शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल

बुधबार, २१ जेठ २०७७, १७ : ४२
बुधबार, २१ जेठ २०७७

कास्की । गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं प्रदेशसभा सदस्य गायत्री गुरुङले प्रदेशको विकास तथा समृद्धिका लागि नीति तथा कार्यक्रम लक्षित रहेको बताएकी छिन् । उनले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्पष्ट दृष्टिकोणसहित सरकार अघि बढेको बताउँदै नीति तथा कार्यक्रमले मानव स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायतलाई समेट्न खोजिएको बताइन् ।

सदस्य कृष्णबहादुर थापाले सरकारको नीति तथा कार्यक्रम वैज्ञानिक र लोकतान्त्रिक भएको उल्लेख गर्दै प्रदेशसभा सदस्यको क्षमता वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए । मुलुकमा देखिएको कमिशनतन्त्र नियन्त्रणका लागि प्रभावकारी ऐन कानुन बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकार प्रतिबद्ध भएर लागेको बताए ।

सदस्य भगवत प्रकाश मल्लले स्रोतको पहिचान नहुँदा सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा शङ्का उत्पन्न भएको उल्लेख गर्दै सार्वजनिक खरिद ऐन सुधार गर्नुपर्नेमा जोड दिए । प्रस्तुत नीति तथा कार्यक्रम प्रचारमुखी देखिएको बताउँदै उनले दक्ष जनशक्तिको अभावमा मुख्यमन्त्री जलवायु नमूना कृषिगाउँ कार्यक्रमको कार्यान्वयनमा समस्या आउने उल्लेख गरे ।

सदस्य मीना गुरुङले कोरोनाको कारण शिथिल अर्थतन्त्रलाई उठाउने गरी नीति तथा कार्यक्रम आएको बताउँदै पाँच प्रतिशत ब्याजमा ऋण लगानी गर्ने नीतिले उद्योगी तथा व्यवसायीमा केही राहत प्रदान गर्ने बताइन् । योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धमा स्पष्ट नीति ल्याउन आवश्यक भएको उल्लेख गर्दै उनले मानवसेवा आश्रमजस्ता संस्थालाई संरक्षण गर्नुपर्नेमा जोड दिइन् । 

सदस्य दीपक थापाले प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने किसिमको प्रभावकारी व्यवस्थापन हुनुपर्नेमा जोड दिदैं आत्मनिर्भर अर्थतन्त्रको विकास अहिलेको आवश्यकता भएको बताए । सदस्य मणिभद्र शर्माले सीमा क्षेत्रबाट आउने नागरिकलाई समयमै व्यवस्थापन गर्न नसक्दा धेरै समस्या आएको बताउँदै क्वारेन्टिनको उचित व्यवस्थापन गर्न आग्रह गरे । राष्ट्रिय सङ्कटमा सबैलाई साथ लिएर जानुपर्नेमा सरकारले त्यसो नगरेको आरोप लगाउँदै उनले राहत वितरण प्रभावकारी बन्न नसकेको अवस्थामा व्यक्तिगतरूपमा राहत उपलब्ध गराउन खोज्दासमेत ती व्यक्तिलाई तर्साउन खोजिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप