शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाहुबली सिमेन्ट : ढलान नै कमजोर बनेपछि न्याय खोज्दै उपभोक्ता

बुधबार, २१ जेठ २०७७, १२ : ५४
बुधबार, २१ जेठ २०७७

नेपाली भाषामा बाहुबली शब्दले अत्यन्तै शक्तिशाली अर्थात् बलवान् भन्ने बुझाउँछ । यही नामको प्रयोग गरेर एक सिमेन्ट कम्पनीले आफ्नो उत्पादन पनि सुरु गरेको थियो । आफ्नो उत्पादन एकदमै बलियो र राम्रो छ भन्ने देखाउन र बुझाउनका लागि बालाजी सिमेन्ट इन्डस्ट्रिजले ‘बाहुबली’ नामको सिमेन्ट उत्पादन गर्दै बजारमा पठाएको थियो ।

तर जस्तो नाम छ काम भने त्यस्तो बाहुबली हुन नसकेपछि एक उपभोक्ता यतिबेला तनावमा छन् । काठमाडौँको तारकेश्वर नगरपालिकामा पर्ने फुटुङका एक उपभोक्ता बाहुबली सिमेन्टको कमजोर गुणस्तरका कारण अहिले तनावमा छन् ।

केही दिनअघि बाहुबली सिमेन्टको प्रयोग गरी घर ढलान गर्दा ढलान चिरा चिरा मात्रै परेन, ढलानबाट पानीसमेत चुहिन थाल्यो । ढलान गरेको २४ घण्टाभन्दा बढी समय हुँदा पनि ढलान बसेन भने सानो छेस्कोले घोच्दा पनि ढलान भत्कन थाल्यो ।

पहिले ती राम केसी (नाम परिवर्तन) ले ठेकेदारलाई गाली गर्न थाले । घरको ढलान गर्ने ठेकेदारले सिमेन्ट, बालुवा र गिट्टीको मिश्रण राम्रो नबनाइदिएको भन्दै उनले गाली गरे । तर ठेकेदारले पहिलेजस्तै गरेको र अहिले पनि त्यसैगरी बनाएको तर सिमेन्ट राम्रो नभएको कारण समस्या आएको हुनसक्ने बताए ।

केसीले ढलान गरेर बाँकी रहेको करिब १० बोरा सिमेन्टमध्ये एउटा बोराको सिमेन्ट फोरे । अनि सिमेन्ट निकालेर हातमा राखे । सिमेन्टमा त गिर्खा आउन थालिसकेको रहेछ । अनि सिमेन्टको रङ पनि जस्तो हुनुपर्ने त्यस्तो समेत रहेनछ ।

ढलान हुने अघिल्लो रात मात्रै झारियो सिमेन्ट

हुन त केसीले त्यसअघि प्रयोग गरेको नाम चलेको सिमेन्ट नै मगाएका थिए । डिलरले पनि नाम चलेको पहिलेको सिमेन्ट नै ल्याइदिने भनेको थियो । तर लकडाउनको समय भएकाले न समयमै उनको घरमा सिमेन्ट आइपुग्यो न त उनले भनेको सिमेन्ट नै आयो ।

लकडाउनको अघिल्लो दिन रातको ९ बजे मात्रै उनको घरमा सिमेन्ट आइपुग्यो । लकडाउन भएको कारण प्रहरीले दुःख दिने भन्दै केसीको घरमा ढलानको अघिल्लो दिन राति ९ बजे बाहुबली सिमेन्ट आइपुग्यो ।

केसीले आफूले मगाएको सिमेन्ट बाहुबली नभएको र नामै नसुनिएको सिमेन्ट प्रयोग नगर्ने बताए । तर पनि जुन डिलरले सिमेन्ट झारिदिएको थियो, उसले ओपीसी सिमेन्ट नै भएको कारण केही फरक नपर्ने बतायो । सोझा केसीसँग अर्को विकल्प पनि थिएन । किनभने भोलि बिहान ६ बजेदेखि घरको ढलान भएको कारण मन नमाने पनि उनी त्यही सिमेन्ट प्रयोग गर्न बाध्य भए ।

बिहान ६ बजेदेखि नै ढलान सुरु भयो । ठेकेदारले सिमेन्ट, बालुवा र गिट्टी घोल्ने मेसिन पनि ल्याएको थियो । पहिलो र दोस्रो ढलान गरिसकेका उनको यो तेस्रो ढलान थियो । त्यसकारण उनी पनि घरको ढलानतिर लागे । आफू बस्ने घर बलियो बनाउने भन्दै उनले ठेकेदारलाई कम्प्रमाइज नगर्न भने । ठेकेदारले पनि मिहिनेत गरेर ढलान गरिदिए ।

अपरान्ह १२ बजे नै केसीको घरको ढलान सकियो । घरको ढलान सकेपछि उनले ठेकेदारसहित कामदारलाई भोजसमेत खुवाए । त्यस दिन साँझपख पानी आएकाले ढलानमा पानी हाल्नु परेन ।

भोलिपल्ट बिहानै उनी ढलान भएको स्थानमा पुगे । ढलानको केही स्थानमा चिरा परेको देखे । उनले पानी नहालेको कारण पो त्यस्तो भएछ कि भनेर हतारहतार पानी भरे । ढलानको चारैतिर सिमेन्ट र बालुवाको घेरा बनाइसकेको कारण उनले पानी हाले र पहिलो तल्लामा झरे ।

दिनभर उनी अरू काममै व्यस्त भए । तर जब साँझपख घरको छतमा पुगे ढलानमा झनै बढी चिरा परेको देखे । अनि ढलानको बीच बीचबाटै पानी चुहिएको पनि उनले देखे । त्यसलगत्तै उनले ठेकेदारलाई बोलाए । ठेकेदारले भोलिपल्ट मात्रै आउनसक्ने बताए । केसी भोलि बिहानको प्रतीक्षामा रहे ।

बिहान ठेकेदार आएपछि हेर्दा ढलानमा अझै बढी चिरा परेको थियो । त्यसपछि केसीले ठेकेदारसँग कुरा गरेपछि मात्रै सिमेन्टमा समस्या भएको थाहा पाए ।

सिमेन्ट गुणस्तरहीन भएको पत्ता लागेपछि केसीले सुरुमा डिलरलाई फोन गरे । डिलरले सिमेन्टको मात्रा नपुगेको हुनसक्ने भन्दै सिमेन्टको घोल बनाएर हाल्न भने । ठेकेदारले पनि सिमेन्टको घोल बनाएर हालिदियो । बाहिर देखिएको चिरा टालिए पनि पानी चुहिन भने छाडेन ।

त्यसपछि उनले सिमेन्टको बोरामा अझै हेरे । सिमेन्टको उत्पादन मिति पनि हेर्न खोजे । तर कहीँ पनि उत्पादन भएको मिति उल्लेख भएको थिएन । यद्यपि बोरामै उपभोग्य समय उत्पादन भएको मितिले ३ महिनाको हुने अर्थात् ‘बेस्ट बिफोर थ्री मन्थस्’ लेखेको देखे ।

उनले आफ्नो घरको ढलान गर्दा लकडाउन भएकै दुई महिनाभन्दा बढी भइसकेको थियो । त्यसपछि उनले डिलरलाई यो सिमेन्ट कहिलेको हो भनेर सोधे । डिलरले लकडाउन हुनुभन्दा दुई दिन अगाडि मात्रै झारेको भनेर जवाफ दिए ।

डिलरले केसीलाई सिमेन्टको म्याद नसकिएको भन्दै फकाउन थाले । यद्यपि जीवनभरमा एक पटक बनाइने घर नै गुणस्तरहीन हुने डर भएपछि केसीले नेपाल गुणस्तर तथा नापतौल विभागमा उजुरी गरे र सिमेन्टको गुणस्तरबारे छानबिन गरिदिन आग्रह गरे । त्यसै समयमा उनले उपभोक्ताकर्मीलाई पनि बोलाए र रातोपाटीलाई पनि सम्पर्क गरे ।

रातोपाटीका प्रतिनिधि उनको घरमा पुग्दा पनि घरको छतबाट पानी चुहिरहेको थियो । छतको केही भागमा अझै पनि चिरा परेको देखिन्थ्यो । केसी उपभोक्ता अधिकारकर्मी र रातोपाटीसँग ‘न्याय’ दिलाइदिन आग्रह गरिरहेका थिए । उनी भन्दै थिए, ‘नाम त बाहुबली लेखेको थियो । तर बाहुबली सिमेन्ट त कामै नलाग्ने रहेछ ।’

जब ढलानमा समस्या भएको र सिमेन्ट गुणस्तरहीन भएको कारण न्याय खोज्ने भन्दै केसी अगाडि बढे, त्यसपछि बल्ल बाहुबली सिमेन्टले केसीलाई सम्पर्क गर्यो । सुरुमा माछापोखरीमा रहेको डिलरले वास्ता नगरे पनि त्यहाँ उपभोक्ता अधिकारकर्मी र सञ्चार माध्यम पनि पुगेको कुरो बाहुबली सिमेन्टले थाहा पायो, त्यसपछि बल्ल बाहुबली सिमेन्टले केसीको समस्याबारे सुन्न थाल्यो ।

सिमेन्ट आएको झण्डै ५ महिना भइसकेको थियो

जब सिमेन्टमा समस्या भएकाबारे बाहुबली सिमेन्टले जानकारी पायो, त्यसपछि छानबिन गर्दा पत्ता लाग्यो सिमेन्ट त पहिले नै एक्स्पायर भइसकेको रहेछ । बाहुबली सिमेन्टको नवलपरासीस्थित उद्योगबाट माछापोखरीमा रहेको उक्त डिलरमा २०७६ पुस २३ गते अन्तिम पटक सिमेन्ट झरेको थियो । उक्त डिलरले बिक्री गरेको सिमेन्ट पनि त्यही समयको थियो कि थिएन भन्ने पनि अझै खुलेको छैन । तर पनि उक्त डिलरमा सिमेन्ट झरेको मितिले पनि सिमेन्ट बिक्री हुँदा ४ महिना २० दिन भइसकेको थियो ।

रातोपाटीलाई प्राप्त बिलअनुसार पनि बालाजी सिमेन्ट उद्योगले माछापोखरीमा रहेको उक्त डिलरलाई पुस २३ गते अन्तिम पटक सिमेन्ट दिएको देखिएको छ ।

हेर्नुहोस् बिल

तर डिलरले पनि लकडाउनको अघिल्लो दिन मात्रै सिमेन्ट झारेको भन्दै सिमेन्टको डेट एक्स्पायर नभएको भन्दै आफ्नो बचाउ गरिरहेको थियो ।

सिमेन्ट एक्स्पायर नै भएको हो

यस सम्बन्धमा के भएको हो ? तपाईंको सिमेन्टको गुणस्तर के हो ? भन्ने रातोपाटीको प्रश्नमा बाहुबली सिमेन्टका प्रेस संयोजक उमेश श्रेष्ठले सिमेन्टको गुणस्तर कमजोर भएको नभई उक्त सिमेन्टको डेट एक्स्पायर भएका कारण समस्या आएको बताए ।

उनले भने, ‘अहिले जुन डिलरबाट गएको सिमेन्टमा समस्या भएको छ त्यो सिमेन्ट झण्डै ५ महिना पुरानो सिमेन्ट हो । हामीले लकडाउन सुरु भएपछि काठमाडौँमा सिमेन्ट पठाएकै छैनौँ । त्यसकारण सिमेन्ट नयाँ हुने कुरा नै भएन । त्यो सिमेन्ट म्याद गुज्रिएकै सिमेन्ट हो र त्यसैकारण समस्या भएको हो ।’

बाहुबलीको अनुगमनमा पनि संरचना कमजोर नै देखियो

सिमेन्टमा समस्या भएका कारण घरको ढलान चर्किएको र पानी चुहिएको गुनासोपछि बाहुबली सिमेन्टको तर्फबाट प्राविधिक टोली पनि अनुगमनमा गएको थियो । अनुगमनका क्रममा बाँकी रहेको सिमेन्टमा पनि गिर्खा परेको र सिमेन्टको डेट एक्स्पायर भएको तथा काम नलाग्ने अवस्थामा पुगेको भन्ने रिपोर्ट दिएको छ ।

