बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलका क्वारेन्टाइनमा योगा अभ्यास र आर्युवेद ओखती

बिहीबार, २२ जेठ २०७७, १५ : ४१
बिहीबार, २२ जेठ २०७७

बुटवल । बुटवल उपमहानगरपालिकाले यहाँका क्वारेन्टाइनमा रहेकाहरुको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै नियमित योगा अभ्यास सिकाउँदै आएको छ । बुटवलका क्वारेन्टाइनमा हाल १२ जिल्लाका एक सय ५६ जना रहेका छन् । आइसोलेशन सेन्टरमा भने विभिन्न ठाउँका २१ जना रहेका छन् ।

यस्तै रोगप्रतिरोधी क्षमता बढाउने खालका आयुर्वेद ओखतीसमेत प्रदान गरेको छ । आयुर्वेद ओखतीका लागि बुटवल उपमहानगरसँग प्रदेश सरकारको सहकार्य छ ।  योगाका जानकार तथा योगा गुरुले क्वारेन्टाइन र आइसोलेशन सेन्टरमा नियमित योगा सिकाइरहेका छन् ।

बुटवल–१२, तामनगर, बुटवल–४, कान्ति माविमा रहेको कोरोना बिशेष क्वारेन्टाइन र बुटवल–११, योगीकुटीमा रहेको आइसोलेशन सेन्टरमा योगा सिकाइएको हो । आइसोलेशन सेन्टरमा कोरोना संक्रमण पोजेटिभ देखिएकालाई राखिएको छ । क्वारेन्टाइनमा रहेकाहरुको रोगप्रतिरोधक क्षमता बढाउन आयुर्वेद चिकित्साको महत्व र स्थानीय जडिबुटीको यथोचित प्रयोगका साथै योगा अभ्यान सिकाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

क्वारेन्टाइनमा राखिएकाहरुलाई तनावबाट मुक्त पार्न र संक्रमण पोजेटिभ देखिएकालाई आयुर्वेद ओखतीमार्फ रोगप्रतिरोधी क्षमता बढाउन यो अभियान जारी राखिएको प्रमुख सुवेदीको भनाइ छ । योगालाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त राख्ने उपयुक्त विधिका रुपमा लिइन्छ ।

योगाका याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्यागजस्ता आठ प्रकारका आसनमध्येको योगाको ध्यान विधि अहिलेको महामारीमा जोसुकैले पनि गर्न जरुरी र आवश्यक देखिएको योगगुरु विष्णुहरि आचार्य (योगीराज) को भनाइ छ । क्वारेन्टाइन सुरु भएयता बिहानको समयमा योगाका गुरु र स्वास्थ्यकर्मीसहित प्रमुख, उपप्रमुख र वडाअध्यक्षहरु सामाजिक दुरि कायम गर्दै योगा अभ्यासमा सरिक भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

आर्युवेद ओखती प्रदान
बुटवल उपमहानगरपालिका अन्र्तगत रहेका क्वारेन्टाइन तथा आइसोलेसनहरुमा स्थानीय ओखती युक्त जडिबुटीको यथोचित प्रयोग गर्न समेत सिकाइएको छ । आइसोलेशन सेन्टरमा रहेका संक्रमितका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र लुम्बिनी आयुर्वेद चिकित्सालयको सहकार्यमा आयुर्वेद र वैकल्पिक चिकित्साका सामग्री प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

आइसोलेशन सेन्टरमा रहेका २१ जना संक्रमितलाई योगाका अभ्यासका साथै आयुर्वेद ओखती प्रदान गरिएको शर्माले बताए । आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा ब्यबस्थापन निर्देशिकाअनुसार अश्वगन्धा पाउडर, गुडुची चिया, त्रिकटु चुण तथा च्यबन प्रास अबलेह प्रयोग गराउन सुरु गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप