केन्द्रीय संस्करण
शिक्षा सेरोफेरो

अबको शिक्षाको बाटो : अनलाइन कक्षाका सम्भावना र चुनौतीहरु

person explore access_timeजेठ २२, २०७७ chat_bubble_outline0

अमेरिकी विश्वविद्यालयमा अनलाइन कक्षा लिइसकेको अनुभवका आधारमा म भन्न सक्छु – कक्षामा बसेर गरेको पढाइभन्दा अनलाइन कक्षा कम प्रभावकारी हुन्छ । यसमा अनुशासित नरहन सजिलो छ र कक्षाकोठामा हुने जस्तो जीवन्त  वातावरण पनि नहुनाले औपचारिक शिक्षामा अनलाइन कक्षा चुनौतिपूर्ण छ । झन त्यसमा पनि साना नानीहरुलाई अभिभावक बसेर नै दिइने अनलाइन कक्षा त हाम्रो परिवेशमा अझै समस्याग्रस्त छ ।

कोरोनाले ल्याएको विश्वब्यापी असरबाट प्रभावित नहुने क्षेत्र सायद कुनै नहोला । विद्यालय, क्याम्पस र विश्वविद्यालय पनि यसको असरबाट टाढिन सकेको छैन । सामाजिक दुरी कायम राख्नुपर्ने यस समयमा कक्षा संचालन गर्नु निकै चुनौतिपूर्ण देखिन्छ । यो समयमा शैक्षिक संस्थाहरु, शिक्षा मन्त्रालय, शिक्षासंग सम्बद्ध निकायहरु कहिलेदेखि र कसरी पठनपाठन शुरु गर्ने भन्ने बिषयमा अलमलिएको छ । यो संगसंगै विद्यालयको  शुल्क निर्धारण र असुलीको बिषयमा पनि  विद्यालय, विद्यार्थी, अभिभावक र सरकारको भनाइमा एकरुपता देखिंदैन ।

यो कोरोनाको संक्रमण कहिले साम्य होला भन्ने कुरा कसैलाई थाहा छैन । यसको औषधी कहिले निस्कन्छ भन्ने पनि पक्का छैन । त्यतिबेलासम्म कक्षा संचालन गर्ने केही विद्यालय र विश्वविद्यालयहरुले अनलाइन कक्षा संचालनको तरिका अपनाइरहेका छन् ।  सर्सर्ती हेर्दा प्रभावकारी र समय सापेक्ष देखिने यो बिधिको केही विरोध पनि हुन थालेको छ । मुलतः सबै बिद्यार्थीहरुसँग इन्टरनेट र राम्रो कम्प्युटर वा अन्य डिभाइस नहुनु  मुख्य समस्या हो । त्यस बाहेक साना कक्षाका बिद्यार्थीहरुलाई कम्पुटर र सफ्टवेयर चलाउन नआउने भएकोले एक अभिभावक पनि उपस्थित हुनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ । यसले अभिभावकलाई आर्थिक र सामाजिक दायित्व थपिएको छ । त्यस बाहेक बिद्यार्थीहरुलाई अनलाइन शिक्षा कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा थाहा पाउन पनि केही समय लाग्नेनै छ ।

यसरी दिइने शिक्षाले एकातिर आर्थिक रुपमा सम्पन्न र बिपन्न बिद्यार्थी बीचमाको असमानताको खाडल अझै ठूलो हुने समस्याको कुरा आम जनमानसले उठाएका छन् । तर यो खाडल कोरोनाको संक्रमणले गर्दा आएको होइन । यो खाडल ४० बर्ष अगाडिदेखि खुल्न थालेका निजी विद्यालय र कलेज तथा शिक्षाको गुणस्तरमा  ध्यान नदिइएको सरकारी विद्यालय र कलेजहरुको खस्किएको स्तरको कारण शुरु भएको हो । तर निश्चय पनि अनलाइन कक्षाले यो खाडललाई अझै गहिरो बनाउने छ । सुबिधा सम्पन्न विद्यालयले यसमा लगानी गर्न सक्लान् तर जेनतेन चलेका बिद्यालयहरुले यसमा  लगानी गर्न सक्दैनन र आफ्नो जनशक्तिको तालिम तथा प्रबिधिको प्रयोग गर्न पनि सक्दैनन् ।

दश वर्षअघि अध्ययनको सिलसिलामा अमेरिकी विश्वविद्यालयमा अनलाइन कक्षा लिइसकेको अनुभवका आधारमा म भन्न सक्छु – कक्षामा बसेर गरेको पढाइभन्दा अनलाइन कक्षा कम प्रभावकारी हुन्छ । यसमा अनुशासित नरहन सजिलो छ र कक्षाकोठामा हुने जस्तो जीवन्त  वातावरण पनि नहुनाले औपचारिक शिक्षामा अनलाइन कक्षा चुनौतिपूर्ण छ । झन त्यसमा पनि साना नानीहरुलाई अभिभावक बसेर नै दिइने अनलाइन कक्षा त हाम्रो परिवेशमा अझै समस्याग्रस्त छ ।

नेपालमा हामीले स्रोत साधनको कमीको कुरा गरिरहँदा र अनलाइन शिक्षा हाम्रो परिवेशलाई उपयुक्त छैन भनिरहँदा यो पनि भुल्नु हुँदैन कि विश्वका अधिकांश देश त्यस दिशातिर हिड्न थालिसकेको छ । विश्वको एक उत्कृष्ट र महंगो क्याम्ब्रिज विश्वविद्यालयले सन २०२१ को मध्यसम्ममा सबै कक्षा अनलाइन गर्ने जनाइसकेको छ । डिजिटल शैक्षिक सामाग्री निकाल्ने नयाँ कम्पनीहरु वा पुरानो कक्षा संचालन प्रबिधि उत्पादन गर्ने कम्पनीको नयाँ उत्पादनहरु बजारमा आइसकेको छ भने कतिपय उत्पादन  चाँडै आउनेनै छ ।

यसका अरु असरहरु पनि हुनेछन् । महंगो विश्वविद्यालयमा अध्ययन गर्न नसक्नेहरुको  लागि शिक्षा सर्वशुलभ पनि हुन सक्छ र यही कुरा नेपालमा पनि लागु हुन सक्छ । एक तथ्यांकअनुसार, राजधानी काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना हुने ५०० भन्दा धेरै विद्यार्थीहरु मध्ये ८० प्रतिशत कक्षामा उपस्थित हुँदैनन् र आइहालेता पनि बस्नेसम्मको पुर्वाधार छैन । अनलाइन कक्षाले यो समस्याको भने हल गर्न सक्छ । यो लहर बढ्दै जाँदा यसले पुरानो विश्वबिद्यालय र कलेजहरु बन्द हुन सक्ने स्थिति आउन सक्छ । तर यसको प्रभावकारिता र यसले उत्पादन गर्ने जनशक्तिको गुणस्तर भने नेपालको हकमा परीक्षण हुन बाँकी नै छ ।

अब हाम्रो सामु दुई चुनौतीहरु छन ।

१. पहिलो चुनौती हामीले कसरी सम्पन्न र बिपन्न विद्यार्थीहरु बीच उत्पन्न हुने खाडललाई ठुलो हुन नदिने । मेरो बिचारमा देशका केही स्थाीिय तहले गरेको अनलाइन कक्षानै चलाउन नदिने निर्णय लामो समयसम्म टिक्ने छैन ।

२. अर्को चुनौती भनेको विश्वमा सबै विद्यालय र विश्वविद्यालयले अनलाइन कक्षा चलाइरहँदा हामीले पनि डिजिटल संरचना बनाउने र सो कक्षा कसरी चलाउने ?

यो बिषयमा मनन गरी  काम अघि बढाउने पर्ने देखिन्छ । यो पनि भ्रममा नपरौं कि हामीले हरेक बिद्यार्थीको घरमा राम्रो कम्प्युटर र इन्टरनेट दिएर मात्र अनलाइन कक्षा सम्भव हुनसक्छ । बरु विकल्पमा विद्यार्थीहरुको कोरोना परीक्षण र अन्य स्वास्थ जाँच गराई परीक्षणको रुपमा विद्यार्थीहरुको सानो सानो समुह बनाएर कक्षा संचालन गर्न सक्छांै । प्रयासनै गरिएन भने हामीले यो परिस्थितिमा गरिने प्रयोगबाट पाइने शिक्षा गुमाउँछौ । अहिलेदेखिनै प्रबिधि प्रयोग गरेर कक्षा लिन चुक्यौं भने  केही समय पश्चात बाहिर बनाइएका महंगा सफ्टवेर र परामर्शदाताको सेवा किनेर  कक्षा संचालन गर्नु पर्ने बाध्यताका दिन आउन सक्छ ।

त्यसैले नयाँ समयमा आएको नयाँ सत्यलाई समयमै पहिचान गरि यसले मागेको नयाँ प्रविधि र शिक्षा बाँड्ने योजना हामीसंग हुनु पर्छ । यद्यपि यसमा सम्पन्न र विपन्न सबैको लागि शिक्षा पाउने समान अवसर हुनुपर्छ । यो संक्रमणलाई दशकौं देखि शिक्षामा रहेको विभेदको खाडल पुर्नेे अवसरको रुपमा लिन सकियो भने भोलिको नेपालमा नयाँ घाम झुल्किने छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.