार नहुनुको स्थिति हो’, राप्रपाको भनाई छ ।

राप्रपाले कोरोनासँग लड्न सरकारको अहिलेसम्मको गतिविधि लकडाउन बाहेक अन्य कुनै प्रभावकारी प्रयास नभएको भन्दै महिनौसम्म अर्थतन्त्र ठप्प हुँदा देशमा र विशेष गरेर दूर्गम क्षेत्रमा भोकमरीको खतरा बढेर गएको पनि जनाएको छ । कोरोना नियन्त्रण गर्ने उपप्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्री, स्वास्थ्यमन्त्री लगायत भएको उच्चस्तरीय समिति रहेपनि समितिले समस्याको समाधान खोज्नेतर्फ कुनै विश्लेषण, चिन्तन र दिशावोध नगरेको जनाएको छ । राप्रपाले कोरोना नियन्त्रण र अर्थतन्त्रको व्यवस्थापन र निम्न आय भएका गरिब, ज्यालादारी मजदुर र असहाय जनताप्रति सम्वेदनशील भएर नेतृत्व दिने काम नेपाल सरकारले नगरेको हो  या गर्न नसकेको भन्दै यो निष्कृयता कायम रहने हो भने देशले ठूलो पीडा र कष्ट भोग्नु पर्नेतर्फ सरकारको ध्यानआकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप