बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभामा रोचक घोचपेचः ‘हामी त काँडा पर्‍यौं, कोप्छौं’

बुधबार, २१ जेठ २०७७, २३ : २६
बुधबार, २१ जेठ २०७७

पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रदेशसभामा जारी छ । संसदमा सत्ता पक्ष र विपक्षी दलका सांसदको दोहोरी कम्ती रोचक छैन ।  त्योभन्दा पनि रमाइलो प्रसंग त के छ भने सांसदहरु एक÷अर्कामाथि घोचपेचमा बढी उत्रिएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा गरेका टिप्पणीलाई लिएर सांसदहरु घोचपेचमा लागेका छन् । 

बुधबारको बैठकमा पनि उहि शृंखला दोहोरियो । सांसदहरुले कसैलाई भन्न मिल्ने ठाउँ बाँकी राखेनन् । प्रमुख प्रतिपक्ष काँग्रेसका सांसद कुमार खड्काले रोष्टममा उभिएर आफूहरुलाई काँडाको संज्ञा दिंँदै संसदमा कोप्न उभिएको बताए । सांसद खड्का अलि खरो रुपमै संसदमा प्रस्तुत भए । खड्काले आफ्नो पार्टीको बचाउ मात्र गरेनन् । सरकारले जनतासामु गरेका बाचाको हिसाब किताब पनि माग्न भ्याए । 

आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतको प्रतिबद्धता र आश्वासनमाथि निशब्द बसेको खड्काले आरोप लगाए । विगतको नीति तथा कार्यक्रमसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कुनै सम्बन्ध नै नभएको भान भएको उनले बताए । ‘माननीय, सभामुख महोदय कुनै पनि परिकल्पना, रचना, दस्तावेज दोषै–दोष या गुणैगुणयुक्त हुन सक्दैन’ नीति तथा कार्यक्रम माथि आफ्नो भनाई राख्दै उनले भने, ‘यसमा पनि केही सकारात्मक पक्ष छन् । फूलको आँखामा फूलै संसार भन्ने गीत खुब घन्किएको छ संसदमा । दस्तावेजको सकारात्मक पक्षबारे फूल मान्नेहरु, त्यसमा पनि सूर्यमुखी फूल मान्नेहरु बोल्नुभएको छ, बोल्नुहोला, हामी त काँडा माननीय पर्यौं सभामुख महोदय, काँडाको धर्म त कोप्ने होला, म त्यही धर्म निर्वाह गर्न यहाँ उपस्थित भएको छुँ ।’

सत्तापक्षका सांसद इन्द्रधार विष्टले नीति तथा कार्यक्रममाथि आफ्नो भनाई राख्ने क्रममा ‘फूलको आँखामा फूलै संसार...’ बोलेको गीतै गाएर विपक्षी सांसदहरुलाई व्यङ्ग्य हानेका थिए । उनको आशय विरुद्ध खरो रुपमा उत्रिदै सांसद खड्काले फूलको रक्षा गर्नका लागि नै काँडाले कोप्ने गरेको स्मरण गराए । बाह्य तत्वको प्रभावमा परि फूलले बाटो बिराउन खोज्दा फूललाई कोप्नु परेको उनले बताए । 

नीति तथा कार्यक्रमले प्रतिपक्षको मागलाई पूर्ण रुपमा बहिस्कार गरेको उनको आरोप छ । नीति तथा कार्यक्रममा सांसदहरुले सरकारलाई दिएका सुझावलाई बे–वास्ता गरिएको उनको आरोप छ । अघिल्लो वर्षको नीति तथा कार्यक्रमप्रति मुखरित गरें पनि बोलेका कुरा पनि पूरा नगरेको विषयमा भने कुटिल मौनता साँधेको उनले आरोप लगाए । 

चीनबाट उन्नत नश्लको गाई ल्याएर ‘गण्डकी गाई पालन तथा अनुसन्धान केन्द्र’ स्थापना गरेर दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने भन्ने प्रदेश सरकारको अलपत्र योजनाबारे प्रश्न उठाउँदै सांसद खड्काले आत्मनिर्भर बन्नलाई अझै कति दुध अपुग छ भन्दै प्रश्न पनि गरेका थिए । ‘कहाँ छन् ती हाम्रा गाई, चाइनाबाट पैदलै हिँडे पनि नेपाल आईपुग्न पर्ने हो,’ व्यङ्ग्यको स्वरमा उनले भने, ‘कि, हाम्रा गाई लकडाउनमा फसे, यो बारेमा सरकार बोल्न पर्दैन ? कालोपत्रेको लम्बाई लेख्न सक्ने, स्टिल पोलको संख्या बताउन सक्ने, झोलुंगे पुल भन्न सक्नेले दुधको परिणाम सदनलाई बताउन पर्दैन ?’ अधिकांश समय सरकारको आलोचना गर्न खर्चेका खड्काले गण्डकी प्रदेशलाई सर्वश्रेष्ठ बनाउने अभियानलाई नीति तथा कार्यक्रमले कुठाराघात गरेको बताए । सांसद खड्काले स्वस्थानी बाचन शैलीमा समेत अन्तिममा नीति तथा कार्यक्रमको आलोचना गर्न भ्याए ।

विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको सास्ती भोग्न बाध्य प्रदेशवासीलाई प्रदेश सरकारले अभिभावकत्व महसुस गराउनुपर्ने धारणा राखेका थिए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यो विषयबस्तु नै नसमेटेको उनले आरोप लगाए । ‘जेठ ३२ गतेसम्मको लागि सरकारले लकडाउन घोषणा गरेको छ, जनता पनि त्यसै अनुसारको मनस्थिति बनाएर बसेका छन्,’ उनले भने, ‘के प्रदेश सरकारसँग यो भयावह अवस्था सामना गर्न सक्ने सामथ्र्य छ त !’ नागरिकहरु सरकारबाट आश्वस्त हुन चाहेको उनले स्मरण गराएका थिए । उनले पर्याप्त साधन स्रोत बिना नै कोरोना भाइरस सामना गर्न तयार छौं भनेर बस्नु, रेकिस्तानमा सुुतुर्मुर्गले आँधीबाट टाउको लुकाउन खोजेको जस्ते भएको संज्ञा दिएका थिए । महामारीको सामना गर्न युद्धस्तरमा तयारी गर्न आवश्यक रहेको भन्दै प्रदेश सरकारको उनले ध्यानाकर्षण गराएका थिए । पर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको अभाव सिर्जना हुँदा नागरिकले सरकारको महसुस गर्न नसकेको उनले बताएका थिए ।

तत्कालीन नयाँ शक्तिका हरिशरण आचार्यले पनि आफ्नो अधिकांश समय सरकारको आलोचना गर्न खर्चिए । एनसेल काण्डदेखि सुन काण्डसम्मको कुरा उप्काउदै आचार्यले सरकारले जनताको चित्कार सुन्न नसकेको आरोप लगाए । लकडाउनको मोडालिटी परिवर्तन गरेर उद्योगधन्दा सञ्चालनमा ल्याउनुपर्ने उनको माग थियो । 

वैदेशिक रोजगारीमा गएकादेखि स्वदेशमा रहेका नेपालीलाई कर्जाको व्यवस्था गर्दैै विकास निर्माणका काममा लगाउनुपर्नेदेखि मजदुरलाई काममा फर्काएर व्यवसाय सहज बनाउन समेत उनले माग राखेका थिए ।  सत्तापक्षका सांसद मायानाथ अधिकारी भने सरकारको बचाउमा उत्रिए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले शिक्षा,स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको स्मरण गराउँदै अधिकारीले शिक्षाको विकास बिना अघि बढ्न नसकिने उल्लेख गरेका थिए । ‘जनशक्तिको विकास बिना हाम्रो काम अघि बढ्न सक्दैन,’ उनले भने, ‘अघिपछि पनि जनशक्ति चाहिन्छ, महामारिको बेलामा मात्रै होइन, आवश्यक जनशक्ति उत्पादन गर्नको लागि सरकारले शिक्षा क्षेत्रलाई जोड दिएको छ ।’

अधिकांश समय सरकारको बचाउमा उत्रिएका अधिकारीले महामारीले संघीयताको औचित्य पुष्टि गरेको समेत दाबी गरेका थिए । ‘संघीय सरकार भएर, प्रदेश सरकार भयो, प्रदेश भएर स्थानीय तह भयो,’ उनले भने, ‘यसले संघीयताको औचित्य पुष्टि गरेको छ ।’ सरकारले अनावश्यक खर्च कटौती गर्नेदेखि कृषकको उत्पादन बजारीकरण गर्न ल्याएको नीति कार्यान्वयन गर्न उनले सरकारलाई सुझाएका थिए । 
राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले केही समय अघि धौलागिरी अञ्चल अस्पतालले स्वास्थ्यकर्मीको तलब भत्ताका लागि मागेको रकम पारदर्शी बनाउनुपर्ने माग राखेका थिए । यसले गण्डकी सरकारप्रति जनताको विश्वास बढेर आउने समेत उनले बताएका छन् । 

गण्डकी सरकारको बजेटले विकास निर्माण नपाएर काकाकुल परेका ठाउँलाई समेट्न नसकेको समेत उनले आरोप लगाएका थिए । ‘यहाँ धेरै कुरा आकाशको तल झारेर सबैलाई बनाइ दिन्छु भन्ने कथा सुनाए पनि त्यसले गण्डकी प्रदेशको समस्या समाधान गर्न सक्दैन,’ उनले भने, ‘त्यहीं बजेट कार्यान्वयन गर्नको लागि हामी घुमफिर गरेका छौं ।’ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय तहका अस्पताल र स्वास्थ्यचौकीको अवस्था सुधार गर्ने जिकिर गरेको छ । तर, सांसद थापाले यसअघिको नीति तथा कार्यक्रममा यो योजना सरकारले समेटे पनि पूरा नगरेको आरोप लगाए ।  सांसद मिनप्रसाद गुरुङले महामारीका कारण विश्वका सबैजसो मुलुकको अघि चुनौति खडा भएको बताए । वस्तुगत यथार्थलाई आत्मसात गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको उनले जिकिर गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप