शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तराईतिर राष्ट्रियताको भावना कम छ’ भन्ने अभिव्यक्ति दिएका एन्फा अध्यक्षले मागे माफी

बुधबार, २१ जेठ २०७७, २१ : ४१
बुधबार, २१ जेठ २०७७

‘तराईतिर राष्ट्रियताको भावना कम छ’ भन्ने अभिव्यक्ति दिएर विवादमा तानिएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले माफी मागेका छन् । 

उनले कुनै समूदायलाई होच्याउने नियतका साथ नबोले पनि आफूले व्यक्त गरेका शब्दावलीले कुनै समुदायमा ठेस पुग्न गएको भए माफी माग्ने विज्ञप्तिमा जनाएका छन् । यसअघि एक भिडियो अन्तर्वार्तामा ‘तराईतिर राष्ट्रियताको भावना कम छ’ भन्ने अभिव्यक्ति दिएपछि शेर्पाको आलोचना भएको थियो भने यो विषयले संसदमा समेत प्रवेश पाएको थियो ।  

‘मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म, लिङ्ग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि । यद्यपी, अन्तर्वार्ताका क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजु–भाई तथा दिदीबहिनी एवंम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति म हार्दिक क्षमायाचना गर्दछु,’ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


शेर्पाले तराईका जिल्लामा फुटबल गतिविधि बढाउन र प्रतिभाशाली खेलाडी जन्माउनका लागि आफूले नयाँ योजना सारेको पनि विज्ञप्तिमार्फत जनाएका छन् । खेलभावनाबाहेक अन्य कुनै मनासाय राखेर वा कुनै क्षेत्र, प्रदेश वा भूगोललाई होच्याउन वा नकारात्मक सन्देश प्रवाह  गर्न नखोजेको उनको दाबी छ । 

के भनेका थिए शेर्पाले ? 

एक भिडियो अन्तर्वार्तामा शेर्पाले तराई–मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकाले उनीहरुलाई राष्ट्रियता सिकाउन  जरुरी रहेको बताएका थिए ।  ‘हामीले नेपाल आर्मीसँगको सहकार्यमा तराईका चार जिल्ला सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासहुट फुटबल सुरु गरेका छौं । किनभन्दा त्यहाँ दुईवटा कारण छन् ।

एउटा, तराईको बच्चाहरुलाई फुटबलप्रति आकर्षण गर्नका लागि, अर्को कुरा राष्ट्रियता सिकाउनका लागि किनभने तराईतिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम छ,’ उनले अन्तर्वार्तामा भनेका थिए, ‘आर्मीको ब्यारेक आउँदा कम्तिमा राष्ट्रिय गीत गाउने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले पनि हामीले काम गरेका छौं ।’

छानविनबारे मौन 

शेर्पाको अभिव्यक्तिबारे छानविन गर्ने विषयमा एन्फा मौन छ । शेर्पा आफैले सार्वजनिक गरेको विज्ञप्तिमा पनि छानविनको प्रसङ्ग उल्लेख छैन । जबकी यस्तो अभिव्यक्ति र शब्दावली एन्फा विधान विपरित रहेको पाइएको छ । एएफसीबाट स्वीकृत एन्फा विधानको धारा ३ मा  रंगभेदी काम गर्नेलाई निलम्बन, निस्कासन वा अनुशासनात्मक कारबाही हुने उल्लेख छ ।

जहाँ, दोस्रो बुँदामा स्पष्टै भनिएको छ– कुनै व्यक्ति, देश, समूह वा जात, रंगभेद, जाति, राष्ट्रियता वा सामाजिक उत्पत्ति, लिङ्ग, अशक्तता, भाषा, धर्म, राजनीतिक वा अन्य कुनै विचार, धन, जन्म वा अन्य कुनै प्रकारको मर्यादा, यौनिक अभिमुखीकरण अथवा अन्य कुनै कारणहरुको आधारमा कुनै पनि प्रकारको भेदभावभालाई निषेध गरिएको छ र यस्तो कार्य दण्डनीय छ । यस्ता भेदभावका कार्य गरेमा निलम्बन, निस्कासन वा अनुशासनात्मक कारबाही गरिने छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप