केन्द्रीय संस्करण

मेगा बैंकले गण्डकी विकासलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी १३ अर्ब १३ करोड पुग्ने

person explore access_timeजेठ २१, २०७७ chat_bubble_outline0

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

बुधबार काठमाडौंमा भएको विशेष साधारण सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गर्नका लागि गर्नुभएको प्रस्ताव पारित भएको हो । 

मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ । यो प्राप्ति पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए । 

साधारण सभामा बोल्दै मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अभैm बढ्ने बताइन् ।

ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर’ पुरस्कारबाट समेत सम्मानित भएको स्मरण गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्ति पश्चात् ५८ वटा जिल्लामा फैलने जानकारी दिइन् । यसैगरी, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने सिइओ खुञ्जेलीले जानकारी दिइन् । 

उनका अनुसार, गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ भने निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुने भएको छ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् । 

यसै बीच, पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबारकै दिन सम्पन्न विशेष साधारण सभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले यस प्राप्तिका लागि पेश गर्नुभएको प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ । 

दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.