आफ्नै उत्पादनको सिमेन्टमा कैफियत देखिएपछि अहिले बाहुबली सिमेन्टले डिलरमार्फत् नै पीडितलाई क्षतिपूर्ति भराउने प्रयास गरिरहेको छ । बालाजी सिमेन्ट इन्डस्ट्रिजका प्रेस संयोजक उमेश श्रेष्ठले उत्पादित सिमेन्टमा कैफियत भएको नभई डेट एक्स्पायर भएको सिमेन्ट बिक्री गरेको कारण समस्या भएकाले डिलरबाटै क्षतिपूर्ति भराउन निर्देशन दिइएको बताए ।


समाचार आए क्षतिपूर्ति नदिने चेतावानी

पीडितले न्यायका लागि भन्दै उपभोक्ता अधिकारकर्मी र रातोपाटीलाई सम्पर्क गरेको भए पनि पछिल्लो समय भने पीडित आफैँले समाचार हालिदिन आग्रह गरिरहेका छन् । उद्योग र डिलरले समाचार आएको खण्डमा क्षतिपूर्ति नै नदिने भन्दै समाचार प्रकाशन तथा प्रसारण नगर्न दबाब दिने गरेका छन् ।

जब रातोपाटीले समाचार सङ्कलन गर्यो, पीडित पक्षले एक सातासम्म समाचार नहालिदिन आग्रह गरेका थिए । घरको ढलान नै भत्काएर नयाँ बनाउने वा क्षतिपूर्ति लिएर मिलाउने भन्ने स्म्बन्धमा छलफल भइरहेकाले समाचार प्रकाशन नगरिदिन बारम्बार आग्रह गरेका थिए ।

पीडितकै आग्रहमा रातोपाटीले एक सातासम्म समाचार प्रकाशन नगरेको थियो । समाचार आएको खण्डमा डिलर वा उद्योगले क्षतिपूर्ति पनि नदिने र पछि घर बेच्नुपरेमा घर पनि नबिक्ने भन्दै समाचार रोक्न डिलर र उद्योगले दबाब दिएका थिए ।

वाटर प्रुफिङ गरियो, सिमेन्टको पैसा फिर्ता दिने र केही वर्ष इन्स्योरेन्स गरिदिने तयारी

ढलान गरिएको सिमेन्टमै समस्या आएपछि यतिबेला पीडितको घरको ढलानमा लिक्युड राखेर वाटर प्रुफिङ गरिएको छ । साथै सिमेन्ट किन्दा लिएको पैसा फिर्ता दिने र केही वर्ष घरको इन्स्योरेन्स गरिदिने गरी सहमति हुन लागेको छ ।

बालाजी सिमेन्टका अनुसार पीडित पक्षले सुरुमा ५० वर्षका लागि इन्स्योरेन्स गरिदिन आग्रह गरेको भए पनि त्यो सम्भव नभएको भन्दै केही वर्षका लागि इन्स्योरेन्स गरिदिने र तत्काल क्षतिपूर्ति दिलाउने गरी छलफल भइरहेको बालाजी सिमेन्टले बताएको छ ।

जिम्मेवारी उद्योगकै : गुणस्तर तथा नापतौल विभाग

बजारमा डेट एक्स्पायर भएको सिमेन्टको बिक्री वितरण भएको भए पनि यसको जवाफदेही भने उद्योग पनि हुनुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले डेट एक्स्पायर भएको वस्तु बिक्रीवितरण गर्न नपाइने भन्दै त्यसको जिम्मेवारी र जवाफदेहिता उद्योगले नै लिनुपर्ने बताए । उनले भने, ‘आफ्नो उत्पादन कहाँ पुगेको छ, कुन अवस्थामा छ भन्ने कुरा र गुणस्तरको सुनिश्चितता गर्ने काम उद्योगकै हो । मैले बेचिसकेको थिएँ भनेर उद्योग उम्कन मिल्दैन । उद्योगले डिलरसँग के सम्झौता गरेको छ, त्यो उद्योगको कुरा भयो । तर हामीले जवाफदेहिता खोज्ने भनेको उद्योगसँग नै हो र यस्तो कुराको जिम्मेवारी उद्योगले नै लिनुपर्छ । यसको सम्पूर्ण जिम्मेवारी उद्योगकै हुन्छ ।’

(पीडितको आग्रहमा नाम, थर र ठेगाना परिवर्तन गरिएको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप