शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा बसेर भाषण गर्दैमा प्रदेशको अवस्था सुध्रिदैन : मुख्यमन्त्री राउत

मङ्गलबार, २० जेठ २०७७, १६ : ४३
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले काठमाडौंमा बसेर भाषण गर्दैमा प्रदेशको अवस्थामा सुधार हुन नसक्ने टिप्पणी गरेका छन् । 

मंगलबार श्रम पत्रकारहरुसँग अनलाइन भेटघाट गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारले निश्चित योजना नबनाई भाषण मात्रै गरेर कोरोना रोकथाम र नियन्त्रण हुन नसक्ने बताएका हुन् । 

प्रदेश नम्बर २ मा कोरोनाको संक्रमण फैलिइरहेको र यसको प्रमुख कारण सीमामा कडाइ नहुनु तथा क्वारेन्टिन राम्रो नहुनु रहेको भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘काठमाडौंको मन्त्रालय, मिडिया हाउस र बीआईसीसीमा बसेर भाषण गर्दैमा स्थिति सिध्रिदैन । संघीय सरकारले कोरोना रोकथामका लागि कति बजेट दियो ? कुन कुन पदाधिकारी स्थानीय स्तरमा पुगे ? कुन मन्त्रीले फोन गरे सोध्नुभयो पालिकाहरुलाई ? त्यसकारण अरुलाई निर्देशन दिएर मात्रै हुँदैन, स्थानीयस्तरको अवस्था पनि बुझ्नुपर्छ । उनीहरु पनि फिल्डमा आउनुपर्छ । आवश्यकमात्रामा बजेट पनि दिनुपर्छ ।’

स्थानीय तहमा बजेट नै गएन
मुख्यमन्त्री राउतले संघीय सरकारले स्थानीय तहमा बजेट नपठाएको कारण स्थानीय तहको क्वारेन्टिन ‘मौतका कुवा’ बनेको समेत बताएका  छन् । 

उनले भने, ‘हामीले तयार गरेको क्वारेटिनन राम्रो नै छ । तर वडा स्तरमै क्वारेन्टिन बनाइएकोे छ, त्यो राम्रो छैन । त्यहाँ सुत्न सक्ने अवस्था पनि छैन, उनीहरुले प्रयोग गर्ने शौचालय राम्रो छैन र एक संक्रमितकै कारण अरु पनि संक्रमित बनिरहेका छन् । यहाँहरुले जे सुन्नुभएको छ, त्यसमा धेरै सत्यता छ र स्थानीय तहले बनाएको क्वारेन्टिन सन्तोषजनक छैन । त्यसकारण त्यो मौतका कुवा जस्तै बनेको छ ।’

बजेट अभावले राम्रो क्वारेन्टिन बन्न सकेन
स्थानीय तहमा राम्रो क्वारेन्टिन बन्न नसक्नुको कारण बजेटको अभाव भएकोसमेत मुख्यमन्त्री राउतले बताएका छन् । स्रोत, साधन र जनशक्तिको अभावका कारण नै स्थानीय तहमा बनेको क्वारेन्टिन राम्रो  नबनेको उनले स्वीकार गरे । उनले भने, ‘गाउँपालिकालाई सोध्नुहोस्, संघीय सरकारले कति बजेट पठाए भनेर, जवाफ आउँछ शून्य । संघीय सरकारले केही मात्रामा भिटिएम पठाएपनि अन्य सहयोग छैन भन्दा पनि हुन्छ । हामीले प्रदेश सरकारबाटै प्रहरी कार्यालय, स्वास्थ्य चौकी, अस्पताल आदिलाई बजेट दिएका छौँ । हामीले आफ्ना स्रोत साधनले भ्याएसम्म काम गरेकै छौँ र हामी हाम्रो जिम्मेवारीबाट भागेका छैनौँ ।’

विदेशबाट फर्केका युवालाई कृषिमा लगाउने तयारी
राउतले अब विदेशबाट फर्केका युवाहरुलाई कृषिमा संलग्न गराउँदै कृषिको उत्पादकत्व बढाउने योजना रहेको बताए । उनले भने, ‘प्रदेश २ सरकार कृषि क्षेत्रमा युवाहरुलाई लगाउने तयारी गरिरहेको छ । अब आउने युवा जनशक्तिलाई कृषि उत्पादनमा लगाएर उत्पादकत्व बढाउने गरी हामी काम गर्नेछौँ ।’ 

राउतले थपे, ‘उनीहरुको घर र खेत बन्धकीमा छ, ऋण तिर्न सकिएको छैन । प्रदेश सरकारले जो पीडित छन्, उनीहरुलाई रोजगारी र सिप दिने लगायतका काम गर्ने तयारी गरिरहेको छ । यस कार्यमा सरकार गम्भीर छ ।’
राउतले थपे, ‘प्रदेश सरकारले उहाँहरुका लागि स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई रोजगारी दिने योजना बनाउँदैछ । र, मुख्यतः कृषिका लागि ऋण दिने र उत्पादकत्व बढाउने गरी हामीले काम गर्दैछौँ ।’ 

मुख्यमन्त्री राउतले सीमा व्यवस्थापमा केही समस्या रहेको स्वीकार गरे । उनले भने, ‘सीमा व्यवस्थापनमा केही समस्या नै छ । तर मुख्य नाका हुँदै आउनेहरुलाई सम्बन्धित पालिका भित्रै पठाएर क्वारेन्टिनमा राख्ने गरिएको छ । अहिले गाउँगाउँ र टोलटोलमा पनि जागरुकता पुगेको छ । कोही नयाँ व्यक्ति आउनेबित्तिकै स्थानीयले नै प्रहरीलाई खबर गरेर क्वारेन्टिनमा राख्ने गरेका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप