प्रहरीले सीमा नाघेको भन्दै टाइगर उड्सको विरोध
एजेन्सी । प्रहरी नियन्त्रणकै क्रममा मारिएका अश्वेत युवा जर्ज फ्लोइडको विषयलाई लिएर यतिबेला अमेरिकाभर आन्दोलन चर्किरहेको छ । यस घटनाबारे अन्तत अमेरिकी गल्फ स्टार टाइगर उड्सले मुख खोलेका छन् ।
‘मेरो हृदय जर्ज फ्लोइड, उनका प्रियजन र चोट पुगेका हामी सबैका पक्षमा छ,’ विज्ञप्तिमा उड्सले भनेका छन्, ‘कानून कार्यान्वयन गर्ने व्यक्तिहरुप्रति मैले सधैं उच्च सम्मान गर्दै आएको थिए र छु । उनीहरुले कहाँ र कसरी बल प्रयोग गर्ने भएर कति धेरै तालिम लिएका हुन्छन् । यो स्तब्धकारी ट्रयाजिडीले स्पष्टसँग त्यो सीमा नाघेको छ ।’
गत साता सोमबार प्रहरी नियन्त्रणमै छँदा फ्लोइड मारिएका थिए । अहिले भाइरल भइरहेको भिडियोमा मध्य सडकमा एक प्रहरी अधिकारीले फ्लोइडको घाँटीमा घुँडाले थिचेको स्पष्ट देखिन्छ । सात मिनेटभन्दा लामो समय ति अधिकारीले फ्लोइडको घाँटी थिचेका छन् र त्यसक्रममा फ्लोइड ‘सास फेर्न सकिँन’ भन्दै चिच्याइरहेका छन् ।
यस घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चाउभिनलाई त्यसयता बर्खास्त गरेर पक्राउ गरिएको छ र उनीमाथि हत्या र नरसंहारको अभियोगमा मुद्दा चलिरहेको छ । यता, यही घटनापछि अश्वेत जातिमाथि अन्याय हुनेगरेको भन्दै सर्वसाधारणले अमेरिकाका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । यसै घटनाबारे टाइगर उड्सले विज्ञप्ति निकालेका हुन् । अर्का अफ्रिकन अमेरिकी गल्फर हारोल्ड भार्नरले पनि सोमबार विज्ञप्ति निकालेका थिए ।